अव्यवस्थित पार्किङले झापाको बिर्तामोड अस्तव्यस्त, चौडा सडक पनि साँघुरा बन्दै

Copy to clipboard
Copied!

झापा – जति ठाउँ विकसित हुँदैछ, त्यति नै जनघनत्व बढ्दै गएर त्यस्ता ठाउँ अस्तव्यस्त बन्दै जाने गरेका छन्। त्यसरी कुनै ठाउँलाई अस्तव्यस्त बनाउने एउटा कारण अनियन्त्रित सवारी साधनको पार्किङ पनि हो।

झापाका विभिन्न शहरमा सवारी साधनका लागि व्यवस्थित पार्किङ सुविधा नहुँदा सडक साँघुरो हुनेदेखि शहर नै कुरुप भइदिन्छ। त्यस्तै एउटा शहर हो झापाको बिर्तामोड। पूर्वको व्यस्त शहरको रुपमा चिनिँदै गएको बिर्तामोड जहाँ पायो त्यही सवारी साधन पार्किङ गरिनाले कुरुप बन्दै गएको छ।

साँघुरा सडकमाथि जथाभावी सवारी साधनको पार्किङ। मिलाएर राख्न पनि सिकाउनु पर्ने अवस्था। झन् भद्रपुर रोड त दुई लेनको सडक पनि सवारी साधनको अव्यवस्थित पार्किङले एउटै लेन जस्तो देखिन्छ। शनिश्चरे रोडको हालत पनि उही छ।

बिर्तामोड नगरपालिका क्षेत्रमा अव्यवस्थित पार्किङका कारण शहर अस्तव्यस्त बन्दै गएको हो। व्यस्त बजारमा यत्रतत्र रुपमा राखिएका सवारी साधनका कारणले सडकका साथै बजार नै अव्यवस्थित बन्दै गएको छ।

अव्यवस्थित रुपले राखिएको कार, भ्यान, मोटरसाइकल तथा अटोरिक्साका कारण बटुवाले हिँड्ने बाटोसमेत पाउने अवस्था छैन। मानिसलाई किनबेच गर्नसमेत समस्या छ।

शहरको पार्किङलाई व्यवस्थित गर्ने पहिलो दायित्व नगरपालिकाकै हो। वर्षौंदेखिको यो समस्यालाई समाधान गर्न नयाँ कार्यनीति र योजना बनाएर व्यवस्थित गरिने नगरप्रमुख पवित्रा महतारा प्रसाईं बताउँछिन्।

उनी भन्छिन्, ‘यो समस्या तत्काल आएको समस्या होइन। पहिलादेखि नै हो। दीर्घकालीन योजना बनाएर पार्किङ समस्या समाधान गर्ने लक्ष्य नगरपालिकाले राखेको छ।’

बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिका तथा ट्राफिक प्रहरीसँग समन्वय गरेर दीर्घकालीन योजना बनाएर काम गर्ने संघका अध्यक्ष प्रकाश शिवाकोटीको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक अशोककुमार जबेगुका अनुसार सवारी साधन पार्किङका लागि छुट्टै स्थान नतोकुन्जेल परिस्थितिमा सुधार आउँदैन।

जबेगु भन्छन्, ‘पार्किङका लागि वैकल्पिक व्यवस्था गरिदिए समस्या समाधान भइहाल्छ।’

बिर्तामोडका व्यस्त बजार क्षेत्रहरू हिकोला रोड, कृषि थोक बजारलगायत भित्री बजार क्षेत्रहरूका सर्वसाधारणलेसमेत वर्षौंदेखि अव्यवस्थित पार्किङकै समस्या भोग्दै आएका छन्।

जेठ २९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्