सामाजिक सञ्जालको थ्रेट कसरी सामना गर्छिन् रश्मिला प्रजापति? (भिडियो)

Copy to clipboard
Copied!

‘यू आर नाइस लेडी तर थुतुनो गतिलो छैन।’

केही दिनअगाडि नेशनल कलेजमा प्रत्यासी मेयरहरुसँगको अन्तर्क्रिया कार्यक्रम हुँदा एक महिलाले केशव स्थापितलाई उनीमाथि लागेको यौन दुर्व्यवहार आरोपको स्पष्टीकरण मागिन्। प्रश्नपछि मुर्मुरिएका स्थापितले जवाफमा यी शब्द फर्काएका थिए।

स्थापितको यो अभिव्यक्ति भाइरल भयो।

त्यसपछि फेरि बल्झियो २५ वर्षदेखि नसुल्झिएको उल्झन।

स्थापितले आफूहरुमाथि यौन दुर्व्यवहार गरेको आरोप दुई महिलाले लगाएका थिए। एक थिइन् तत्कालीन पत्रकार उज्जला महर्जन र अर्को स्थापित मेयर हुँदा करारमा काम गर्ने रश्मिला प्रजापति। राजनीतिक रुपमा सक्रिय स्थापितले बेला बेला झेलिरहनुपरेको यो प्रश्नको अहिलेसम्म प्रस्ट जवाफ दिएका छैनन्।

अहिले यो विषय उल्झिँदा उज्जला मौन छिन् तर रश्मिलाले भने प्रतिक्रिया देखाइन्। त्यसपछि उनीमाथि उल्टै विभिन्न ठाउँबाट प्रहार भइरहेको उनको आरोप छ।

‘मलाई ‘फेक अकाउन्ट’ बाट म्यासेजहरु आउँछन्, नाम मात्रै हुन्छ। अरु डिटेल हुँदैनन्,’ उनले भनिन्, ‘अहिले म यत्ति सशक्त, निडर हुँदा त यस्तो थ्रेट छ, २५ वर्ष अगाडिको समय कस्तो थियो होला?’

बलात्कार तथा यौनजन्य हिंसामा पीडित जहिले पनि संवेदनशीलताको केन्द्रमा हुन्छन् । हाम्रो समाजमा पीडितलाई कस्तो व्यवहार र भाषा प्रयोग गरिन्छन्, बेलाबेला हामी देख्न पाउँछौँ। उदाहरण धेरै टाढा छैन, ‘नाबालिग गायिकामाथि जबर्जस्ती करणी’ आरोपमा जाहेरी परेपछि आरोपितको पक्षमा उर्लिएको भीड त्यसको प्रमाण हो। यो मुद्दामा अहिले जाहेरी दिने बालिकाले बयान फेरिसकेकी छन्।

छोरीमाथि दुर्व्यवहार गर्दा सामाजिक प्रतिष्ठाको भयले उनै दुराचारीसँग विवाह गराइदिने समाजमा २५ वर्षअगाडि रश्मिलाले दुर्व्यवहार भोगेको समय यौन दुर्व्यवहारको मुद्दामा कति संवेदनशीलता अपनाइन्थ्यो त्यो अनुमान लगाउन सकिन्छ।

रश्मिलाले सामना गर्नुपर्ने धेरै प्रश्नमध्ये एक हो, ‘त्यो बेलामा किन चुप बस्यौ?’ उनलाई अहिलेजसरी बोल्ने आँट आएन किनभने परिवारले उनलाई पक्कै भन्थ्यो, ‘ल ल भैगो अब काम छोड।’

रश्मिला काठमाडौँको व्यवसायिक परिवारकी छोरी थिइन्। २०५३ सालदेखि उनले पढाउन शुरु गरेकी थिइन्, रेडियोमा बोल्ने गर्थिन्। त्यही समयमा उनले काठमाडौँ महानगरपालिकामा करारमा जागिर खाइन्। जागिरमा उनीमाथि उनकै हाकिमको व्यवहार राम्रो भएन।

‘बाबा प्रगतिशील विचारको हुनुहुन्थ्यो, तर मसँग कामका अरु थुप्रै विकल्प थिए, पूरै समय पढाउन सक्थे। त्यसले मैले घरमा भनिन, कार्यालयका महिला कर्मचारीलाई भने यस बारेमा थाहा थियो,’ उनले भनिन्, ‘जागिरबाट निकालिएपछि बाबा, काकाले ‘अदालतमा जानुपर्छ’ भन्नुभएको थियो, तर त्यो बेलाको स्थानीय भाषाको पत्रिका र अन्य साप्ताहिकमा ‘मलाई अनियमितता गरेको कारण हटाइयो’ भनी समाचार प्रकाशन भएछ।’

उनलाई महानगरपालिकाबाट निकाल्दा ‘अनियमितता गरेको’ भनिएको थिएन। पत्रिकामा त्यस्तो समाचार आयो तर उनलाई कुनै विभागीय कारवाही भएन।

मुद्दा सामाजिक प्रतिष्ठासँग जोडियो, उनलाई चिन्ता लाग्यो, ‘यस्तो झुटो समाचार छपाउँछ भने, जे पनि गर्न सक्छ।’ बाबुको मानमर्यादामा समेत प्रहार हुने डरपछि उनले चुप बस्नु नै ठीक ठानिन्।

