रामकृष्ण खाँण, प्रमुख पदका उम्मेदवार (कांग्रेस र माओवादी केन्द्रका तर्फबाट)

सेवक हुने मौका दिनुहोस्, भ्रष्टाचारमुक्त, सुशासनयुक्त र विकसित नगर बनाउँछुः खाँण

Copy to clipboard
Copied!

बुटवल – वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँनगरमा चुनावी रौनक बढेको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि उम्मेदवारहरू गीत गाउँदै, नाच्दै, आफ्ना योजना सुनाउँदै मतदाताको घरदैलोमा पुगेका छन्।

तिलोत्तमामा सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ भने गठबन्धनकै दल। एकीकृत समाजवादी, जनता समाजवादी छुट्टाछुट्टै चुनावी मैदानमा छन्।

एमाले भने एक्लै निर्वाचनको मैदानमा छ। यसअघि एमालेले जितेको तिलोत्तमामा यसपटक कांग्रेसका उम्मेदवार कांग्रेस रुपन्देही सभापति रामकृष्ण खाँण हुन् भने एमालेले पत्रकारिता पृष्ठभूमिका मोहन चापागाईंलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ।

कांग्रेसका उम्मेदवार रामकृष्ण खाँण आफ्ना योजना लिएर जनतामाझ पुगेका छन्। २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएका नेता खाँणको परिवार १०१७ सालमा स्याङ्जाबाट रुपन्देही बसाइसराइ गरेको थियो।

गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणका भाइ रहेका खाँणको परिवारमा राजनीतिक वातावरण थियो।

०३५ सालदेखि नै बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायतविरोधी आन्दोलनमा लागेका रामकृष्ण ०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु इकाइको कोषाध्यक्ष भए।

०५४ सालमा कांग्रेस रुन्पन्देहीको जिल्ला कार्यसमिति सदस्य, ०६६ सालमा जिल्ला सचिव भएका उनी हाल कांग्रेस रुपन्देहीको सभापति छन्। उनका चुनावी एजेन्डाबारे देशसञ्चारका लागि सीपी खनालले गरेको कुराकानीः

० अहिले घरदैलोमा व्यस्त हुनुहुन्छ, आमजनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तिलोत्तमा नगरपालिकाका नागरिकको घरघरमा जाँदा उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। कांग्रेस र गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्छ, हामी जिताउँछौं भन्नुहुन्छ।

उहाँहरूको यस्तो प्रतिक्रियाले हामी चुनाव जित्नेमा पूर्णतः विश्वस्त छौँ। खासगरी संघ, प्रदेश र स्थानीय तहमा नेकपा एमालेको सरकार हुँदा पनि राम्रो काम गर्न सकेन। जनतासामु गरेका प्रतिबद्धता पूरा गर्न सकेन। बहुमत पाउँदा पनि एमाले अध्यक्ष केपी ओलीले तीन वर्ष सरकार नै चलाउन नसकेको र संसद् विघटन गरेको, पार्टीसमेत चलाउन नसकेको जस्ता कामले जनतामा निराशा छाएको छ। यसले मुलुकलाई नै अधोगतितर्फ लैजान्छ र यस्ता व्यक्ति र पार्टीलाई स्थान दिनुहुन्न भन्ने जनताको भनाइ छ।

संविधान नै संकट पार्न खोज्ने गरी एमाले अध्यक्ष केपी ओलीले गरेका कामको भण्डाफोर गर्नुपर्छ र त्यो पार्टीलाई सबै मिलेर हराउनुपर्छ भन्ने कुरा पनि जनताले हामीलाई सुनाउनुभएको छ। अहिले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकै कारण संविधानको रक्षा भएको, मुलुकमा स्थिरता कायम रहेको, जनताले नगरबासीले बुझ्नुभएको छ। जनतालाई झुटा आश्वासन मात्रै बाँड्ने तर देश र जनताको हितमा काम नगर्ने एमाले प्रवृत्तिलाई हराउन यसपालि गठबन्धनले जित्नुपर्छ कांग्रेसले जित्नुपर्छ भन्ने नगरवासीको मत छ।

