पटक-पटक हारेका रामको दमकको मेयर बन्ने सपना

Copy to clipboard
Copied!

झापा – विगतका चुनावमा पटक-पटक पराजय भोगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापाले पुनः झापाको दमक नगरपालिकाको मेयर बन्ने सपना बुनेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसमेतको गृहनगर दमकमा अबको मेयर बन्ने सपना कतिको साकार हुने हो, त्यो मतदानको मत परिणाम आएपछि थाह हुने नै छ। तर यस पटकको चुनावमा गठबन्धनकै सहयोग रहेकाले उनले चुनाव जित्नेमा धेरै स्थानीयबासी आशावादी देखिएका छन्।

करिब ४० वर्षअघि दमक क्षेत्रलाई नगरपालिका घोषणा गरिएपछि उनले नगरको नेतृत्व गर्नका लागि प्रयास नगरेका होइनन्। तर त्यसपछिका चुनावमा उनले धेरै पटक पराजय भोगे। तर, यस पटकको चुनाव भने जितिन्छ भन्ने दृढ संकल्पका साथ चुनावी मैदानमा होमिएका छन्। लाग्छ, उनी राजनीतिका अथक यात्री हुन्। पटक-पटक हारेर पनि हार मानेका छैनन्।

तीसको दशकको मध्यतिर मेची बहुमुखी क्याम्पस भद्रपुरमा पढ्दा उनी राजावादी विद्यार्थी संगठनको सदस्य हुन पुगे। त्यसपछि उनी प्रवेश गरेको राजनीतिक सिद्धान्तमा आजका मितिसम्म पनि अडिग छन्। तर पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजय भोगेका कमल थापाले छुट्टै दल निर्माण गर्दा झण्डै उतातिर हिँडेका थापा फेरि राप्रपामै रहे।

सिद्धान्तले राजावादी भए पनि राम थापा दमक नगरमा निकै लोकप्रिय नेताको रुपमा चिनिन्छन्। कतिपय मानिसले ‘अब राम दाइलाई हेर्ने हो’ भनेको पनि प्रशस्त सुन्न पाइन्छ। तर त्यतिमै परिणाम त्यही आउँछ भन्ने छैन। परिणाम त पर्खनै पर्छ।

थापा राप्रपाको प्रदेश १ को अध्यक्ष पनि हुन्। उनले देशसञ्चारसँगको कुराकानीमा भने, ‘यही हो मेरो जित्ने बेला। यो बेला जितिएन भने कहिले जितिएला र?’ उनले यही कुरा पटक-पटक दोहोर्‍याउने गरेका छन्।

राजा ज्ञानेन्द्र शाहको शासनकालमा मनोनित मेयरको रुपमा पनि उनले काम गरेका हुन्। तर त्यो बेला परिस्थिति सहज थिएन राजावादीहरूलाई काम गर्न। तर यस पटक भने नेपाली कांग्रेसलगायत धेरै दलको समर्थनका कारण आफू जित्नेमा प्रशस्त सम्भावना देख्छन् उनी आफैं।

२०७४ सालको स्थानीय निर्वाचनमा थापा दोस्रो भएका थिए। २०७४ सालमा एमालेका रामनाथ ओलीले १० हजार ८ सय ६ मत ल्याउँदा थापाले ७ हजार ६ सय ५५ मत मात्रै पाएका थिए। यसपालीको चुनावमा भने एमालेबाट हालकी उपमेयर गीता अधिकारी यसपाली मेयरको उम्मेदवार बनेकी छन्।

सत्ता गठबन्धनसँग मिलेको राप्रपाले मेयर पदको उम्मेदवारी पाएको छ। उपमेयरको भाग नेपाली कांग्रेसलाई परेको छ। उपमेयरको उम्मेदवार नेपाली कांग्रेसबाट रेगीना भट्टराई छिन्।

खासगरि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्ता गठबन्धनले राप्रपाको साहरा लिएको हो।

सत्ता गठबन्धनले मात्र ओलीको प्रभाव निस्तेज पार्न नसक्ने भन्दै राप्रपाको साहरा लिएको स्थानीयबासी बताउँछन्। विगतमा भएका अधिकांश निर्वाचनमा कम क्षति व्यहोरेको नेकपा एमालेको प्रभावलाई निस्तेज पार्न सत्ता गठबन्धनले राप्रपालाई मेयर पद दिएर अगाडि बढाएको छ।

राप्रपाका नेता तथा मेयर पदका उम्मेदवार राम थापाका अनुसार राप्रपाबिना दमकमा ओलीको प्रभावलाई न्यून बनाउन त्यति सहज भने छैन।

 

बैशाख १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्