लाखौँ बेल्चा बोक्ने हातहरूले लेखिरहेछन् खाडीको बाफिलो बालुवामा दीनहीनको कथा

सेतो सर्ट, कालो प्यान्ट, कालै चस्मा, तेरे नाम स्टाइलको हेयर कट, गहुँगोरो वर्ण, उचाइ अन्दाजी ५ फिट ६ इन्च उसलाई हेर्दा लाग्थ्यो– ऊ कुनै पर्दाको उदीयमान हिरो हो। र, ऊ सडकछेउको पेटीमा कुनै एक पात्रको चरित्र निर्वाह गर्दै छ।
सडक व्यस्त छ। बाटोको एक किनारदेखि अर्को किनारसम्म लामो लाइन छ तैपनि कसो–कसो त्यो भीडमा मेरो आँखा उतैतिर पुग्छ, म उसलाई हेरिरहेकी थिएँ। उसले पनि नजानिँदो तरिकाले बेला–बेला मलाई नै हेर्थ्याे।
त्यो भीडमा हाम्रा आँखा आपसमा लुकामारी खेल्दै थिए, बारम्बार उसैसँग आँखा ठोक्किरहेपछि, यो भीड के को हो ? भन्ने कौतुहल बढ्यो, भीड छिचोल्दै म नजिक पुगेँ, मानिसहरू लामबद्ध तरिकाले लाइनमा उभिएका थिए, बानेश्वरको पञ्चकुमारी मन्दिर नजिकै रहेको एक मेनपावर कम्पनीमा मलेसिया जानेहरूको भीड रहेछ। के को भीड हो भन्ने कौतुहल त मेटियो तर त्यो मान्छेसँग किनकिन एकपटक बोलुँबोलुँ लाग्यो।
लाइनमा भएको भए अलि असजिलो हुने थियो तर ऊ सडक किनारको किराना पसलको पेटीमा बसेकाले मलाई बोल्न सजिलो भयो। नजिकै पुगेँ र मन्द मुस्काएँ अनि सोधेँ हजुरको पालो कतिबेला आउँछ होला है! भीड त साह्रै लामो छ त मैले भनेँ। ऊ एकछिन मौन रह्यो। हातमा बाँधेको घडी हेर्यो र बोल्यो अझै २ घण्टा लाग्छ कि, किराना पसलका दाइ सामान बेचिरहेका थिए, अक्सर म त्यही पसलबाट सामान लिएर जाने हुँदा दाइले ‘बिन्दु बिहान–बिहान के लिन आएकी’ भनेर सोधे।
मेरो कोठा बाटोको नजिक भएकाले बिहानको गाडीको आवाज अनि मान्छेहरू बोलेको प्रस्टै सुनिन्थ्यो, त्यो दिन बिहानदेखि नै अलि धेरै मान्छेको आवाज सुनिरहेको थियो। त्यसकारण पनि त्यो दिन म ६ बजे नै उठेकी थिएँ। टुथपेस्ट सकिएकाले म किराना पसल आएकी थिएँ। दाइसँग मैले सामान मागेँ। दाइले सामान दिँदै थिए।
उसले ‘दाइ मलाई एउटा चुरोट दिनुस् न’ भन्यो, बोली पनि कस्तो मीठो उसको। तपाईं कहाँबाट आउनुभएको भनेर सोधेँ, लाइटरले चुरोट सल्काउँदै उत्तर दियो– जनकपुर।
मलाई किन–किन उसको हरेक क्रियाकलाप हेरिरहुँजस्तो लाग्यो, चोरऔँला र माझीऔँलालाले चुरोट च्याप्दै धुवाँ उडाइरहँदा मैले उसलाई नियालिरहेँ। उसको साइलीऔंलाको माथ्लो भाग थिएन, कोठा फर्किन लागेकी म किन–किन मेरा पाइला अगाडि बढेनन्।
तपाईंको औँला के भएको? मैले हत्तपत्त सोधिहालेँ। उसले पहिलोचोटि मेरो आँखामा एकटकले हेर्यो र भन्यो– मेसिनले काटेको, ४ वर्षअगाडि टिन काट्ने मेसिनले काटेको नि! अलि–अलि मैथली लवज आउने भए पनि उसको नेपाली प्रस्ट थियो।
तपाईंको नाम के हो नि! सोधाइको प्रतिउत्तरमा उसको जवाफ थियो राकेश यादव, जनकपुर उमेर २४ वर्ष। आगाडि थप्यो। म पहिले ४ वर्ष बसेर आएको अब फेरि मलेसिया जाने सोचेर आवेदन दिएर, अन्तर्वार्ताका लागि आएको, उसले एकै श्वासमा बोल्यो। १९ वर्षको कलिलो उमेरमै जानुभएको रै’छ त पहिलो पटक मैले थपेँ। ‘उम् जानुपर्ने त अझै पहिले थियो तर म प्लसटु सकाएर गएँ’, उसले भन्यो।
मलाई उसको कुराले उकुसमुकुस बनायो र सोधेँ, ‘तपाईंलाई प्लसटु भन्दा नै अगाडि जानुपर्ने भएको रहेछ किन?’
