९२ वर्षीय उम्मेदवारको जाँगरः पैदल हिँडेरै घरदैलो

Copy to clipboard
Copied!

झापा – प्रायः राजनीतिक दलमा चुनाव लड्नका लागि युवा उम्मेदवारको माग बढ्दै गएको छ। तर झापाका एक जना वडा सदस्यका यस्ता उम्मेदवार छन् जो उमेरले बृद्ध छन् तर जोस र जाँगरले युवा भन्दा कम छैनन्।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापा मेचीनगर नगरपालिका वार्ड नं. १३ का ९२ वर्षीय नेत्रप्रसाद न्यौपाने सोही वडाका लागि वडा खुल्ला सदस्यका लागि उम्मेदवार बनेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उनी उम्मेदवार बनेका हुन्।

उनको जोस र जाँगर देखेर नै पार्टीले उनलाई टिकट दिएको राप्रपाका नेताहरू बताउँछन्। यसअघिका स्थानीय चुनावमा पनि उनी लडेकै हुन्। राजनीतिक जीवनको शुरुवातदेखि नै उनले राजावादी पार्टीनै रोजे। न उनलाई गणतन्त्र मन पर्छ न धर्मनिरपेक्षताको व्यवस्था नै।

बृद्ध न्यौपाने भन्छन्, ‘पहिला त एक जना राजा थिए। अहिले त झन् गाउँ/गाउँमा राजा छन्। धेरै राजाभन्दा एउटै राजा भएको राम्रो।’

उमेर पाको भए पनि उनी पैदलै घरदैलो गरिरहेका छन्। कुनैबेला भने उनकै नातिले मोटरसाइकलमा लैजाने गरेका छन्। कान मनग्ने सुन्छन्। ताप्लेजुङमा जन्मेर त्यही हुर्केका उनी त्यहाँको हावापानी र दुध दही खाएर आफू अहिलेसम्म तन्दुरुस्त रहेको बताउँछन्।

यो चुनावमा उनले करिब २० देखि २५ हजार रुपैयाँ खर्च गर्ने अनुमान उनले गरेका छन्।

बैशाख २२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्