पाँच वर्षमा हामीले गरेका काम नै चुनाव जित्ने महत्वपूर्ण आधारः मोहन चापागाईँ

मोहन चापागाईँ, प्रमुख पदका उम्मेदवार (एमाले)
Copy to clipboard
Copied!

स्थानीय तह निर्वाचनमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमालेबाट मोहन चापागाईंले प्रमुख पदमा उम्मेदवारी दिएका छन्।

पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका चापागाईँ सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष, रेडियो लुम्बिनीको अध्यक्ष भइसकेका छन्। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष उनी पत्रकार महासंघको साधारण सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा छन्।

यसअघि नेकपा एमाले तिलोत्तमा नगरको अध्यक्ष भइसकेका उनी यसअघिको स्थानीय निर्वाचनमा पनि प्रमुख पदका दाबेदार थिए। यसपटक पार्टीभित्रको रस्साकस्सीबीच चापागाइँले टिकट पाएका छन्।

लामो समयको पत्रकारिता अनुभव संगालेका चापागाईँ र गठबन्धनका उम्मेदवारबीच कडा टक्कर हुने अनुमान गरिएको छ। उनै चापागाईँसँग चुनावी एजेण्डा लगायतका विषयमा देश सञ्चारका लागि सी.पी. खनालले गरेको कुराकानीकाे सम्पादित अंशः

चुनावी अभियानका क्रममा मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
आम रूपमा हेर्दा तिलोत्तमा नगरपालिकाको जुन निर्वाचन छ, यो निर्वाचन अरू परिस्थिति भन्दा अलि भिन्न खालको छ। तिलोत्तमा नयाँ नगरपालिका भएको र गत निर्वाचनपछि बनेको कार्यकारी बोर्डले जनतासँग मिलेर जुन ऐतिहासिक कामहरु गर्यो, त्यो एमालेले चुनाव जितेका कारण सम्भव भएको हो। त्यसले गर्दा यहाँका मतदाता एकदम उत्साहित, आत्मविश्वासी, हामीले पनि केही गर्न सक्छौँ भन्ने नगरबासीको उत्साहपूर्ण अभिलाषा देखिएको छ।

चुनाव जित्ने आधार के के छन् ?
राष्ट्रिय हिसावले एमाले नेतृत्वको संघीय सरकार, प्रदेश सरकारमा नेतृत्व गर्दा गरेका कामहरू र हामीले निर्वाचन जितेपछि गएको पाँच वर्षमा यो नगरपालिकालाई जस्तो बनाएका छौँ, यो यहाँका नागरिकहरुको सामूहिक मेहनत, श्रम, लगानीमा संभव भएको हो।

निर्वाचन जितेपछि गरेका जुन सकारात्मक कामहरू छन्, हामीले हरियालीयुक्त नगर बनाएका छौँ। सफा सुन्दर नगर बनाएका छौँ, खुल्ला प्लाष्टिकमुक्त बनाएका छौँ। बालमैत्री नगरपालिकाका रूपमा घोषणा गरेका छौँ। नेपालका अरु नगरपालिकाहरू मध्ये सबैभन्दा धेरै कानुनहरू बनाएका छौँ। हामीले गुणस्तरयुक्त र सुशासनयुक्त नगरपालिकाका रूपमा विकसित गरेका छौँ।

यो हिसावले हेर्दा विगत पाँच वर्षमा हामीले गरेका काम नै चुनाव जित्ने एउटा महत्वपूर्ण आधार हो। दोस्रो हामीले प्रतिवद्धतामार्फत अव नगरमा हामीले के गर्ने हो भन्ने योजताहरू, नीतिहरू, कार्यक्रमहरू पनि हामीले सार्वजनिक गरेका छौँ।

त्यसमा हामीले यो नगरलाई एउटा शैक्षिक हवको रूपमा विकास गर्ने, सामुदायिक विद्यालयहरूबाटै गुणस्तरीय शिक्षा पाउने ग्यारेन्टी गर्ने, स्वास्थ्य बीमाका माध्यमबाट नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने, गएको पाँच वर्षमा जुन पूर्वाधारमा ठूलो लगानी गरेका छौँ। आगामी दिनमा ती पूर्वाधारमार्फत सहज सेवा प्रदान गर्नका लागि पनि यहाँका नागरिकहरुले हामीले मतदान गर्नुहुन्छ। त्यसले गर्दा हामी फराकिलो मतान्तरसहित चुनाव जित्छौँ।

