शिविर नम्बर २ मा बस्दै आएकी रोहिंग्या शरणार्थी साजिदा बेगम छोरा रिजवानका साथमा । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
विशेष रिपोर्ट

के घर फिर्न पाउलान् नेपालका रोहिंग्या?

रिजवान हुसैनले काम नगरेको तीन महिना नाघ्यो। प्लास्टरको काम जानेका उनले पाउनु पर्ने ७० हजार रुपैयाँ ठेकेदारले दिएका छैनन्।

आफूसहितका कामदारको पैसा नदिई ठेकेदार भागे। त्यसपछि रिजवानले काम गरेका छैनन्। २१ वर्षका रिजवान नेपाल आएको पाँच वर्ष भयो।

रोहिंग्या भाषामा आर्कान भनिने म्यानमारको रखाइन राज्यमा बसोबास गर्ने अल्पसंख्यक रोहिंग्या मुलमानमाथि बहुसंख्यक बुद्धिस्ट समुदायबाट भएको हिंसाबाट जोगिनका लागि उनको परिवार त्यहाँबाट पलायन भयो।

सुरुमा बंगलादेश अनि भारत हुँदै उनीहरु नेपाल आइपुगेका छन्। बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटारमा रहेको रोहिंग्या शरणार्थी शिविर नम्बर दुईमा बस्छन् रिजवान विगत पाँच वर्षदेखि। आमा र चार भाइ छन् उनका। रिजवानका बुवा सैयद हुसैनको उनी ८ वर्षको हुँदा मृत्यु भयो।

आमाले त्यसपछि विवाह गरिन्- जियाउल हकसँग। रिजवानका सौतेनी बुवा जियाउलले फेरि अर्को बिहे गरे भारत पलायन भए। आमा र भाइबहिनीको जिम्मा उनको काँधमा आयो।

नाइरेक्क जिल्लाको बोसिदङ्गमा हुर्किएका रिजवानलाई अहिले पनि त्यहाँको सम्झना आइरहन्छ। घर–जमिन, साथीभाइ अनि विद्यालयको स्मृति छ। बाध्यताहरुले आफू अन्जान भूमिमा आउनु परेको बताउँछन् रिजवान। ‘स्कूल गएको थिएँ, तर नाम अर्कै अङ्ग नाङ्ग’, म्यानमारमा छँदाको स्मरण सुनाए उनले।

हुर्किँदै गर्दा हिंसा भएपछि ज्यान जोगाएर रखाइनबाट भागी बंगलादेश, त्यसपछि भारत हुँदै नेपाल आएको बताउने रोहिंग्या युवा रिजवान । तस्बिर : बर्षा शाह/देश सञ्चार

म्यानमारमा आफूहरुले आफ्नै नामबाट स्कूल भर्ना हुन समेत नपाउने गरेको उनले बताए । त्यसकै कारण रिवानले बुद्धिस्ट नाम अङ्ग नाङ्ग राख्नु परेको हो । तर सोही नामबाट पनि उनले सजिलोसँग अध्ययन गर्न पाएनन् र हिंसाबाट ज्यान जोगाउनका लागि शरणार्थी बन्नु पर्दा उनको अध्ययन छुट्यो ।

रिजवानकी आमा साजिदा बेगम ४२ वर्षकी भइन् । १४ वर्षकी सुफियान, ७ वर्षका मिसवाह, पाँच वर्षका रियाज र दुई वर्षका इनामोलको जिम्मा साहिरा र रिजवानको काँधमा छ ।

तर रिजवानले काम नगरेको तथा शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) ले पनि सहयोग रोकेका कारण समस्यामा रहेको साहिराले बताइन् ।

आर्थिक समस्याकै कारण साजिदाले सुफियानलाई पढाउन सकेकी छैनन् ।

शिविर नम्बर २ मा बस्दै आएका रोहिंग्या शरणार्थी आमिर ६ महिने छोरीका साथमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

रिजवानको परिवार बसेकै शिविर नम्बर २ को टहरामा बस्छन् ३० वर्षका आमिर हुसैन । उनी नेपाल आएको पाँच वर्ष भन्दा बढी भयो । दुई छोरा र एक छोरी अनि श्रीमतीका साथमा बस्दै आएका उनको गुनासो पनि रिजवानको जस्तै छ ।

