खराब कामको मानक बनेको बुटवल सुधार्न म आएको हुँः पाण्डे

Copy to clipboard
Copied!

बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि नेपाली कांग्रेसका खेलराज पाण्डे र एमालेबाट बाबुराम भट्टराई चुनाबी मैदानमा छन्।

स्वतन्त्रसहित केही दलले प्रमुख पदमा उम्मेदवारी दिएपनि जितका लागि यी दुईबीच मुख्य प्रतिष्पर्धा हुनेछ। नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका उनलाई नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त छ।

२०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी- २ मा जन्मिएका पाण्डे पछिल्लो तीन दशक देखि बुटवलमा सक्रीय राजनीतिमा संलग्न छन्।

२०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो। रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव, २०५९ सालमा तरुण दल रुपन्देहीको अध्यक्ष हुँदै २०६० सालमा तरुण केन्द्रीय सदस्य भएका पाण्डे २०६७ सालमा नेपाली काँग्रेस बुटवल नगर सभापति निर्वाचित भएका थिए।

गत मंसिरमा सम्पन्न काँग्रेसको महाधिवेशनबाट उनी पुनः नेपाली काँग्रेस बुटवल नगर सभापतिमा निर्वाचित भए। बुटवल उपमहानगरपालिकामा प्रमुख पदका उम्मेदवार खेलराज पाण्डेसँग देशसञ्चारका लागि सीपी खनालले कुराकानी गरेका छन्।

१. बुटवल उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर जनताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

बुटवलबाट अहिले म प्रमुख पदमा उठेर जनतासँग प्रत्यक्ष भेटघाट हुदै गर्दा उहाँहरुले ‘ठीक मान्छेले टिकट पाउनुभयो, हामीले एक पटक तपाइलाईँ अवसर दिन्छौं, जिताउछौं ढुक्क भएर लाग्नुस’ भन्नु भएको छ । नगरको निर्वाचन जित्नुस र हामीले चाहेको सफा सुन्दर, हरियालीयुक्त र समृद्ध बुटवल बनाउनुस् भनेर आर्शिवाद शुभकामना दिइरहनु भएको छ ।

सबैको माया पाएको छु । तपाईँलाई एक पटक मौका दियौं भने राम्रो काम गर्नुहुनेछ भन्ने विश्वास छ भनेर जितको शुभकामना दिइरहनु भएको छ ।

यसअघि पटक पटक विश्वास गरेका दलहरुले निराश बनाएको, ठूला ठूला सपना देखाएर केही पनि काम नगरेकोमा एकखालको निराशा पनि देखिन्छ। जनताले चुनाबमा भोट हालेर जितेपनि मन जित्न नसकेको नगरबासीको अनुभूति मैले सुन्न पाएको छु। म फरक दलको भएका कारणले यसो भनिरहेको छैन, बुटवलका अधिकांश बासिन्दालाई तपाइँले सोध्नुभयो भने उहाँहरु हालका जनप्रतिनिधि र उहाँहरुको पार्टीप्रति असन्तुष्ट हुनुहुन्छ।

त्यसका अनेक कारण रहेका छन्। यहाँ एकदमै ठूला सपना बाँडिए। संघीय सरकारले गर्ने काम राम्रो भए जस लिने, नराम्रो भए पन्छिने गरेको पनि पाइयो । बुटवल उपमहानगरपालिकाको जनप्रतिनिधि भएपछि बुटवलका हरेक समस्याको समाधानको खोजी त्यहाँको प्रमुखको कुर्सीमा बसेर खोजिनुपर्छ। आफुले समाधान गर्न नसकिने अवस्था वा क्षेत्र हो भने पनि त्यसका लागि प्रयत्न गरिनुपर्छ । यस्तो भावना ममा पनि आउँथ्यो। जनतामा पनि यस्ता भावनाहरु छन्।

उहाँहरुले जनतालाई पाठ पढाउने जनप्रतिनिधि हैन, जनताका गुनासो सुन्ने र समाधान खोजिदिने जनप्रतिनिधि खोज्नुभएको छ। जनताको यो माया सदभाव प्रति म आभारी छु र त्यो माया र सद्भाव भोटका रुपमा व्यक्त हुन्छ भन्ने विश्वासमा छु।

२. तपाईँलाई किन जिताउने ?

