आफ्नै गाउँ फर्कि आएँ...

भारत गएका नेपालीहरु नयाँ वर्ष मनाउन घर फर्कन थाले, सीमामा सास्ती

Copy to clipboard
Copied!

धनगढी-सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत गएकाहरु नयाँ वर्ष नजिकिएसँगै घर फर्किन थालेका छन्। कैलालीको गौरीफण्टा र कञ्चनपुरको गडडाचौकीबाट दैनिक सयौंको संख्यामा नेपाल फर्किरहेका छन्।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा नयाँ वर्षलाई बिसु पर्वको रूपमा मनाउने चलन रहेको छ। यही पर्व मनाउन बषौंदेखि भारतमा रोजगारी गरिरहेकाहरु घर फर्किरहेका छन्। शुक्रबार गौरीफण्टा नाकाबाट भारतबाट मजदुरी गरि घर फर्किरहेका बाजुराको छेडेदह गाउँपालिकाका रमेश रोकायाले भने –‘भारत गएको ५ बर्ष भयो यसपाली बिसु मनाउन घर फर्के।’ उनले आफू जस्तै धेरै नेपाली बिसु मनाउन घर पर्किरहेको बताए।

गाउँघरमा रोजगारीका अवसर नहुँदा सुदूरका सबै जिल्लाका अधिकांश सर्वसाधारण मजदुरीको लागि भारतका विभिन्न सहरमा जाने गरेका छन्।
दैनिक सयौंको संख्यामा नेपालीहरु भारतबाट पर्किरहेका छन्।फर्कने क्रममा सिमामा दु:ख पाउने गरेको उनीहरुको गुनासो छ।

‘अर्काको देशमा काम गर्दाको दु:ख त छदै छ’ पहाडी जिल्ला बझाङको खप्तड छान्ना गाउँपालिकाका मेखराज थापाले भने-‘अर्को दु:ख विभिन्न चार्डपर्वका बेला सीमामा हुने सास्तीले झनै मर्कामा परेका छौं।’ उनले सिमामा बिभिन्न ठाउँमा पैसा तिर्नु परेको दुखेसो गरे।

यस्तै बैतडीका कृष्ण बहादुर बिष्टले भारतको बेंगलोरमा तिन बर्षे बसाईपछी घर फर्किदा सिमा नाकामा भारतीय सुरक्षाकर्मीले बिभिन्न किसिमका डर धम्की दिई पैसा असुल्ने गरेको दुखेसो गरे।

नयाँ बर्ष मनाउन भनेर हसिलो मुहार ल्याएर आएका नेपालीको सिमा नाकामा पुगे पछि अध्यारो हुने नौलो कुरो होईन। प्रदेश सरकारले सुदुरपश्चिम प्रदेशमै रोजगारी सिर्जना गर्ने कुरा भाषणमै सिमित गरेको उनिहरुको आरोप छ। तर सरकारले आश्वासन मात्रै दिएको र पहिलाको जस्तो बाटैमा लुटिने घटना कम भए पनि सिमानाकामा सुरक्षा जाँचका नाममा हुने सास्ती भने अझै उस्तै रहेको महेन्द्रनगरका सन्तोष बिष्ट बताए।

दशै तिहार जस्ता चार्डपर्वमा अधिकांश नेपालीहरु भन्सारको सहजताका लागि सुरक्षाकर्मीलाई पैसा तिर्नुपरेको बताएका छन्। समस्या अझ धेरै के छ भने आफ्नै नेपालीहरुले पनि भारत बाट आउदै गर्दा अटोरिक्सावालाले पनि आफुबाट दोब्बर पैसा असुल्ने गरेको अछामका हरि भाटले गुनासो गरे।

२ सय लिनु पर्नेमा ५÷ ६ सय भारु लिने गरेको उनले बताए। धनगढीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकीबाट दिनहुँ ठुलो संख्यामा नेपालीहरु नयाँ बर्ष मनाउन घर फर्किरहेका छन्। नाकामा सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त हेल्प डेस्क राखिए पनि घर फर्किनेको आवागमनमा सहज हुन सकेको छैन।

सुदुरपश्चिम प्रदेशक मुख्य मन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्रीको पद सम्हाले लगत्तै आफू भारत रहँदा धेरै दु:ख भोगेकोले बर्ष दिनमा सबै युवालाई स्वदेशमा काम गर्ने अवसर जुराउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

अहिले उनले पद सम्हालेको झण्डै डेढ बर्ष बिते पनि प्रदेशमै रोजगारीको अवसर सिर्जना गर्ने कुरा त परै जाओस भारतमा दुख गरी कमाएको पैसा सुरक्षित भित्र्याउने अवस्थासम्म बन्न सकेको छैन।

चैत २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्