काम लगाउने ठेकेदारले पैसा नदिने र दिए पनि पाउनु पर्ने जति नदिने गर्दा गुजारा चलाउन अति मुश्लिक भएको आमिरले बताए । ‘तर ठगिन्छ भन्ने थाहा भए पनि काम गर्नुको विल्कप छैन’ आमिरले भने ।

शरणार्थीका रुपमा बसेकाहरुले काम गर्न पाउँदैनन् औपचारिक रुपमा । नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेको तथा रोहिंग्याहरुलाई शरणार्थीका रुपमा स्वीकार पनि नगरिएकाले उनीहरुले जीविकोपार्जनका लागि सहायता पाउने गरेका छैनन् । कानूनी रुपमा काम गर्न पनि नपाउने र सहायता पनि नपाउँदा उनीहरु थप समस्यामा परेका हुन्

युएनएचसिआरले सुरुका वर्षहरुमा प्रति परिवार मासिक १५ हजार रुपैयाँ दिने गरेको थियो । अहिले त्यो पनि बन्द गरेको छ । ३० वर्षका आमिरले भने ‘बजेट छैन भनेर सहायता रोकेका छन् । काम पनि पाईँदैन । काम गरे पनि पैसा पाउन मुश्किल छ ।’

आर्कान (रखाइन) को कुमिरखालीमा छोडेर आएको घरबारीको स्मरण आमिरलाई भइरहन्छ । ‘खेतीपाती थियो, माछा मारिन्थ्यो । जीविका राम्रैसँग चलेको थियो । हिंसाले बिस्थापित हुनु पर्‍यो के गर्नु?’ भने ।

सात वर्षका आजुर रहमान, चार वर्षका मुजुर रहमान र ६ महिनाकी छोरी आसिया बिबी तथा श्रीमती अनवारा बेगमको जिम्मेवारी पूरा गर्न कठिन परेको बताएका आमिरले युएनएचसिआरबाट सहायताको आश रहेको भनिरहेका थिए ।

तर हामीले युएनएचसिआरसँग यसबारे बुझ्दा बजेट अभावका कारण सहयोग गर्न सक्ने अवस्थामा नरहेको काठमाडौँ स्थित युएनएचसिआरका एक प्रतिनिधिले बताए ।

हाल रोहिंग्या बालबालिकाको अध्ययनका लागि वर्षको १२ हजार र सामान्य औषधोपचारका लागि त्रिवि शिक्षण अस्पतालमा निःशूल्क व्यवस्था गरेको तथा आनौपचारिक क्षेत्रमा काम गर्नका लागि केहीलाई सीपमुलक तालिम दिएको युएनएचसिआरको भनाई छ ।

अर्थात आमिरको अपेक्षा पूरा गर्न सक्ने अवस्थामा युएनएचसिआर नरहेको ती प्रतिनिधिले स्पष्ट पारे ।

चाहना घर फिर्ती छ त?

काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको रोहिंग्या शिविर स्थित मस्जिदमा साँझको नमाज पढ्दै गरेका रोहिंग्या शरणार्थीहरु । उनीहरुले शिविरमै मस्जिद बनाएका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

नेपाल आइपुगेका रोहिंग्याहरु सीधै यहाँ आएका होइनन् । रखाइनबाट बिस्थापित भएपछि थप सहज गन्तव्यको खोजी गर्दै आफन्त–साथीभाइको सम्पर्कबाट बंगलादेश, त्यसपछि भारत हुँदै उनीहरु नेपाल आएका हुन् ।

रिपोर्टिङका क्रममा हामीले भेटेका अधिकांश रोहिंग्याहरुले आफूहरुको पहिलो चाहना आफ्नै भूमि फर्किनु रहेको बताए । तर त्यसका लागि उनीहरुका केही शर्तहरु छन् ।

अधिकांश रोहिंग्याहरु म्यानमारमा आफूहरुमाथि हुने गरेको हिंसा र फरक व्यवहार अन्त्य हुनु पर्ने तथा नागरिकका रुपमा स्वीकार गरिनु पर्ने बताउँछन् ।

आफूहरुलाई नागरिकका रुपमा स्वीकार नगरिने तथा हिंसा अन्त्य नहुने हो भने फर्किने अवस्था नरहेको उनीहरुले बताए ।

शिविर २, ३ र ४ का अगुवा हुन् मौलवी इरफान । उनले आफूहरुको चाहना स्वदेश फर्किने रहेको तर त्यसका लागि हुँदै आएको दमन रोकिनु पर्ने बताए ।