कांग्रेस र माओवादीको गठबन्धन छ, एमाले एक्लै प्रतिष्पर्धामा छ। कत्तिको चुनौती छ ?
तिलोत्तमा नगरपालिकामा सत्ता गठबन्धन भत्किएको छ भने कांग्रेस र माओवादीबीच तालमेल छ। यो गठबन्धन केवल पद प्राप्तिको लागि मात्रै हो भन्ने कुरा जनताले बुझेका छन्। राजनीतिमा आफ्नो नीति, विचार कार्यक्रमको कुरा लागू गरेर जाने कुरा हो। त्यो कुरामा उहाँहरूको ध्यान छैन।

सम्पूर्ण ध्यान उहाँहरूले कसरी पद प्राप्त गर्ने भन्नेमा मात्रै देखिन्छ। त्यसले गर्दा तिलोत्तमा नगरपालिकाको सन्दर्भमा गठबन्धन केवल व्यक्तिको हितका लागि गरिएको जस्तो लाग्छ। त्यसले गर्दा यहाँ गठबन्धनको यहाँ त्यति धेरै सार्थकता छैन। एमालेभित्र हामी सबै एकतावद्ध रुपमा अगाडि बढेका छौँ भने नेपाली काँग्रेसभित्र असन्तुष्टि व्याप्त छ। यसले गर्दा चुनाव एमालेले जित्ने कुरामा दुईमत छैन।

तिलोत्तमाले केही कामका कारण चर्चा कमाएको छ। यसलाई कायम राख्दै अरु बढी उदाहरणीय काम गर्न तपाईँका योजना र प्राथमिकता के छन्?
शिक्षा, स्वास्थ्य र गुणस्तरीय सेवा प्रवाह नागरिकहरूको चाहना हो। सुशासनयुक्त नगरपालिका निर्माणदेखि विकास निर्माणमा तदारुकताका साथ नगरबासीलाई साथमा लिएर अगाडि बढ्ने योजना छ। सानासाना कामहरू गरेरपनि नागरिकहरूलाई उत्साहित बनाएर जसरी लिएर हिँडेका छन्, त्यसलाई अझ नयाँ उचाइका साथ नयाँ तहबाट हामीले काम गर्छौँ।

प्रतिवद्धतापत्रमार्फत हामीले आफ्ना योजनाहरू सार्वजनिक गरेका छौँ। खास गरेर शिक्षा, स्वास्थ्य, हरेक ठाउँमा स्वस्थ नागरिक निर्माण गर्ने, खेल मैदानहरू निर्माण गर्ने, सार्वजनिक सम्पत्तिहरुको संरक्षण गर्ने जस्ता हाम्रा धेरै योजना र कार्यक्रमहरू छन्।

जातजाति, भाषाभाषी, धर्मप्रति हामी असाध्यै सहिष्णु भएर सांस्कृतिक धरोहरहरूलाई हामीले संरक्षण गरेर अगाडि बढाउँछौँ। सिँचाई प्रणालीदेखि लिएर अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन गर्ने कुरा मेरो प्रमुख प्राथमिकतामा रहेको छ।

अन्त्यमा, मतदातालाई के भन्न चाहनुहुन्छ ?
चुनावभन्दा अगाडि सबै मान्छे आउँछन्, चुनाव जितिसकेपछि तपाई पनि नआउने होला। यस्ता कुरा आइरहेका छन्।

म आफैमा एउटा सामान्य परिवारबाट असाध्यै मेहनत र दुःख गरेर यहाँसम्म आएको हुँ। मलाई के लाग्छ भने मेरो जिन्दगीमा म कहिल्यै पनि दम्भ, घमण्ड, अहम्ता प्रदर्शन गर्ने भन्ने हुँदैन। मैले धेरै ठाउँमा भन्ने गरेको छु। म तपाईँहरूकै भाई हो, तपाईँहरूकै छोरो हो, तपाईँहरूकै साथी हो।

मसँग सँगसँगै स्कूल कलेज पढेका हजारौँ साथीहरू हुनुहुन्छ। हाम्रो सबैसँग पारिवारिक खालको सम्बन्ध छ। मसँग कसैले पनि सानो ठूलोको भावनाले हेर्नुपर्दैन। हामी निर्वाचित भइसकेपछि सेवकको रूपमा भूमिका निर्वाह गर्ने कुरामा म विश्वास दिलाउन चाहन्छु। हामीले नगरपालिकाको सेवा प्रवाहलाई प्रविधियुक्त बनाएर अगाडि बढाएर लैजान चाहन्छु। म तिलोत्तमा नगरबासीलाई हामी सेवकको रुपमा काम गर्ने पूर्ण विश्वास दिलाउन चाहन्छु।

बैशाख २३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्