कांग्रेसप्रतिको जनताको विश्वास, भरोसा र लगाव नै सबैभन्दा ठूलो कुुरा हो। कांग्रेसले सत्तामा हुँदा को कुन पार्टीको मान्छे हो भनेर व्यवहार गर्दैन, सबैलाई नागरिकको हैसियतमा समान व्यवहार गर्छ, यो पनि कांग्रेसको राम्रो पक्ष हो भन्ने कुरालाई धेरै राजनीतिमा सक्रिय नदेखिनुभएका मतदाताले पनि बुझ्नुभएकाले उहाँहरूले पनि हामीलाई मत दिन्छौं तर एमालेले जस्तो नगर्नु जनता नझुक्याउनु, भ्रष्टाचार नगर्नुहोला भन्नुभएको छ र हामीले पनि उहाहँरूको आशीर्वाद लिएर उहाँहरूकै साझा जनप्रतिनिधि बन्ने प्रतिबद्धता गरेका छौँ।

– म तपाईंमार्फत तिलोत्तमावासीलाई के भन्न चाहन्छु भने, हामी तिलोत्तमावासी वास्तवमा यो ५ वर्षमा जे–जति काम हुनुपर्ने थियो भएन। जनतालाई प्रत्यक्ष लाभ हुने काम भएनन्। संघीय सरकारले बनाएको मुख्य सडक सिँगार्ने र त्यसैको प्रचार गरेर प्रशंसा कमाउने काम भए। तिलोत्तमाका समस्या के हुन्, जनताको आवश्यकता र प्राथमिकता पहिचान नै गरिएन। सरकारी रकममा चरम भ्रष्टाचार भयो। जनतालाई भ्रममा पार्न प्रचारमुखी काम भए। सानातिना केही राम्रा काम पनि भए होलान्।

तर, ती कामले जनतालाई कुनै लाभ भएन। म धेरै आलोचना गर्न चाहन्नँ तर तपाईं महालेखा परीक्षकको कार्यालयको रिपोर्ट हेर्नुस्, कस्ता–कस्ता काममा बजेट खर्च भएको छ ? के ती तिलोत्तमाबासीका लागि महत्वका काम थिए ? तिलोत्तमामा बिरामी भए उपचार गर्ने एउटा सरकारी अस्पताल छैन, भित्री सडकको बेहाल छ, सरकारी जग्गा जमिन मनपरी बाँडिएका छन्। भएका कुलो नहर अतिक्रमण भइरहेको छ। तिलोत्तमा बाहिरबाट हेर्दा सहरजस्तो देखिए पनि भित्री बस्ती अझै ग्रामीण अवस्थाकै छन्।

एकदमै पुराना बस्ती छन्। त्यहाँ बाटो, खानेपानीजस्ता आधारभूत विकास पुग्न सकेको छैन। ती बस्ती र राजमार्ग क्षेत्रको समानुपातिक विकास जरुरी छ। राजमार्ग क्षेत्रमा सहरी खालको वातावरण जरुरी छ भने भित्री बस्तीमा स्थानीयको भावनाअनुसार विकास जरुरी हुुन्छ। त्यसअनुसारका योजना जरुरी छन्।

अर्को कुरा तिलोत्तमालाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने मेरो प्राथमिकता रहनेछ। यो नगरलाई समानुपातिक ढंगले विकास गर्दै व्यवस्थित, समृद्ध नगर बनाउने, औद्योगिक क्षेत्रको विकास गर्ने, आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने, जनतालाई सुशासनको अनुभूति दिलाउनेजस्ता काम मेरो प्राथमिकतामा पर्नेछन्।

स्वास्थ्य, शिक्षा, रोजगारी, सिँचाइजस्ता क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकतासाथ कार्यक्रम ल्याउनेछ। अरू, स्थानीय सरकारका अधिकार र क्षेत्रअनुसारका काममा हामीले जोड दिनेछौं। मैले नगरपालिकाबाट सेवा–सुविधा लिनेछैन, मैले पाउने सेवा–सुविधाबापतको रकम मैले अनाथ, असहाय, विपन्न वर्गका बालबालिका र तिनको शिक्षाका लागि खर्च गर्नेछु। अहिले नगरपालिकामा ५० करोड बेरुजु छ। कैयौँ बेथिति छ। मनपरी छ। त्यसलाई चिर्न पनि म कटिबद्ध भएर लाग्नेछु।

० तपाईंले जित्ने आधार के हुन् ?