यो अन्तरवार्तामा म सबैकुरा भनेर त सक्दिनँ। कतिपय कार्यक्रमहरु विस्तृतमा उल्लेख गर्नुपर्ने हुन्छ । तरपनि, म केही मूख्य योजनाहरु भन्न चाहन्छु।

म बुटवललाई देशकै समृद्ध आर्थिक केन्द्रका रुपमा विकास गर्न चाहन्छु। यहाँका नदीकिनारका बासिन्दाले सुरक्षित रुपमा आफ्नै जग्गा जमिनमा बस्न पाउने अधिकार दिलाउनु मेरो मूल कर्तव्य हो।

यो नागरिकको मौलिक हक हो। यहाँको सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासलाई समाधान गर्नेछु । त्यो पनि बुटवलभित्र नै व्यवस्थापन गरेर समाधान गरिनेछ। ज्योतिनगर पहिरोका कारण के कस्तो क्षति भयो भन्ने यहाँलाई जानकारी नै छ। त्यहाँ जनप्रतिनिधिका रुपमा के गरिनुपथ्र्यो र त्यसो नगर्दाको परिणाम के भयो भन्ने पनि जनताले नै देखाइदिएका छन्।

मोतीपूर औद्योगिक क्षेत्रको समस्या पनि उस्तै छ । त्यहाँ पनि यो मेरो गढ हो भन्ने जनप्रतिनिधिलाई जनताले नै कसरी लखेटे त्यो पनि बुझ्नुभएकै छ होला । यसर्थ, यी समस्याको समाधान जनतालाई चिढाएर, रुष्ट बनाएर, त्यहाँबाट धपाएर गर्ने हैन । उनीहरुलाई सुरक्षित अनुभूति हुनेगरी र अपनत्व महसुस हुनेगरी समाधान गरिनुपर्छ । त्यसका लागि म चरणवद्ध योजना कार्यान्वयनमा ल्याउनेछु ।

स्थानीयबासिन्दाको मन दुख्ने काम मैले कहिले पनि गर्नेछैन । तिनाउ दानव करिडोरका बासिन्दा अहिले पीडामा छन् । त्यहाँ कोही पनि बसोबास गर्दैन भनेर बुटवल उपमहानगरपालिकाले नै भनिरहेको अवस्था छ । तर त्यहाँ ठूलो बस्ती छ । त्यो बस्तीका बासिन्दाको मर्मअनुसार समाधान खोजिनुपर्छ । म त्यो समस्या समाधानमा प्रतिबद्ध छु ।

विगत लामो समय भयो, बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क चिडियाखोलासम्मको सडकको दुरावस्था, धुलोले बुटवलबासीको स्वास्थ्यमाा गम्भिर असर परेको छ । सडक छेउको व्यापार व्यवसाय चौपट भएको छ । कैयौं व्यवसायीहरु विस्थापित भएका छन् । चुनाबको मुखमा आएर काम देखाउन भित्री सडकहरु भत्काएर अलपत्र पारिएका छन् । जनताका समस्या के हुन् भन्नेमा ध्यान नै दिइएकोे छैन ।

सडकका आयोजनाहरु समयमै निमार्ण सम्पन्न गर्न ठोस र प्रभावकारी कदम चाल्ने छु । ढल निकास र खानेपानीको समस्या समाधानका लागि

प्रभावकारी काम गरी समाधान गर्नेछु । बुटवलमा खानेपानीका लागि पहाडका भीरमा भन्दा बढी समस्या देख्छु म । शुद्ध पिउने पानीका लागि ठाउँठाउँमा भाँडा लिएर लाइन लाग्नुपर्छ । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । अलिअलि वर्षा भयो कि धमिलो पानी आउँछ ।

यस्तै, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा महत्वपूर्ण योजना हामीले बनाएका छौं । अर्को महत्वपूर्ण कुरा भनौं, बुटवललाई हेरेर मानिसहरुमा संघीयताप्रति नै अविश्वास जगाउने काम भएको छ । बुटवल खराब कामको मानक बनेको छ । यहाँका जनप्रतिनिधिले गरेका बेथिति देखेर जनतामा जनप्रतिनिधिप्रति चरम असन्तुष्टि देखिन्छ ।

उपमहानगरपालिका भ्रष्टाचारमा डुबेको छ । जनताले तिरेको करको सदुपयोग भएको छैन, जनप्रतिनिधिले आफ्नो कमाइखाने भाँडो बनाएका छन् भन्ने जनगुनासो छ । सेवाप्रवाहमा उस्तै समस्या छ । महालेखा परीक्षकको कार्यालयका रिपोर्ट हेर्नुस्, बुटवलका बेथिति कति छन् ।