साजिदा बेगम पाँच सन्तानसहित शिविरमा बस्दै आएकी छन । उनले एक वर्षअघि थाइराइडको अप्रेशन गर्नु पर्दा अति मुश्किलको सामना गर्नु परेको थियो । तस्बिर : बर्षा शाह/देश सञ्चार

उनले भने, ‘हामी सबै चाहन्छौँ घर फर्कौँ, तर अवस्था त्यस्तो छैन । हामीलाई रखाइन छोडेर अर्को क्षेत्रमा जानु पर्‍यो भने पनि स्थानीय अधिकारीबाट स्वीकृति लिनु पर्ने बाध्यता छ सामान्य अवस्थामा पनि । दमन रोकिनु पर्छ, नागरिकता पाउनु पर्छ र कब्जा गरिएका हाम्रो सम्पत्ती फिर्ता हुनु पर्छ ।’

त्यस्तो अवस्थाको ग्यारेन्टी नभएसम्म कठिनै भए पनि यहिँ (नेपाल) कै बसाई सहज रहेको मौलवी इरफानले बताए । इरफानको जस्तै भनाई रिजवानको छ । आमिर र साजिदा बेगमको भनाई पनि उस्तै छ।

रिजवानकी आमा साजिदाले भनिन्, ‘हामीलाई सजिलो छैन यसरी टहरामा बस्न, तर बंगलादेश र भारतमा भन्दा यहाँ सहज छ । देश फर्किने अवस्था नआएसम्म यहाँ बस्नुको विकल्प छैन ।’

ध्यान म्यानमारतिरै

राममन्दिर शिविरमा रहेका रोहिंग्या शरणार्थी, उनीहरु जस्तो असजिलो भए पनि नियमित रुपमा नमाज पढ्न भने छोड्दैनन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

नेपाल आएका रोहिंग्याहरुको पहिलो शिविर हो, बुढानिलकण्ठ नगरपालिका–११ राममन्दिरमा रहेको शिविर । राममन्दिर शिविरको दोस्रो लहरको सुरुको टहरामा बस्दै आएका नूर मोम्मदले रोहिंग्या सम्बन्धी समाचार हेर्दै थिए, हामी मंसिर पहिलो हप्ता रिर्पोटिङका लागि पुग्दा ।

मोबाइलमा म्यानमार नेतृ आङ साङ–सुकी आमहत्या अभियोगको बचाउका लागि हेग प्रस्तुत हुने खबर बढिरहेका थिए नूरले । सुकी डिसेम्बर दोस्रो हप्तामा रोहिंग्यामाथि भएको दमन र आमहत्यको अभियोगमा देशको बचाउनका लागि प्रस्तुत भइन् ।

मोबाइलमा रोहिंग्या सम्बन्धी समाचार हेर्छन् शिविरमा रहेका शरणार्थीहरु । तस्बिर : बर्षा शाह/देश सञ्चार

त्यसक्रममा उनले दिएको जवाफले नूरको मन कुँडियो । ‘उहाँले रोहिंग्या समुदायमाथि कुनै दमन भएको छैन भन्नुभयो, अतिवाद विरुद्धको अभियान मात्रै दाबी गर्नु भयो । तर हामी बेघर भएको यसै होइन । लाखौँ रोहिंग्याहरुले देश त्यसै छाडेका होइनन् । हामीमाथि चरम दमन भएको छ ।’

नूर जस्तै अरुहरुले पनि रोहिंग्या सम्बन्धी म्यानमारका समाचार खोजेर हेर्छन्, पढ्छन् । यसको प्रमुख कारण उनीहरुलाई आफ्नो समुदायका सम्बन्धमा भइरहेको पछिल्ला गतिविधि थाहा पाउनु र घर फिर्तिको कुनै सम्भावना खुल्छ कि भन्ने रहेको नूरले बताए ।

(शरण खोज्दै नेपालसम्म आएका म्यानमारका रोहिंग्याहरुका सम्बन्धमा देश सञ्चारका टंक ढकालले तयार पारेको विशेष रिपोर्टको यो तेस्रो अंक हो । क्रमशः बाँकी सामग्रीहरु प्रकाशित हुने छन् । यस शृङ्खलाका सम्पूर्ण तस्बिर देश सञ्चारकी बर्षा शाहले खिचेकी हुन्।)

पुस १७, २०७६ मा प्रकाशित