बाबुले रिक्सा चलाएर जोडेको २–४ पैसा भए पनि त जोगिने थियो नि! आखिर पढेर के नै भयो र ! जानु खाडी छँदै छ भने।
उसको भावुकताले मलाई पनि एकछिन गाह्रो बनायो। पसलको दाइ हाम्रो कुराकानी सुनिरहेका थिए। ऊ आफैँ सुरमा बोलिरहेको थियो– नेपालमा त्यो पनि प्रदेश २ मा कसैले जन्म लिनु नपरोस्। न शिक्षा गतिलो छ, न स्वास्थ्य। उसको कुरालाई मैले बीचमै रोकेँ। अस्पताल छन् त प्रदेश २ मा पनि। म पुगेको छु। उसले भन्यो– पुग्नु र त्यहाँको जीवन बाँच्नु फरक छ, सुदूरपश्चिमको बाटो भौगोलिक हिसाबले असहज छ भने हाम्रोतिर बाटो सहज छ तर हाम्रोतिरका मान्छेको मानसिकताचाहिँ साह्रै असहज छ। सबैलाई भन्न खोजेको हैन, ती मान्छे अनि ती मान्छेलाई भोट दिएर जिताउने हामी मूर्ख हाैँ जस्तो लाग्छ अहिले।
के गरे खै तिनले? अहिले म, मेरो काकाको छोरा सबै जना खाडी भासिनुपर्ने भएसी। तपाईं हेर्न जानुस् प्रदेश २ का अलिअलि जान्ने–सुन्ने आफूलाई आलिक ठालु मान्ने र सम्पन्न भनिने वर्ग काठमाडौँमा छन्। बाँकी युवा मजस्तै खाडीमा छन्। छन् त केवल बालबालिका र वृद्धवृद्धा।
पहिले राणा अनि राजाको शासन, लडेर ल्याएको लोकतन्त्र अनि गणतन्त्र रे! अनि देशको बदलिँदो संरचनासँगै बनेको प्रदेश अनि स्थानीय सरकार अरे। के फरक छ र? अहिले र पहिलेमा नेपाली खाडीमा भासिनै परेको छ। ठूला सपना देखाएर सहर पसेका नेताले किन देख्दैनन् राहदानी विभागमा मान्छेको ओइरो, बालुवाटार जान त त्यही बाटो हुँदै जानुपर्छ होइन र! सायद गाडीको कालो सिसाले छोकिँदो हो बाहिरी दृश्य तर आफ्नै मनको मैलो कति दिन लुकाउन सक्छन्?
काठमाडौँ बसेर, चिल्ला गाडी चढेर हिँड्नेहरूलाई चुनाव आएपछि मात्रै हाम्रो याद आउँछ, भोटर लिस्टमा नाम छ कि छैन भनेर खोज्दै आउँछन्, बाबुको जिन्दगी रिक्सा घिसार्दै गयो।
आमाको पायल्सको सानो अपरेसन पनि गराउन नसक्दा मरिन्। स–सना भाइ–बैनी छन्। एक मनले यिनीहरूलाई पढएर ठूलो र असल मानिस बनाउँला भन्ने लाग्छ। अर्को मनले सोच्छु आखिर मैले पनि त १२ पास त गरेकै हो नि, तर म र मेरो आमा–बाबीच के फरक? उनीहरू कालो अक्षर नपढी हातमा ठेला उठाए। मैले पढेर पनि ठेला पर्ने गरी काम गर्नुपरेकै छ।
वर्णको फरकले हो कि, वर्गको फरकले हो कि जातको फरकले हो कि? आखिर किन? हाम्रो प्रदेश यति कमजोर? लामो सुस्केरा हाल्दै झोलाबाट पानी निकालेर उसले पिउन थाल्यो।
उसमा आफ्नो प्रदेश अनि प्रदेशबाट पलायन नेताप्रतिको आक्रोश आँखामा प्रस्ट झल्किन्थ्यो। बोतलको पानी पिउँदै थियो ऊ। मलाई सोध्न मन लाग्यो हजुरले भोट दिएका नेता के भन्छन् त?