कसरी जनताको कर लुटेर खाएका छन् भन्ने प्रष्ट हुन्छ । म यी सबै बेथितिहरु रोक्न चाहन्छु । जनताले खुनपसिना बगाएर तिरेको करको सदुपयोग गर्न चाहन्छु । त्यो करबाट लाभ लिने पहिलो हकदार जनता हुन् । त्यसको प्रत्याभूति दिलाउन चाहन्छु । बुटवलबासीलाई सबैभन्दा पहिले के चाहिएको हो ? त्यो कुराको पहिचान गरेर काम गर्नुपर्ने हो कि होइन ?

तर, यहाँ त, प्रचारमा आउनका लागि जे पनि जस्ता पनि कार्यक्रमहरु ल्याएर बजेट सक्ने काम भएको छ । हामी प्रचारमुखी कुनै पनि काम गर्दैनौं । भ्यूटावर बनाउनेजस्ता अनुत्पादक काममा हाम्रो ध्यान जानेछैन ।

आवश्यकताका आधारमा प्राथमिकता तय गरेर कार्यक्रमहरु ल्याइनेछन् । यस्ता अरु धेरै कार्यक्रम र योजनाहरु हामीले लिएका छौं । हामी पाँचदलीय गठबन्धनबाट चुनाबी मैदानमा छौं ।

गठबन्धनका एजेण्डाहरु पनि मैले साझा रुपमा अघि बढाउनेछु । हाम्रो पार्टीको बुटवलको घोषणा पत्र र राष्ट्रिय एजेण्डाहरु र कार्यक्रमहरु छन् । तीनलाई पनि म समावेश गरेर सबै दलहरुलाई अपनत्व हुनेगरी सहभागी गराएर अघि बढ्नेछु । यो मेरो प्रतिबद्धता हो ।

३. तपाइँले गठबन्धनको कुरा गर्नुभयो ? गठबन्धनका दलहरुबीचको तालमेल कस्तो छ ?

गठबन्धनका दलहरुबीच शुरुशुरुमा साझा बुझाईमा केही समस्याहरु थिए । ती सबै समाधान भएका छन् । यो गठबन्धन राष्ट्र जोगाउनका लागि, संविधानको रक्षाका लागि, मुलुकलाई अस्थीरता र अराजनीतितर्फ धकेलिनबाट जोगाउनका लागि निर्माण भएको हो ।

जतिबेला नेकपा विघटन र एमाले विभाजन भयो, त्यसले उत्पन्न गराएको परिस्थितिले मुलुक नै संकटग्रस्त अवस्थामा पुग्न थालेको थियो । यदि नेपाली कांग्रेसले त्यसको अगुवाई नगरेको भए र पाँच दल एकैठाउँमा नआएको भए हाम्रो संविधान अहिलेको अवस्थामा रहदैनथ्यो । जनताको बलिदानीले प्राप्त गरेको यो उपलब्धि गुम्ने खतरा थियो ।

जनतामाझ यसबारे भ्रम फिजाउँन खोजिएको छ । एमालेले जनतालाई आफ्ना कमजोरी लुकाएर गठबन्धनको खेदो खनेको छ । किनभने अहिले एमालेसँग अरु कुनै एजेण्डा छैनन् । मुलुकको अवस्था संकटतर्फ जान थालेपछि मुलुकलाई बचाउनका लागि कांग्रेस काँध थाप्न आएको हो ।

त्यसमा अरु चार दल सहभागी भए । मुलुक अस्थीरतातर्फ जानबाट बच्यो । एमालेले अनेक तर्क गरेपनि वास्तविकता यही हो । जुन शक्तिले मुलुकलाई नै ध्वस्त पार्ने, संविधानलाई नै ध्वस्त पार्ने षडयन्त्र ग¥यो त्यसलाई पराजित गर्नुपर्छ र त्यस्तो शक्तिलाई मुलुकमा उदय हुन दिनुहुँदैन भन्ने उदेश्यका साथ हामी चुनाबमा पनि सँगसँगै अघि बढेका छौं । यो गठबन्धनका दलहरुबाट उम्मेदवारी दिएका साथीहरुले मलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

