गण्डकीका अर्थमन्त्री भन्छन्,‘हाम्रो मन्त्रीमण्डल ठूलो भयो, ७ वटामा झार्नुपर्छ’

Copy to clipboard
Copied!

पोखरा – गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले सत्ता जोगाउनका लागि मन्त्रीमण्डल विस्तार गर्दा खर्चको आकार बढ्दै गएको बताएका छन्।

अर्थ तथा विकास समितिको बैठकमा उनले प्रदेशको मन्त्रीमण्डल ७ जनामै सीमित गर्नुपर्ने बताएका हुन्।

‘आम्दानी भन्दा खर्च अधिक बढेको छ। यसलाई नियन्त्रण गर्न निकै गाह्रो भैसकेको छ। आजको यो ज्वलन्त समस्या हो। मन्त्रिमण्डल अव ठूलो भयो। ७ देखि ८ जना बनाउन पनि आवश्यक छैन,’ उनले भने, ‘कानूनले दिएको अधिकार प्रयोग गर्न त पाइयो तर प्रगती के भयो त? उपादयता के हो त? पहिले धेरै सुझबुझका साथ ७ वटा मन्त्रालय बनेको रहेछ। हामी त्यो दिशातिर जान जोड गर्नुपर्छ।’

उनले संघीय प्रणालीप्रति अविश्वास बढ्दै गएको भन्दै कार्यशैली फेर्नुपर्ने बताए। ‘हामीले नै हो प्रदेश र देश बनाउने। हिजो राजा महाराजा थिए, उनीहरुलाई निकै सराप्थ्यौँ। अब देश र प्रदेश बनाउने जिम्मा हाम्रो हो, तर अनुभुति हुन सकेन। व्यवहारमा देखिएन। यसले गर्दा प्रणालीप्रति अविश्वास बढ्दै गएको छ।,’

बराल भन्छन्,‘अब जनताले अनुभुती गर्ने गरी काम गर्नुपर्छ। प्रदेश सरकारका जतिपनि जिल्लाका इकाईहरुलाइ पालिकामा एकीकृत इकाईको रुपमा लैजान जरुरी छ। संघीयता र प्रणाली राम्रो बनाउन प्रदेश सरकारका कार्यालय पालिकामा लैजानुपर्छ। जिल्लामा खोल्दा खर्च मात्रै बढी भयो ।’

अहिले प्रदेश सरकारले जिल्लाजिल्लामा मन्त्रालयगत कार्यालय खोलेको छ।

जेठ २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्