भैगो उनीहरूका कुरा नगरुम् सम्झिँदा मन सम्हाल्नै गाह्रो हुन्छ मलाई। ठीकै छ तपाईंलाई गाह्रो नहोस् म सोध्दिनँ।
एकछिनको मैनतापछि ऊ फेरि बोल्छ, मेरी आमा यति छिट्टै मर्ने थिइनन्। सायद उनीहरूले केही मद्दत गरेको भए।
त्यतिबेला म मलेसियामै थिएँ, पुगेको भर्खर १ महिना भएको थियो। घरमा आमा बिरामी २ छाक टार्न मुस्किल हुँदा बूढो भएको शरीरसँगै रिक्सा लतार्नुपर्ने बाध्यता थियो बुबाको। आमा बिरामी भएको थाहा पाएपछि छिमेकी दाइ रामलाललाई अस्पताल लग्न भनेँ, अस्पताल पुगेपछि थाहा भयो, घाउ साह्रै जटिल भएकाले काठमाडौँ लैजानुपर्छ यहाँ यो सबै उपचार सम्भव छैन भनेछ डाक्टरले।
छिमेकी दाइलाई भनेँ, ‘पैसा जसरी पनि म पठाउँछु दाइ आमाको उपचार गरिदेऊ।’ झट्ट सम्झिएँ भाइ–बहिनी साना छन् छिमेकी दाइ काठमाडौँको बारेमा त्यति जानकार छैनन्। ०६२/६३ को जनआन्दोलनमा एक पटक गएका थिए, त्यसपछि उनलाई खासै जानुपरेको थिएन।
उनका एक भाइ काठमाडौँमा सानोतिनो व्यापार गर्थे उनी पनि ०६२ कै जनआन्दोलनमा परेर एउटा खुट्टा घुमाए। त्यसपछि भाइलाई पनि जनकपुरमै ल्याएर रेखदेख गर्नुपरेको छ। अब को छ त काठमाडौँमा मलाई सहयोग गर्ने?
मेरो आफन्ती कोही नभेटिएपछि मैले अन्तिम विकल्पको रुपमा उनै भोट दिएर जिताएका नेतालाई फोन गरेँ, ‘उनले म अहिले मिटिङमा छु २ घण्टापछि फोन गर्न भने।’
उनको २ घण्टा ३ दिनसम्म पनि आएन। लगातार ३ दिनसम्म फोन गरिरहेँ, आमालाई साह्रो–गाह्रो भएको छ भन्ने बुझेको थिएँ। उनले चौथो दिन फोन उठाए, हुन्छ आमालाई ल्याउनु म मेरो मान्छे पठाइदिउँला उनले सबै सहयोग गरिदिन्छन् भनेको सुन्दा पनि मनलाई राहत मिल्यो।
ओछ्यानमा लत्रिएकी आमा निको भइन्जस्तो भान भो। मैले यता छिमेकी रामलाल दाइलाई खुसी हुँदै फोन गरेँ- दाइ फलानो नेताले आउनु म सहयोग गर्छु भनेका छन्। तपाईंले काठामाडौँ जाने व्यवस्था मिलाउनुस् के भनेको थिएँ। दाइको घुँक्क–घुँक्क आवाज सुनेँ। दाइ के भो किन रोएको भन्दै थिएँ, दाइले आमा अब रहनु भएन राकेश भन्नुभो।
मेरो दिमागले काम गर्नै छाड्यो। घर फर्किम्, ऋण लगाएर आएको छु। फ्री भिसा फ्री टिकट भने पनि यताउता कमिसनको खेलले गर्दा ३ लाखजति ऋण लागेको छ। दुई वर्षपछि जेनतेन अलिअलि कमाइ गरेपछि घर फर्किएँ।
घर फर्किएपछि आमालाई गुमाउनुपरेको पीडा र हातभरि बुबाको हातको ठेला देखेर अब विदेश जान्नँ भन्ने अठोट लिएँ।