यसले हामीहरुलाई, यो गठबन्धनलाई अरु धेरै बलियो बनाएको छ । हामीबीचमा आपसी सम्बन्ध र सद्भाव बढेको छ । कुनै पनि समस्या छैन । सबै दलका साथीहरुले हामीले निर्वाचन जित्छौं, जित्नुपर्छ र हाम्रो जित सुनिश्चित छ भन्ने कुरा गर्नुभएको छ । हामी फराकिलो अन्तरले बुटवलमा चुनाब जित्छौं । बुटवलबासीलाई साँच्चिकै जनप्रतिनिधि आएको अनुभूति दिलाउनेछौं ।

४.चुनाब सहजै जित्छौं भन्नुभयो, त्यसका आधारहरु के हुन् ?

म २०७४ को चुनाब लडेँ । मेरो २३०० जति भोट कम भयो । त्यो चुनाबदेखि यो चुनाबसम्म मैले जनताका समस्या समाधानका लागि निरन्तर लडिरहेको छु । जति बुटवलबासीले मलाई भोट दिनुभएन, उहाँहरु वास्तवमै पछुताउनुभएको मैले पाएँ । हामीले गलत व्यक्तिलाई जिताएछौं भन्ने अनुभव बुटवलबासीले गरेको मैले पाएको छु । अघिल्लो चुनाबमा भ्रममा परिएछ भन्नेहरु अहिले मलाई नै जिताउन खटिनुभएको छ ।

किनभने, जति काम जितेका मान्छेले गर्न सकेनन्, मैले नजितेरै पनि गरेँ । मैले जितेको भए त्यसको कैयौं गुणा धेरै काम म गर्न सक्थेँ भन्ने कुरा जनताले बुझ्नुभएको छ । अर्को कुरा, बुटवल नयाँ शहर होइन ।

यहाँका बासिन्दाको आफ्नै खालको अपनत्व छ । पूराना बासिन्दाको लगाव फरक खालको छ । नयाँ बासिन्दाको फरक खालको लगाव छ । ती दुवै खालका बासिन्दाको मन जित्न सक्नुपर्छ । उहाँहरुको भावनाको सम्मान गरेर काम गर्न सक्नुपर्छ । यो काम म गर्न सक्छु ।

बुटवलमा हाम्रो पार्टी अहिले एकजुट छ । कुनै समस्या छैन । संगठन बलियो छ । प्रत्येक टोलका समितिहरु सक्रिय छन् । एकजुट छन् । अहिले थपिएका नयाँ मतदाता २३ हजार जति छन् । यी मतदातामा धेरै युवा हुन् । केही नामावली सारेर आएकाहरु छन् । युवा मतदाताको मत मलाई आउँछ । म युवाको भावना बुझ्छु । युवाका आवश्यकता बुझ्छु । हामी युवापिढीलाई प्राथमिकताका साथ योजना र कार्यक्रमहरु ल्याउँछौं ।

युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्न म रोजगारका कार्यक्रमहरु ल्याउँछु । यसकारण पनि युवाको पहिलो रोजाईमा म पर्छु । नामावली सारेर आउनेहरु गुल्मी, अर्घाखाँची, पाल्पा, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, पर्वत, वाग्लुङ, प्युठानलगायत अरु केही जिल्लाबाट आएका छन् । यी जिल्लाका साथीहरुसँग मेरो राम्रो नेटवर्क छ ।

अर्को कुरा, म बुटवल उपमहानगरपालिकामा कुनै पेशा व्यवसाय गरेर थाकेर, रिटायर्ड हुने बेलामा थकाई मार्न जाँदैछैन । म एउटा जोश, जाँगर लिएर बुटवललाई म परिवर्तन गर्छु । यहाँका बासिन्दाको निराशा हटाएर उत्साह भर्छु, एउटा नयाँ आशा जगाउँछु भन्ने दृढ अठोटका साथ उम्मेदवार बनेको हुँ । यहाँका पाको पुस्ताको फरक खालको अवस्था छ । यहाँको पाको पुस्तामा पहाडको झल्को आउँछ । गाउँको निरश मेटिन्छ ।

उहाँहरुलाई आफ्नो पुख्र्यौली थलोको साइनो मेट्ने वातावरण चाहिएको छ । त्यो वातावरण म बनाउन सक्छु । मसँग त्यस्ता योजना छन् । तपाइँले देख्नुभएकै होला, बुटवल उपमहानगरपालिकामा बितेका ५ वर्षमा भएका कति कार्यक्रममा अरु दलहरु सहभागी भए । अरु दलका कुरा कति सुन्ने वातावरण थियो ? कस्तो व्यवहार थियो अरु दलहरुलाई ? त्यसमा पूर्णरुपमा परिवर्तन ल्याउनेछु ।

