के ओलीको प्रभाव निस्तेज पार्न दमकमा राप्रपासँग सत्ता गठबन्धन मिलेको हो?

मेयर पदका उम्मेदवारहरू गीता अधिकारी र राम थापा।
Copy to clipboard
Copied!

झापा – स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भनिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको दमक नगरपालिकामा भने सत्ता गठबन्धनसँग तालमेल गरेको छ।

सत्ता गठबन्धनसँग मिलेको राप्रपाले मेयर पदको उम्मेदवारी पाएको छ। उपमेयरको भाग नेपाली कांग्रेसलाई परेको छ।

राप्रपाका पुराना नेता राम थापा मेयर पदका उम्मेदवार छन् भने उपमेयरको उम्मेदवार नेपाली कांग्रेसबाट रेगीना भट्टराई छिन्।

खासगरि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा सत्ता गठबन्धनले राप्रपाको साहरा लिएको हो।

सत्ता गठबन्धनले मात्र ओलीको प्रभाव निस्तेज पार्न नसक्ने भन्दै राप्रपाको साहरा लिएको स्थानीयबासी बताउँछन्। विगतमा भएका अधिकांश निर्वाचनमा कम क्षति व्यहोरेको नेकपा एमालेको प्रभावलाई निस्तेज पार्न सत्ता गठबन्धनले राप्रपालाई मेयर पद दिएर अगाडि बढाएको छ।

राप्रपाका नेता तथा मेयर पदका उम्मेदवार राम थापाका अनुसार राप्रपाबिना दमकमा ओलीको प्रभावलाई न्यून बनाउन त्यति सहज छैन।

थापाले देशसञ्चारसँग भने, ‘यो चानचुन विषय होइन। सत्ता गठबन्धनलाई पनि हाम्रो साथ चाहिएको थियो। हामीले मेयर माग्यौँ, उनीहरू दिन तयार भए।’

आफू विगतका निर्वाचनमा जहिले दोस्रो मात्र भएकाले अब पहिलो हुने अवस्था रहेको उनले बताए। उनले भने, ‘यो बेला पनि जितिएन भने कहिले जितिँदैन।’

नेकपा एमालेले भने उपमेयर भएर काम गरिसकेकी गीता अधिकारीलाई मेयर पदका उठाएको छ भने उपमेयरमा अम्बिका खनाललाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनले राप्रपाका पुराना नेता थापालाई मेयर पदमा उठाए पनि यसलाई सामान्य रुपमा लिएको अधिकारीले बताइन्। आफूले विगतमा गरेका कामलाई नगरबासीले मूल्यांकन गरेकाले आफ्नो पक्षमा माहोल बनिरहेको उनको दाबी छ।

अधिकारीले भनिन्, ‘कसले कहाँ कोसँग गठबन्धन गर्छ भन्ने भन्दा पनि मैले के काम गरेँ भन्ने नगरबासीले हेरेका छन्।’

२०७४ को स्थानीय निर्वाचनमा एमालेले दमकमा मेयर, उपमेयरसहित ८ वटा वडा जितेको थियो। बाँकी दुईवटा वडामा राप्रपा विजेता बनेको थियो। प्रमुख पदमा एमालेका रोमनाथ ओलीले जितेका थिए भने राम थापा दोस्रो भएका थिए।

बैशाख १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्