‘राजावादी’ र ‘गणतन्त्रवादी’बीच भिडन्त!

झापा क्षत्रे नम्बर ३ बाट प्रतिनिधि सभामा उम्‍मेदवारी दिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेन। तस्बिर: उमाकान्त खनाल
Copy to clipboard
Copied!

झापा-२०७० सालको संविधानसभाको चुनावमा निकटतम प्रतिस्पर्धी रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनबीचको प्रतिस्पर्धा धेरैले राजावादी र गणतन्त्रवादीबीचको भिडन्त भनेर अर्थ्याउन थालेका छन् । सर्वसाधारणमात्र होइन, पछिल्लो समयमा आएर कांग्रेस नेता सिटौला नै आफू गणतन्त्रवादी भएकाले गणतन्त्र नेपालको संसदमा जान आफ्नो हक भएको बताउन थालेका छन् ।

नेता सिटौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी वर्तमान नेपालको संविधान २०७२ को भावना विपरीत संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको अजेन्डा बोकेको भन्दै राप्रपाको झण्डामुनि आउनेहरू ‘जनता विरोधी’ भएको बताएका छन् । उनले भद्रपुर नगरपालिकाको एउटा वडामा आयोजित चुनावी सभामा भने, ‘अब तपाइँ सबै जनताले को उम्मेदवार कस्तो भनेर पहिचान गर्ने बेला भएको छ । राप्रपालाई समर्थन गर्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्र जनताका दुश्मन हुन् ।’ झापाको क्षेत्र नं ३ मा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्ष तर्फको निर्वाचनमा कांग्रेसका लागि सिटौला र राप्रपाको तर्फबाट राजेन्द्र लिङदेन प्रतिस्पर्धामा छन् ।

कतिपयले भन्ने गरेका छन्, ‘सिटौला उनै नेता हुन् जस्ले तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियमा ल्याउन सक्रिय भूमिका खेलेका थिए ।’ नेपालमा राजतन्त्र फाल्ने र गणतन्त्र स्थापना गर्न सक्रिय भूमिका निर्वाह गरेका ठानिएका सिटौला गणतन्त्रका हिमायती बामपन्थी दलहरुकै घेराबन्दीमा परेका हुन् ।

कांग्रेससँग चुनावी गठबन्धन गरेको राप्रपा झापा ३ मा नेपाली कांग्रेसले सिटौलालाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएपछि एकाएक चिढिएर झापामा बाम गठबन्धनसंग मिल्न पुगेको हो । राप्रपाले उक्त क्षेत्र आफ्नो बलियो पकड भएको क्षेत्रको रुपमा मान्ने गरेको छ भने सोही क्षेत्र कांग्रेस नेता सिटौलाको राजनीतिक आधार क्षेत्र पनि हो । सिटौलासँग प्रतिस्पर्धामा रहेका लिङदेनले अहिले आफ्ना दलको अजेन्डा भन्दा देशको अजेन्डा महत्वपूर्ण भएको बताउने गरेका छन् ।

‘हो, हाम्रो दलको मान्यता संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हो,’ लिङदेनले भने, ‘तर अहिले हामीले देशको अजेन्डा बोक्ने बेला भएको छ । देशको एजेन्डा भनेको विकास र स्वाभिमानको अजेन्डा हो ।’ लिङदेनले आफ्नो दलको मूल अजेन्डामा नभइ बामपन्थी दलहरुले आफ्नो क्षमता हेरेर समर्थन गरेको समेत दावी गरेका छन् । कांग्रेस नेता सिटौला बलियो आधार क्षेत्र मानिएको झापा ३ मा लिङदेनलाई त्यति सहज भने छैन ।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाका लागि पनि त्यतिकै चुनौती छ जति लिङदेनलाई छ । समानुपातिक सूचीमा परिसकेर पनि कार्यकर्ताको आग्रहमा प्रत्यक्ष निर्वाचनमा होमिएका सिटौलालाई पनि जीतसहज छैन । उनकै गृहनगर भद्रपुर नगरपालिकाको चुनावमा पनि प्रमुख तथा उपप्रमुखलगायत अधिकांश स्थानमा बामपन्थी पार्टीले जीत हासिल गरेको थियो ।

सिटौलाले राप्रपासँग भएको चुनावी गठबन्धन आफूलाई ठीक नलागेको समेत बताएका छन् । पटक–पटक पार्टीको बैठकमा यस विषयमा कुरा उठाए पनि सुनुवाइ नभएकाले आफूले झापा क्षेत्र नम्बर ३ बाट चुनाव लडेको उनले बताए । उनले राजतन्त्र र हिन्दु राष्ट्रको अजेन्डा बोकेर हिँडेको पार्टीसँग सहकार्य गर्नु कांग्रेसको महाभूल भनेका छन् । सिटौलाले भने, ‘लोकतान्त्रिक वा वाम गठबन्धन जे भए पनि २०४६ र ०६२/०६३ को जनआन्दोलन जनताले कहिल्यै भुल्ने छैनन् ।’ राप्रपाले अहिलेसम्म गणतन्त्र स्वीकार नगरिरहेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको वाम गठबन्धनमा राप्रपा सामेल भएको आफूलाई अचम्म लागेको सिटौलाले टिप्पणी गर्ने गरेका छन् ।

मंसिर १५, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्