सबै दल, सबै समुदाय, सबै उमेर, सबै भेग, सबैखालका मान्छेले बुटवल उपमहानगरलाई आफ्नो ठान्ने वातावरण बनाउनेछु । यसअघिको निर्वाचनमा भोट दिने सबै भोट मलाई आउनेछन् । यसअघि भोट नदिएका ६० प्रतिशत बुटवलबासीले मलाई भोट दिनेछन् । एमालेले जनमुक्ति पार्टीसँग तालमेल गरेको भनेको छ, तर त्यो नाममात्रैको तालमेल हो ।

त्यहाँका करीब ७५ प्रतिशत मत हामीलाई आउँछन् । अर्को बलियो आधार, हाम्रो गठबन्धन हो । गठबन्धन दलहरुबीचमा अहिले एकदमै सौहार्दपूर्ण वातावरण बनेको छ । हामीहरु एकजुट भएर एकसाथ अघि बढेका छौं । यसआधारमा हाम्रो गठबन्धनको जित सुनिश्चित छ ।

५. सुकुम्बासी, भूमिहिन र अव्यवस्थित बसोबासको मुद्दा जहिले पनि उठ्छ, तर समाधान हुँदैन । कसरी समाधान गर्नुहुन्छ ?

सुकुम्बासी समस्याहरुको बारेमा कुरा गर्दा यसका अल्पकालीन र दीर्घकालीन उपायहरु छन् । अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिका भित्र यसलाई एउटा मापदण्डमा ल्याउन सक्छौ र यसको नामसारीको प्रक्रियाहरु वडाहरु मार्फत लैजान सक्छौ यति मात्रै गर्न सक्यौ भने धेरै समस्याहरु यसबाट समाधान हुन्छ । यसअघि देखिएका विकृतिहरु हटेर जान्छन् र दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान गर्ने हो त्यो नै हाम्रो मुख्य उद्देश्य हो ।

भूमि सम्बन्धी कार्यालयहरु गठन भएका छन् त्यस मार्फत कामहरुको टुगो‌ लगाउँछौ । हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं । एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं । लालपूर्जा भनेर निस्सा वितरण गर्दैनौं । यसको समाधान गर्नसक्ने आधार तयार गरेर भनिरहेको छु ।

६. अन्तमा, आम नगरवासी र मतदातालाई के भन्न चाहनुहुन्छ ?

म नगरका आदरणीय आमाबुवा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा विशेष अनुरोध आग्रह गर्न चाहन्छु कि, तपाईँले फेरि गल्ती नदोहोर्‍याउनुस् । यसपटक मलाइ आफ्नो मत दिएर जिताउनुस् । म तपाइकै सेवक हुँ र बाँकी जीवन पनि नगरबासीकै सेवक भएर बिताउने छु ।

बुटवल उपमहानगर पालिकालाइ पश्चिम नेपालकै आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निस्वार्थ भएर लाग्ने छु । यसअघि धेरै पटक एउटै पार्टीलाइ हेर्नुभयो तर उनीहरुले सत्तामा गएपछि जनतालाइ सम्झेनन् ।

आफु र आफना सीमित व्यक्तिको वृत्ति विकासमा मात्रै लागे । त्यसैले यो पटक नेपाली काँग्रेसलाई र गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार म खेलराज पाण्डेलाइ अमुल्य मत दिएर उपमहानगर हाक्ने मौका दिनुहोस् । हामीले तपाइहरुको चाहना अनुसार नै काम गर्नेछौं । खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौ ।

हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासनहरु बाँडदैनौं । तर जे बोल्छौ त्यो गरेर देखाउँछौं । सकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासीको समस्या निर्वाचित भएको एक बर्ष भित्रै सम्बोधन गरी ठोस रुपमै स मस्या समाधान गर्नेछु । अरु थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजनाहरु म सँग छन्, तीनको कार्यान्वयन गरेर बुटवल उपमहानगरलाई देशमै उत्कृष्ट सुशासनयुक्त, आर्थिक र व्यापारिक केन्द्र बनाउने छु ।

बैशाख २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्