डिभी चिठ्ठा बन्द गर्न जोड, सीमामा पर्खाल

Copy to clipboard
Copied!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले एक वर्षको अवधिमा निकै राम्रो काम गरेको दाबी गरेका छन् ।

गएको वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रपति ट्रम्पले कांग्रेसमा स्टेट अफ युनियन एड्रेस (सम्बोधन) गर्दै एक वर्षको अवधिमा आफ्नो प्रशासनले असाधारण सफलता हात पारेको बताए ।

ट्रम्पले नेपाली समय अनुसार बुधबार बिहान पौने ८ बजे सम्बोधन गरेका हुन् ।

अमेरिकी सपना

आफ्नो विस्तारित सम्बोधनको क्रममा ट्रम्पले ‘न्यु अमेरिकन मोमेन्ट’ आएको बताएका छन् । अमेरिकी सपना बाँच्नका लागि अहिलेको समय निकै उपयुक्त रहेको र यस्तो अवस्था यसअघि कहिले नआएको ट्रम्पको भनाई छ ।

उनले अफ्रिकन अमेरिकनमा रहँदै आएको बेरोजगारीको समस्या आफ्नो कार्यकालमा निकै कम भएको दाबी गरे । यसले अमेरिकालाई थप समानता तर्फ लगेको उनको भनाई छ ।

सम्बोधनको क्रममा उनले दुवै पार्टी (रिपब्लिकन र डेमोक्र्याटिक), सबै रंग र समुदाय तथा क्षेत्रका व्यक्ति एक भएर अमेरिका र अमेरिकी सपना देख्नेको भविष्य राम्रो बनाउन सकिने बताए ।

ग्वान्टानामो बे र आइएस

ट्रम्पले क्युवामा रहेको विवादास्पद बन्दीगृह ग्वान्टानामो बे खुला राक्ने पनि बताए ।

यस्तै बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) विरुद्धको अभियान जारी रहने र उसलाई निर्मुल पारेरै छाड्ने ट्रम्पले आफ्नो सम्बोधनको क्रममा बताएका छन् ।

परमाणु हतियार

ट्रम्पले सम्बोधनको क्रममा देशको परमाणु क्षमता विस्तार गर्नेमा जोड दिए । उनले भने ‘हामीले हाम्रो परमाणु क्षमतालाई विस्तारित र थप आधुनिक बनाउनु पर्नेछ ।’

तर यो कहिले प्रयोग गर्नु पर्ने अवस्था नआउनेमा आशावादी रहेको पनि उनले बताए ।

तर आउन सक्ने चुनौति र समस्यासँग जुध्नका लागि आफूलाई बलियो बनाइराख्नु भने आवश्यक रहेको उनले बताए ।

भविष्यमा कुनै दिन विश्वका सबै देश एक ठाउँमा आएर भएका परमाणु हतियार नष्ट गर्ने समय आउने आशा रहेको तर अहिले त्यस्तो अवस्था भने नरहेको उनको भनाई छ ।

आप्रवासी नीति

आप्रवासी नीतिमा कडा रुपमा प्रस्तुत हुँदै आएका राष्ट्रपति ट्रम्पले केही दिनअघि सार्वजनिक भएको १८ लाख आप्रवासीलाई १० देखि १२ वर्षको अवधिमा अमेरिकाको नागरिकता दिने सम्बन्धी नियमले सबै आप्रवासीले समेट्ने बताए ।

यो योजना अन्तर्गत बालबालिकाको रुपमा आफ्ना अभिभावकसँगै अमेरिका छिरेका जो अहिले युवा भएका छन् तिनिहरु समेटिने छन् ।

यसले सबैलाई समेट्ने र बाँकी अवैध आप्रवासीलाई उनीहरुकै देश फर्काउने उनले बताए । तर ट्रम्पको आप्रवासीसहितका नीतिको विरोधमा रहेको केही डेमोक्र्याटिक सिनेटरले सम्बोधनको क्रममा सुन्तला रंगको रिबन बाँधेका थिए ।

सम्बोधनको क्रममा उनले मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउनु पर्नेमा पनि जोड दिए ।

यस्तै उनले अमेरिकालाई पूर्णरुपले सुरक्षित बनाउनका लागि डिभी चिठ्ठा कार्यक्रम बन्द गर्नु पर्नेमा पनि जोड दिएका छन् ।

यसैगरी अमेरिकामा रहेका व्यक्तिले आफ्ना परिवारका सदस्यलाई बोलाउन पाउने व्यवस्थामा पनि कडाइ गर्नु पर्ने वा त्यसलाई सीमित गर्नु पर्ने ट्रम्पको भनाई छ ।

– एजेन्सीहरुको सहयोगमा
माघ १७, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्