रोहिंग्या शरणार्थीको पीडा

‘खानै नपाएर मरिन्छ कि जस्तो छ, हात धुन सिकेर के गर्नु?’

आश्रयका लागि नेपाल आएका रोहिंग्याहरु बस्दै आएको बुढानिलकण्ठ नगरपालिका–११ लसुनेटार स्थित शिविर । तस्बिर: बर्षा शाह/देश सञ्चार
Copy to clipboard
Copied!

काठमाडौँ – ‘हात धुन सिकाए, दुईवटा साबुन दिए। खाने कुरै नभएर मरिन्छ कि जस्तो छ, हात धुन विधि सिकेर के गर्नु ?’ टेलिफोनमा मोहम्मद रफिकले भने।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ११ राममन्दिरमा रहेको शिविरमा पछिल्लो पाँच वर्षदेखि बस्दै आएका रोहिंग्या हुन् रफिक। उनी श्रीमती र छोराछोरीसहित टिनको पाताको छानो र भित्ता युक्त टहरामा बस्छन्।

उनी म्यानमारमा अल्पसंख्या रोहिंग्या मुसलमानमाथि भएको हिंसाबाट जोगिनका लागि भाग्ने क्रममा नेपाल आइपुगेका हुन्। उनीसहित कम्तिमा ३८० जना रोहिंग्याहरु बुढानिलकण्ठ नगरपालिकाको राममन्दिर र लसुनेटार क्षेत्रमा बस्दै आएका छन्।

नेपालले शरणार्थी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेकाले रोहिंग्या आप्रबासीले आधिकारिक रुपमा शरणार्थीको पहिचान पाएका छैनन्। उनीहरु नेपालमा अवैध आप्रबासीका रुपमा बसिरहेका छन्।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को कारक नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश लकडाउनको अवस्थामा छ।

सामान्य अवस्थामा पनि दैनिक छाक टार्न मुश्किल पर्ने गरेका रोहिंग्या समुदायले अहिले लकडाउनका बेला आफूहरु थप समस्यामा परेको बताएका छन्।

आफूहरुले काम गर्न नपाएको र काम नगरेपछि खान पाउने अवस्था पनि नरहेको रफिकले बताएका हुन्।

उनले भने, ‘हामीलाई युएनएचसिआर (संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग) का प्रतिनिधि आएर कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिका सिकाएर गए। घरमा खाने कुरा नै छैन। खानै नपाएर मरिन्छ कि भने जस्तो छ, त्यो हात धुन सिकाएर के हुन्छ र?’

राममन्दिर शिविरमा रहेका रोहिंग्या शरणार्थी, उनीहरु जस्तो असजिलो भए पनि नियमित रुपमा नमाज पढ्न भने छोड्दैनन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

‘हामी पनि कोरोना भाइरसको संक्रमणबाट जोगिन चाहन्छौँ । लकडाउनको उल्लंघन गरेका छैनौँ । घरमै बसेका छौँ । बाहिर निस्किएका छैनौँ । तर खाने कुरा छैन । साह्रै गाह्रो भयो ।’

वडा तथा केही सहयोगी संस्थाले खाद्यान्न र केही दैनिक उपभोग्य सामग्री दिएको भए पनि गुजारा चलाउन समस्या भएको उनको भनाइ छ ।

युएनएचसिआरले पनि आफूहरुले यो संकटका बेला आफूहरुले खाद्यान्नका लागि सहयोग गर्न नसकेको बताएको छ । युएनएचसिआरको काठमााडौँस्थित नेपाल कार्यालयका सिनियर एक्सटर्नल रिलेशन एसोसिएट दिपेशदास श्रेष्ठले दैनिक काम गरेर जीविका गर्ने रोहिंग्या आप्रवासीहरुलाई लकडाउनका बेला छान टार्न समस्या भएको जानकारीमा रहे पनि त्यस्तो खालको सहयोग गर्न नसकेको स्वीकार गरे ।

उनले भने, ‘तर हामीले कोरोना भाइरसको संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर रोहिंग्यासहितका नेपालमा रहेका सबै शरणार्थीमा सचेतनाका कार्यक्रम गरेका छौँ । सरसफाइका लागि केही व्यवस्था पनि गरेका छौँ । तर खानपिनको व्यवस्था भने गर्न सकिएको छैन । उहाँहरुलाई केही संघसंस्थाले राहत दिएको जानकारीमा छ ।’

रोहिंग्याहरुले भने सहयोग गर्न चाहनेहरु पनि लकडाउनका कारण शिविरसम्म आउन नसकेको तथा भएको रासन सकिएकाले छाकटार्न समस्या भएको बताएका छन् ।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्