– म यहाँ दोस्रोपटक चुनावी मैदानमा छु। यसअघि मैले चुनावका क्रममा गरेका वाचा पूरा गर्न मैले चुनाव नजिते पनि प्रयास गरेँ। जनताका समस्या समाधानका लागि प्रयत्न गरेँ। नगरपालिकामा जितेर गएका साथीहरूले बजेटको छेलोखेलोबाहेक अरू केही गर्नुभएन। सरकारी स्रोतसाधन वितरणमा पनि न्याय गर्नुभएन। उहाँले तिलोत्तमाका सबै बासिन्दालाई एउटै दर्जा दिनुभएन। नगरपालिकाको कुर्सीमा बसेर नगरबासीलाई हेर्ने दृष्टिकोण र दर्जा फरक–फरक हुनु हुँदैन। त्यसो हुन सकेन। पाँच वर्षसम्म हामी प्रतिपक्षमा बस्यौं तर हामीले नगरलाई रचनात्मक सहयोग गरेका थियौँ।

राम्रा कुरामा समर्थन पनि गर्‍यौँ। गलत कुराको विरोध गर्‍यौँ। म जनताकै साथमा छु। आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सीप विकास, सञ्चार प्रविधि, युवा खेलकुद, कृषि क्षेत्र, भौतिक पूर्वाधार, स्वास्थ्य, उद्योग व्यापार तथा पर्यटन, रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेका छौँ। हालको करको दायरा फराकिलो बनाई योभन्दा अगाडिको तिलोत्तमा नगर सरकारले लगाएको एकीकृत सम्पत्ति करमा ५० प्रतिशत घटाइनेछ।

जीर्ण तथा रुग्ण उद्योग व्यवसायले तिर्न बाँकी रहेको बक्यौता करमा ५० प्रतिशत छुट दिने योजना ल्याएका छौँ। अव्यवस्थित तथा सुकुम्बासी बस्तीलाई व्यवस्थित बनाई ५ वर्षभित्र सबैलाई लालपुर्जा वितरण गरी तिलोत्तमा नगरको भूमिहीन समस्या पूर्णरुपमा निवारण गरिनेछ। वैदेशिक रोजगारीमा रहने तिलोत्तमा नगरभित्रका नागरिकले नगरभित्रका बैंकमा डलर पठाएमा प्रति १ हजार डलरमा एक हजार थप गरी भुक्तानी दिने व्यवस्था मिलाइनेछ।

जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ, भ्यू टावर बनाउने र उपहार शुभकामना भोजभतेरमा खर्च गर्न पूर्ण बन्देज लगाइनेछ। कार्यालयमा आफ्नो काम गराउन आउने नागरिकका लागि सहायता कक्ष र सेवाग्राही विश्रामस्थल बनाइनेछ। नगरमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गरिनेछ।

तिलोत्तमाबासीको नागरिकतालाई स्वास्थ्य सुरक्षा आधार पत्र मानी असहारा स्वास्थ्य सेवा उपलब्ध गराइने र गर्भवती महिला स्याहार सम्भार र पोषण व्यवस्था गरी सुत्केरी भत्ता उपलब्ध गराउँदै तिलोत्तमा नागरिक सस्तो औषधि पसल सञ्चालन गरिनेछ। यस्ता धेरै कार्यक्रम र योजना छन्। हामीले घोषणापत्रमा यी सबै कार्यक्रम कसरी गर्छौं भन्ने कुरा उल्लेख गरेका छौं। यी नै हाम्रा आधार हुन्।

हामीले जित्ने आधार जनता हुन्। जनताको चाहना यसअघि पूरा भएका छैनन्। ती पूरा गर्न हामीले चरणबद्ध योजना ल्याएका छौँ। यी योजनामा विश्वास गरेर हामीलाई जनताले मत दिनुहुनेछ र जित हासिल गर्छौं। यो जित जनताकै हुनेछ।

० तपाईं नेपाली कांग्रेसको सभापति पनि हुनुहुन्छ। रुपन्देहीको निर्वाचन परिचालन कसरी भएको छ ? नतिजा कस्तो आउँछ ?

– सबै नेपाली जनतालाई थाहा छ कि, अहिले मुलुकमा गठबन्धन सरकार छ। यो सरकार बन्नुको कारण पनि थाहा छ। एमालेका अध्यक्ष केपी शर्मा ओेलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गरेपछि पाँचदल त्यसविरुद्ध सर्वोच्च अदालत गए।

पाँच दलको सहमतिअनुसार सर्वोच्चसँग केपी ओलीको सरकार अपदस्त गर्दै पाँच दलमध्ये कांग्रेसका सभापतिको नेतृत्वमा सरकार निर्माणको माग गरिएको थियो। यसैअनुसार सर्वोच्चको आदेश आयो र पाँच दलको सरकार बन्यो। केही साथी यसको अपव्याख्या गर्नुहुन्छ, अदालतले बनाएको सरकार भनेर।