दिन, बित्यो, महिना बित्यो वर्ष बित्यो स्थानीय तहको निर्वाचन सकियो तर भत्भती पोलेको मनले पनि फेरि मतदान गरेँ। यो आशमा कि फेरि मेरो आमाको जस्तै ज्यान जोखिममा हुँदा यिनले समयमै रेस्पोन्स गरिन्। भोट दिने बेला मतदान पेटिकामा मत पट्याउँदै गर्दा भगवान्लाई सम्झिएँ, यो मत खेर नजाओस्। जनतालाई सकेसम्म छिटो रेस्पोन्स गर्ने र दुःखी र गरिबलाई माया गर्ने नेता यो ठाउँले पाओस् भन्दै कामना गरेँ।
बैनीलाई ठूलो रहर छ नर्स बन्ने, बैनीलाई पढाउने ठूलो रहर छ। कानुनले दाइजोलाई बहिष्कार गरे पनि मधेसमा अझै पूर्ण रुपमा बहिष्कार हुन सकेको छैन।
पढे/लेखेको केटालाई बैनी दिन पनि मैले दाइजो दिन सक्ने हुनुपर्छ। त्यसकारण भाइबैनीको उज्ज्वल भविष्यका लागि पनि मैले बाहिर जानुपर्छ। आमा गुमाएँ, अब अरु गुमाउन चाहन्नँ।
आमा गुमाएपछि अब कहिल्यै विदेश जान्नँ भन्ने सोचेको म। यतिका वर्ष नेपालमा बस्दा के पाएँ मैले? निरासा, गरिब हुनुको आत्मबोध, बेरोजगारी न हो।
त्यसलै देश बनेछ भने फेरि आउँला हैन भने आमाको अन्तिम सास नेपालमा छोरोको मलेसिया हुन्छ फरक त्यत्ति न हो।
आँखाको डिलमा टिलपिलाएका आँसु खसाल्न सकिनँ। पसलको दाइको आँखा पनि रसाएका थिए। हाम्रो आँखाको भाव बुझेछ क्यारे उसले, तपाईंहरू मेरो कथाले दुःखी नहुनु है! किनकि मजस्ता लाखौँ बेल्चा बोक्ने हातहरूले खाडीको बाफिलो बालुवामा दीनहीनको कथा लेखिरहेका छन्।
पहिले राणा अनि राजाको शासन, लडेर ल्याएको लोकतन्त्र अनि गणतन्त्र रे! अनि देशको बदलिँदो संरचनासँगै बनेको प्रदेश अनि स्थानीय सरकार अरे। के फरक छ र? अहिले र पहिलेमा नेपाली खाडीमा भासिनै परेको छ। ठूला सपना देखाएर सहर पसेका नेताले किन देख्दैनन् राहदानी विभागमा मान्छेको ओइरो, बालुवाटार जान त त्यही बाटो हुँदै जानुपर्छ होइन र! सायद गाडीको कालो सिसाले छोकिँदो हो बाहिरी दृश्य तर आफ्नै मनको मैलो कति दिन लुकाउन सक्छन्?
मजस्ता युवा कि खाडीमा छन्, कि त नमस्ते हजुर गर्दै नेताको झोलामा। कोबाट के आस गर्नु, सुन्नेहरू एकछिन कठै भन्छन् तर यथार्थ पोल्ने हुन्छ।
उताबाट कसैले बोलायो ‘राकेश’ तपाईंको कागजात लिएर आउनू। ऊ झोला बोकेर बाटोको पल्लो छेउ पुग्यो। पसलको दाइ र म एकअर्कासँग आँखा जुधाउन नसक्ने भएका थियौँ भिजेका परेलासँगै दाइ ग्राहकलाई सामान दिन थाले। म टुथपेस्ट लिएर फर्किएँ।