अनुदानमा पाइने मलको टुंगो छैन, बजारमा आएको मल महँगोमा किन्नुपर्ने बाध्यतामा किसान

Copy to clipboard
Copied!

दाङ – किसान रामबहादुर चौधरी धान रोपाइँको लागि चाहिने यूरिया मलको लागि सहकारी धाउँदा-धाउँदै थाकिसके। तर, अनुदानमा आउने रासायनिक मल पाउन सकेनन्।

धानको बीउ हुर्केर बुढो हुन थालिसक्यो। धान रोपाइँको लागि चाहिने मल नभएपछि ढिलोगरी रोपाइ थालेका रामबहादुरले लमही बजारको एक एग्रोभेट पसलबाट महँगोमा यूरिया मल किनेर ल्याउनु पर्‍यो। दोब्बरभन्दा बढी मूल्य हाल्नु पर्‍यो। सरकारले उपलब्ध गराउने अनुदानमा पाइने यूरिया मलको मूल्य ८ सय ८० रुपैयाँ प्रतिबोरा कायम गरिएको छ।

एक बोरामा ५० किलो हुन्छ। तर, बजारमा ४५ किलोको बोरा भएको मल बिक्री भइरहेको छ। जसको मूल्य २ हजारदेखि २३ सयसम्म किसानले खरिद गर्ने गरेका छन्।

डिएपीसमेत महँगोमा किसानले किन्नुपर्ने बाध्यता रहेको पाइएको छ। अनुदानमा दुई हजार तीन सय ३० रुपैयाँमा पाइने डिएपी किसानले दुई हजार ८ सयदेखि तीन हजार दुई सय रुपैयाँसम्ममा किनेको पाइएको हो। ‘अनुदानको मल आउँछ कि भनेर कुरियो। मल आएन। बाध्य भएर महँगोमा मल किन्नु पर्‍यो,’ किसान रामबहादुरले भने, ‘तेब्बर बढी मूल्य तिर्नु पर्‍यो।’

सरकारले अनुदानको रासायनिक मल किसानलाई उपलब्ध गराउन सकेको छैन। जसको मारमा किसान परेका छन्। दाङ देउखुरीका अधिकांश किसान आफै कृष्णनगर, बहादुरगञ्ज पुगेर भारतबाट आएको रासायनिक मल आफै ढुवानी गरेर ल्याएको बताउँछन्।

‘सरकारले मल दिन सकेन। खेती त गर्नै पर्‍यो। जग्गा बाँझो राखे कारबाही भोगिने डर। खेती गरौँ मल छैन। यस्तो बाध्यतामा हामी किसान छौँ,’ किसान हरिराम चौधरीले भने, ‘कि सरकारले मल पुर्‍याउन सक्नु पर्‍यो, नभए बोर्डर खुलाउनु पर्‍यो।’

हरेक वर्ष मलको समस्या यसैगरी बल्झिने गरेको छ। जब वर्षे खेती सुरू हुन्छ, त्यसपछि मलको समस्याले सताउँछ। खेती सुरू हुने बेलामा बल्ल मलको खोजी हुन्छ। ‘हामीलाई प्राप्त हुने अनुदानको रासायनिक मल किसानलाई दियौँ। यसपाली त यूरिया आउँदै आएन। डिएपी चाहिएको जति आएन,’ कान्तिपुर कृषक सहकारी संस्थाका व्यवस्थापक तिर्सन अधिकारीले भने, ‘किसान आफै बोर्डरनजिक पुगेर मल ल्याएर आउनुपर्ने बाध्यात्मक अवस्था आयो।’

यस सिजनमा गतवर्ष मलको खासै अभाव थिएन। कोभिडको समयमा किसानलाई मल पुर्‍याउन सकिएको तर, यसपाली निकै सकस परेको अधिकारीले सुनाए। ‘कोभिडको बेलामा त मल आयो। तर, अहिले आएन,’ उनले भने, ‘मल नहुँदा किसानलाई यसपाली ठूलै छटपटी भयो।’

किसानले डिएपी र यूरिया मल भारतसँग सीमा जोडिएका बजारबाट खरिद गरेर ल्याएका छन्। पहुँच र साधन भएका किसान त्यहाँसम्म पुगे। जसको पहुँच र साधन छैन। उनीहरु मल बिनै धान रोपाइँ गर्न बाध्य छन्। जिल्लामा ३९ हजार ४ सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ। यसपाली मलको अभावले गर्दा असार १५ सम्म जम्मा १० प्रतिशत मात्रै धान रोपाइँ भएको थियो।

परीक्षण गर्ने ल्याब छैन


बजारमा देखिएको रासायनिक मलको गुणस्तरको बारेमा भने सबै अनविज्ञ छन्। किसानलाई धान रोपाइँ गर्न मल चाहिएको छ। बजारमा जस्तो मल पाइन्छ, त्यस्तै मल खरिद गरेर किसानले छर्नुपर्ने अवस्था छ। तर, त्यो मलको गुणस्तरीय छ कि छैन भन्नेबारेमा कसैलाई थाहा छैन्।

‘बजारमा पाइने मल खै कस्तो छ। यसबारेमा त हामी केही भन्न सक्दैनौँ,’ कृषि सामाग्री कम्पनी लिमिटेड लमही शाखाका प्रमुख घनश्याम कहारले भने,‘यूरियामा ४६ प्रतिशत नाइट्रोजन अनिवार्य हुनैपर्छ। यो पत्ता लगाउने ल्याब दाङमा छैन।’

सामान्य खालको ल्याब बाँके खजुरामा रहे पनि परीक्षण गरिएको छैन्। मलको गुणस्तरताको बारेमा समेत अनुगमन गरिएको छैन। किसानले महँगोमा मल खरिद गरिरहेको भए पनि सरकार छ छैन भन्नेबारेमा समेत अनुभव गर्न नसक्ने अवस्था छ। स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र पर्ने बजारहरुमा अनुगमन गर्ने अधिकार रहे पनि किसानलाई परेको समस्याको बारेमा चासो दिएको छैन।

जिल्लामा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कप्रोरेशनबाट अनुदानमा प्राप्त हुने रासायनिक मल सहकारी संस्थालाई उपलब्ध गराउने गरिएको छ।

सहकारी संस्थामार्फत बल्ल किसान माझ मल पुग्ने गरेको हो। तर, जिल्लामा डिएपी र यूरिया मल छैन। कृषि सामाग्री कम्पनीका गोदाम रित्ता छन्।

जिल्लामा तत्कालको लागि एक हजार मेट्रिक टन डिएपी र एक हजार पाँच सय मेट्रिक टन यूरिया मल आवश्यक पर्ने कृषि सामाग्री कम्पनी लिमिटेड घोराहीका प्रमुख टिआर गौतमले बताए।

‘असार अन्तिम सम्म मल आउँछ भनेर जानकारी आएको छ,’ उनले भने,‘हामीले माग गरेजति मल आयो भने केही सहज हुने छ।’

असार १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्