वास्तवमा नेपालमा व्यक्ति वा दलको होइन कानुनी राज छ भन्ने पुष्टि भएको दिन हो त्यो। साथीहरूले यतिसम्म भ्रम छर्नुहुन्छ कि अदालतमा मुद्दा दिँदा अदालतले या त त्यो माग कानुनअनुसार सही छ भनेर आदेश गर्छ या त मुद्दा खारेज गर्छ। कानुनअनुसार पाँच दलले गरेको माग सही देखियो, त्यसैले हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्यो।

यो कुरा मैले किन भनिरहेको छु भने यही कुरा नै गठबन्धन बन्ने आधार थियो। त्यही आधारमा टेकेर हामी संकट उन्मुख भएकोे मुलुकलाई संकटबाट बचाउन पाँच दल एकैठाउँमा आउनुपरेको हो। यो हाम्रो चाहनाभन्दा पनि मुलुकको आवश्यकताले बनेको हो। यस्तो गठबन्धन स्थानीय निर्वाचनमा पनि कायम छ।

केही स्थानमा साथीहरूको चाहना र आवश्यकताले गठबन्धनभन्दा बाहिरबाट पनि मैत्रीपूर्ण रूपमा प्रतिस्पर्धा भएको छ। यसलाई हामीले सहज रुपमै लिएका छौँ, मैत्रीपूर्ण रूपमै प्रतिस्पर्धा कायम छ। रुपन्देहीमा गठबन्धनले सबैजसो स्थानीय तहमा जित हात पार्छ।
कुनै तहमा केही दल एक्लै चुनावमा भए पनि गठबन्धनमै सहभागी दलमध्येबाटै विजयी हुनेछन्। त्यसमा हामी विश्वस्त छौँ।

अर्को, कुरा रुपन्देहीको निर्वाचन परिचालनका लागि गाउँनगरस्तरमा निर्वाचन परिचालन समिति बनेका छन्। जिल्ला समितिले पनि ती समितिसँग समन्वय गरिरहेको छ। निर्वाचन उत्साहजनक छ र नतिजा पनि उत्साहजनक नै आउनेछ।

० अन्त्यमा, आमनगरवासी र मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

आदरणीय आमाबुवा दाजुभाइ, दिदीबहिनी आम मतदाता सम्पूर्णमा विशेष अनुरोध र आग्रह गर्न चाहन्छु यसपटक मलाई आफ्नो मत दिएर जिताउनुस्। यो जित तपाईंकै जित हुनेछ। तपाईंको गाउँनगरकै एउटा नाति, छोरा, दाजु, भाइ, काका चुनावमा होमिएको छ भन्ने सम्झेर मलाई रूख चिह्नमा छाप लगाई मत दिनुस् भन्न चाहन्छु। मलाई जिताएपछि पनि म तपाईंको नाति, छोरा, काका, दाजु भाइ नै रहनेछु। तपाईंसँगै रहनेछु। म शासकको रूपमा नगरपालिकामा बस्नेछैन। तपाईंकै सेवामा केन्द्रित छु र हुनेछु र बाँकी जीवन पनि नगरबासीकै सेवा गरेर बिताउनेछु। तिलोत्तमा नगरपालिकालाई पश्चिम नेपालकै सुन्दर, सुशासन युक्त, हिंसा मुक्त, आर्थिक र समृद्ध नगरको रुपमा विकास गर्न निस्वार्थ भएर लाग्नेछु।

यसअघि धेरै पटक एउटै पार्टीलाई हेर्नुभयो तर उनीहरूले सत्तामा गएपछि जनतालाई सम्झेनन्। आफू र आफ्ना सीमित व्यक्तिको वृत्ति विकासमा लागे। त्यसैले यसपटक नेपाली कांग्रेसलाई र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार म रामकृष्ण खाँणलाई अमूल्य मत दिएर नगरपालिका राम्रो बनाउने मौका दिनुहोस्। हामीले तपाईंहरूको चाहनाअनुसार नै काम गर्नेछौं।

खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण काम गर्ने ठोस योजना बनाएका छौँ। हामीले एमालेका उम्मेदवारले जस्तो झुटा आश्वासन बाँडदैनौँ। तर, जे बोल्छाँै त्यो गरेर देखाउँछौँ।

अरू थुप्रै महत्वपूर्ण र नगरका लागि आवश्यक योजना मसँग छन्, तीनको कार्यान्वयन गरेर तिलोत्तमा नगरपालिकालाई देशमै उत्कृष्ट भ्रष्टाचारमुक्त सुशासनयुक्त नगरपालिका बनाउने मौका दिनुहोस् भन्न चाहन्छु।

बैशाख २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्