वर्षमा एक दिन होइन, आफ्नो खेतमा सधैँ सरकार आएको हेर्न चाहन्छन् किसान (फोटोफिचर)

Copy to clipboard
Copied!

दाङ – लमही नगरपालिका–८ धनपुरुवा निवासी फुचु चौधरीले पाँच कट्ठा जग्गा ठेक्कामा लगाएकी छन्।
साना किसान फुचु सामान्य खेतीपाती गरेर गृहस्थी चलाउँछिन्।

उनले जोत्ने खेतमा बुधबार लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको नेतृत्वमा रोपारा पसे। हातमा धानको बीउ बोकेर खेतमा पसेका रोपाराले फुचु चौधरीको खेतमा धान रोपेर सके।

किसानलाई उत्साहित गर्न राष्ट्रिय धान दिवस मनाउन लमही नगरपालिकाले साना किसानको खेत रोजेको हो। राप्ती नदीको किनारमा पर्ने धनपुरुवा गाउँमा सतह सिँचाइको सुविधा छैन। यहाँका किसानले जमिनमुनिको पानीबाट धान खेती गर्दै आएका छन्।

‘पानीको समस्या छ। बिजुलीको बिल तिर्नुपर्छ। सरकारले बिजुली निःशुल्क गरे सहज हुन्थ्यो कि’, चौधरीले भनिन्, ‘सरकारले किसानको समस्या बुझिदिए हुन्थ्यो।’

धान उत्पादक किसानले मल, बिउको समस्या अहिले पनि भोगिरहेका छन्। केन्द्र र प्रदेश सरकारमातहत रासायनिक मल उपलब्ध गराउने जिम्मेवारी रहेको तर किसानले मल पाउन नसक्दा खेती गर्न समस्या परेको नगर प्रमुख जोगराज चौधरीले बताए।

‘किसानका सबै दुःख र समस्या थाहा छ। ती समस्या समाधान गर्न हामी प्रतिबद्ध छौं’, उनले भने, ‘हामी आत्मनिर्भर हुन आवश्यक छ।’

धान दिवस मनाउन जनप्रतिनिधि र कर्मचारी किसानको खेतसम्म पुगे। वर्षको एक दिन मात्रै नभएर हरेक दिन किसानको खेतमा सरकार पुग्ने वातावरण बनाउन किसानले माग गरेका छन्।

उपप्रमुख लक्ष्मी योगीले किसानलाई प्रोत्साहनको खाँचो रहेको बताइन्। किसानलाई धान खेतीमा आकर्षित गर्न स्थानीय सरकारले योजना बनाएर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए। धान दिवस मनाउन पुगेका जनप्रतिनिधि र कर्मचारीले हिलोसमेत खेलेका थिए।

असार १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्