राजावादीलाई परास्त गर्न झापाको कचनकवलमा कांग्रेस-एमाले गठबन्धन

Copy to clipboard
Copied!

झापा – देशका अधिकांश पालिकाहरूमा जनप्रतिनिधि चयनका लागि आइतबारदेखि मनोनयन पत्र दर्ता शुरु भइसकेको छ। वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा आइतबार केही उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन्।

अधिकांश पालिकामा केन्द्रमा जस्तै सत्ता गठबन्धन एकतिर र प्रमुख प्रतिपक्षी नेकपा एमाले अर्कोतिर प्यानल खडा गरेर चुनावी मैदानमा होमिएका छन्। तर नेपालको सबैभन्दा होचो स्थान भएको झापाको कचनकवल गाउँपालिकामा अन्यत्र भन्दा अनौठो किसिमको गठबन्धन बनाएर कांग्रेस-एमालेले प्यानल खडा गरेका छन्, त्यसको विपरित ध्रुवमा राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी मैदानमा होमिएको छ।

राप्रपाले पहिलाकै अध्यक्ष अनजरा आलम र उपाध्यक्ष निमसरी राजवंशीलाई फेरि उम्मेदवार बनाएको छ भने कांग्रेस-एमाले गठबन्धनले कांग्रेका कालेन्द्र राजवंशीलाई अध्यक्ष तथा एमालेका नवराज भट्टराईलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ।

झापाको उक्त गाउँपालिका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित झापाको क्षेत्र नं. ३ मा पर्छ। यो पालिका उनको क्षेत्रको पालिका मात्र नभइ राप्रपाले निकै ठूलो हैसियत राख्ने पालिकामा पर्छ। गत संसदीय निर्वाचनमा लिङ्देनले सोही क्षेत्रमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्।

कचनकवलमा भएको कांग्रेस-एमाले गठबन्धनले स्थानीय क्षेत्रमा नभइ राजनीतिक उच्च तह छक्क पारिरहेको अवस्था छ। एक हिसाबले भन्ने हो भने झापाको क्षेत्र नं. ३ मा राजावादी र गणतन्त्रीवादीबीच टकराव छ भन्दा फरक पर्दैन। सोही कुराको पुष्टि कांग्रेस-एमाले गठबन्धनबाट उपाध्यक्ष पदका उम्मेदवार नवराज भट्टराईले गरेका छन्।

उनले भने, ‘संविधानभन्दा बाहिरको कुरा गर्नेसँग गठबन्धन गर्नुभन्दा यही संविधान मान्ने गणतन्त्रवादीसँग गठबन्धन गरेर राजावादी शक्तिलाई परास्त गर्न जरुरी हामीले देख्यौँ।’

तर उक्त गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी भने हर्षित देखिन्छ। राप्रपा झापाका अध्यक्ष केशव ओझाले त्यस्तो गठबन्धन देशभर भइदिए राम्रो हुने प्रतिक्रिया दिए।

उनले भने, ‘कांग्रेस र एमाले मात्र होइन, अन्य पार्टी एकतिर जाउन्। हामी अर्कोतिर हुँदा मात्र प्रतिष्पर्धा गर्न मज्जा आउँछ। यस्तो देशभर भइदिए हुन्थ्यो।’

बैशाख ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्