सुनसान लमजुङका पर्यटकीय गाउँहरू

लमजुङ – बर्खाका कारण लमजुङका पर्यटकीय गाउँहरु सुनसान रहेका छ्न्। पर्यटकीय गन्तव्यका लागि चिनिएको घलेगाउँमा दुई महिनाअघि प्रतिदिनजसो दुई सय हाराहारीमा पर्यटक आउँथे। हिजोआज भने दिनकाे दुई जना पर्यटक पनि मुस्किलले आएका हुन्छन्। ४४ घर होमस्टे भएको घलेगाउँवासी कामविहीन छन्।

असारको दोस्रो साताबाट भने पर्यटक आउनै छाडेको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताए। भदौ अन्तिमबाट पर्यटक बढ्ने उनको दाबी छ। घलेगाउँमा ४४ होमस्टे छन्। तिनमा तीन सयभन्दा बढी पर्यटक अटाउँछन्। यसअघि पनि असार, साउन र भदौमा खासै पर्यटक नआउने पर्यटन समितिका सचिव उमलबहादुर विकको भनाइ छ। पर्यटकले आउन चाहना गरे पनि बाटोले समस्या बनाएको पर्यटन व्यवस्थापन समिति भुजुङका अध्यक्ष तुलबहादुर गुरुङले बताए।

घलेगाउसगै भुजुङ, काउलेपानी र राइनासकोटमा पनि यति बेला पर्यटक आएका छैनन्। लमजुङका अन्य ठाउँका होमस्टेमा पनि अहिले पर्यटकको चहलपहल छैन। खासुर, घनपोखरा, सिउरुङ, घेर्मु रकडार्गेन, पसगाउँ, तुर्लुङकोट, भुस्मेलगायत गाउँ पनि सुनसान छन्।

भदौ ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्