यो घटना कात्तिकमा भएको थियो र उनको विवाह फागुनमा हुँदै थियो। उनले आफूलाई त्यति हिम्मतिलो महसुस गरिनन्। घटनाको २५ वर्षपछि उनले यस विषयमा खुलेर बोलेकी छन्, ‘म अहिले महिला अधिकारका विभिन्न संघ संस्थाहरुमा कार्यरत छु, अरुलाई पर्दा त बोल्छु भने, आफ्नो लागि बोल्न परेन?’ तर उनले यो कुरा महिला अधिकारको क्षेत्रमा काम गरेको भएर मात्रै बोलेकी हैनन्।

उनले ‘वर्ल्ड पल्स’ मा सन् २०१६ को नोभेम्बरमा नै आफ्नो कथा साझा गरिसकेकी छन् । फेरि सन् २०१८ मा पत्रकार उज्जला महर्जनले पोस्टा साझा गरेको देखिन्, जहाँ अन्तवार्ताको लागि सम्पर्क बनाउँदा बारम्बार उनलाई स्थापितले रातिराति फोन गरिरहेको लेखिएको थियो। त्यसपछि रश्मिलालाई मनमा चिसो पस्यो। उनले भनिन्, ‘यो मान्छे अझै उस्तै दुराचारी रहेछ भनेर मैले बोल्नुपर्छ भनेर बोलेँ।’

उनले आफ्नो वालमा स्थापितको नाम नै तोकेर लेखिदिइन्। यो समयमा विश्वभर नै ‘मी – टु मुभमेन्ट’ चलिरहेको थियो।

त्यसपछि बागमती प्रदेशमा सभा सदस्य रहेका केशव स्थापितलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाट हटाएका थिए। यद्यपि त्यसमा अन्य कारण पनि जोडिएका थिए।

‘त्यो बेलामा पनि मलाई बरु नचिनेको मानिसले साथ दिए। किनकि महिलाहरुलाई यस्तो विषयमा बोल्न धेरै गारो छ। उल्टै १० ओटा अरु प्रश्नको सामना गर्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘अहिले यस्तो मानिसलाई एमालेले मेयर उठाएको किन भनेर मैले प्रश्न गरे, मलाई पार्टी विरोधीको आरोप लाग्यो। मेरो अभिव्यक्तिपछि मलाई कांग्रेस उम्मेदवार सिर्जना सिंहको कार्यकर्ता पनि भन्न भ्याए। मैले प्रवृति र त्यो व्यक्तिको बारेमा आवाज उठाएको हुँ।’

पछिल्लो समय उनले भिडियोमा आफ्नो अभिव्यक्ति दिन थालेपछि पढ्नै नसकिने शब्दहरु प्रयोग गरेर कमेन्ट गरिएको देखिन्छ। ‘महिलालाई त्यस्तो शब्द कसरी प्रयोग गर्न सकिन्छ? तिनका घरमा छोरी, आमा छैनन्?’ उनले भनिन्, ‘नेशनल कजेलमा प्रश्न गर्ने महिला काठमाडौँका भोटर भए पनि नभएपनि उनले प्रश्न गर्ने अधिकार राख्छिन्, तर स्थापितजीले राम्ररी उत्तर दिने कि धम्की दिने?’

सार्वजनिक रुपमा दुर्व्यवहारको आरोप लगाउनेलाई मानसिक उपचारको सल्लाह दिने र सार्वजनिक बहशमा प्रश्न गर्ने महिलालाई धम्काउने स्थापितको पुरानै आचरण हो, जुन अहिलेसम्म बदलिएको छैन।

‘त्यो घटनापछि केही पत्रकार पनि मेरो चरित्र हत्या गर्न लागिपरेका छन्, त्यो बेलाको माइन्यूट भन्दै तस्बिर छापेर। म भन्छु, ‘त्यो बेलामा मलाई किन विभागीय कारवाही गरिएन?’ उनी भन्छिन्, ‘बदला लिन भनिएको छ, यौन दुराचारको आरोप लगाउँदा आरोपितलाई भन्दा धेरै प्रश्न आरोप लगाउनेलाई आउँछ। आरोप लगाएर बदला पूरा हुँदैन।’

अहिले सामाजिक सञ्जालमा यो विषयमा कुराकानी भइरहँदा परिवार र चिनेका व्यक्तिहरुको साथ र सहयोग उनले पाइरहेकी छन्। कतिपय मंहिला संगठनले यस विषयमा बोलिरहेका छैनन्। बोल्नेले पनि नाम उल्लेख गरेर बोलेका छैनन्।

तल्लो स्तरमा गिरेर उनको बारेमा बोल्नेहरु पनि प्रशस्तै छन्। यस्तै कार्यकर्ता र समर्थकको आडमा रहेर होला स्थापित यौन दुर्व्यवहार जस्तो संवेदनशील विषयमा ‘ल बसेर कुरा गरौँ’ सम्म भनिरहेका छैनन्। जहाँ जहाँ यस विषयमा कुरा उठ्छ, उनी उग्र अवतारमा प्रस्तुत हुन्छन्।

देशको सबैभन्दा ठूलो महानगरका मेयर प्रत्यासीमाथि दिनदिनै यौन आचरणको प्रश्न उठ्छ तर उनी जिम्मेवार हुन चाहँदैनन्, बरु पेलेर हिँड्ने लाइनमा छन्।

काठमाडौँ महानगरबासीले कसलाई मेयर चुन्छ भन्ने त टुंगिनै बाँकी छ तर कार्यकालमा र कार्यालयमा महिला कति सुरक्षित भन्ने प्रश्न झनै ‘चर्को अक्षरमा सुनिएको र गाढा रुपमा कोरिएको’ छ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्