भारतको सिक्किम सरकारले ‘कबड्डी – ४’ को प्रदर्शनमा लगायो प्रतिबन्ध

Copy to clipboard
Copied!

झापा – नेपाली भाषी बाहुल्य रहेको भारतको हिमाली सिक्किममा चलचित्र कबड्डी – ४ को प्रदर्शनमा प्रतिबन्ध लागेको छ।

सिक्किमका मुख्यमन्त्री पिएस गोलेले मंगलबार सूचना जारी गर्दै उक्त चलचित्रको प्रदर्शनमाथि प्रतिबन्ध लगाएका हुन्।

सूचनामा मुख्यमन्त्री गोलेले ‘चलचित्रमा देखिएको विवाद समाधान नहुन्जेल प्रदर्शनमा प्रतिबन्ध लगाइएको’ उल्लेख गरेका छन्।

खासगरि बौद्ध धर्मावलम्बी सम्बन्धि दृश्यमा गलत सूचना दिने प्रकारका दृश्यले समाजमा गलत सूचना जाने भएकाले उक्त चलचित्रमाथि प्रतिबन्ध लगाउने निर्णय राज्य सरकारले लिएको मुख्यमन्त्री गोलेका प्रेस सल्लाहकार चन्द्रप्रकाश भट्टराईले देशसञ्चारलाई बताए।

सिक्किममा पनि बौद्ध धर्मावलम्बीहरूले उक्त चलचित्रका केही दृश्यमाथि आपत्ति प्रकट गर्दै आएका छन्।

चलचित्रमाथि प्रतिबन्ध लगाउने राज्य सरकारको निर्णय स्वागतयोग्य भएको सिक्किमका बौद्ध धर्मावलम्बीहरूले प्रतिक्रिया दिएका छन्।

 

जेठ ३१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्