कीर्तिमानी आरोही निर्मल पूर्जा (विशेष भिडियो स्टोरी)

कठीन बाटोको एउटा साहसी यात्री

उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले फेरि पनि उस्तै अग्ला हिमालतिरकै यात्रा सुरु गरेका छन्। कीर्तिमान कायम गर्ने भोकबाट कसैको सम्मान र सम्झनामा समर्पित छ उनको यो यात्रा।

६ महिना ६ दिन अर्थात १८९ दिनमा ८ हजार मिटरमाथिका विश्वका सबै १४ हिमालको उचाइलाई आफ्नो गन्तव्य बनाउन सफल निर्मल पूर्जा गएको मंगलबार (अक्टोबर २९) मा आफ्नो टोलीसहित चीनको शीशापाङ्गमा हिमालको ८ हजार २७ मिटर उचाइमा टेक्न सफल भए। त्यो सँगै ‘प्रोजेक्ट पोसिबल’ ले पूर्णता पायो।

‘प्रोजेक्ट पोसिबल’ सात महिना भित्र विश्वका ८ हजार मिटर माथिका सबै १४ हिमाल आरोहण गर्ने लक्षसहित निर्मलले कल्पना गरेको यात्रा थियो। र, निर्धारित समय भन्दा अघि नै पूरा भयो त्यो।

विश्व कीर्तिमानी यात्रा तय गरेर फर्केका निर्मल पूर्जा शुक्रबार बिहान भेट्दा अति उत्साहित थिए। तर उनमा उन्मादको रंग थिएन। हिमालले फुटाएको गाला केही चिल्लिने क्रममा थियो।

लामो अनिँदोपछि एक रात मज्जाले सुतेका थिए निर्मल। त्यसैले पनि होला शुक्रबार बिहानै अति प्रफुल्ल मुद्रामा प्रस्तुत भए उनी। हतारो थियो। तर अधैर्य देखिएनन्। उनको प्रस्तुति शान्त थियो।

प्रायले असम्भव र अति कठिन मानेको यात्रा विवरणका क्रममा निर्मलले आफूले भोगेका अप्ठ्यारा तथा अवरोधहरुको कथा पनि सरल रुपमा सुनाइरहेका थिए। हिमालसँगको आफ्नो मोहको कुरा रोमान्चकारी प्रेमकथा भन्दा कम थिएन। उनलाई हिमाल आफ्नो वास्तविक घर जस्तो लाग्दो रहेछ। उनी त्यसै भन्दै थिए।

उनले नापेको उचाइको कथा सधैँ सुनिरहुँ जस्तो लाग्ने। उनले १४ हिमालको कुल उचाइ १ लाख १५ हजार ९७६ मिटरको यात्रा गरेर आएका थिए। १८९ औँ दिनमा पूरा गरेको अभियान सकेको चौथो दिन थियो हामीसँगको भेटघाट। हिमाल चढ्न जस्तै उत्साहित रुपमा कथा सुनाउँदै थिए उनी। सोध्न र सुन्न आउनेहरुको ताँती नै थियो।

६ महिना ६ दिन र तय गरेको उचाइ

शीशापाङ्गमा हिमाल चढेपछि आरोहण टोलीका साथमा निर्मल। तस्बिरः निर्मलको ट्विटर ह्याण्डल

कुराकानीको सुरुमा, ६ महिना ६ दिन र नापेको उचाइको अनुभव फेरि सोध्यौँ। उनका लागि सुनाइरहेकै कथा थियो। हाम्रा लागि भने नितान्त नयाँ।

यो यात्रा पूरा गरेपछि एक हिसाबले उनी सहज अनुभव गरिरहेका थिए। यात्रा सुरु गर्दा संसारले हेरेको थियो। जोखिमको चेतावनी दिएका थिए। अति उत्साहित नबन्न भनेका थिए केहीले। केहीले विश्वास पनि गरेका थिए। तर सबैभन्दा महत्वपूर्ण कुरा सक्छु भन्ने आँट थियो उनमा।

आँटले सुरु गरेको यात्रा सफल भयो। निर्मलले यात्राका क्रममा मनमा रहेको डर सुनाए। भवितव्यको आशंका सुनाए। तर मनमा विश्वास रहेको कुरा पटक पटक सुनाइराखे। यात्राका लागि चाहिने रकम र मार्गमा आउन सक्ने प्राकृतिक विपत्ति स्वाभाविक चिन्ताको विषय थियो।

फण्ड जुनाउन नसक्दा र हिम आँधीसहितका प्राकृतिक विपत्ति आइलागेको अवस्थामा यात्रामा विराम आउने थियो पक्कै पनि। तर त्यो डरले आकार लिएन र उनी यात्रा पूरा गरेर यहाँ थिए।

जमिनको सतहमा बसेर उनले माथिल्लो उचाइको अनुभव सुनाउँदै थिए। फरक परिवेशको त्यो यात्रा विवरण। जताततै हिउँ, तीव्र गतिमा चलेको चिसो हावा। लगभग निर्जन हिमालको चुचुरो र यहाँ फर्केर अहिले बसेको ठाउँको परिवेश फरक थियो। तर उनले आफूलाई थप शान्त र भरपूर महसुस हिमालमै गरेको बताए।

तर यात्रा भयानक दुःखले भरिएको थियो। अप्ठ्याराहरु थिए। अवरोधहरु आए। तर चुनौतीको सामना र त्यसपछिको सफलता झनै रोमाञ्चक र उत्साहप्रद बन्दै जान्छन्।

सबथोक त्यागेर पाएको सन्तुष्टि

उनले ४८ घण्टामा सगरमाथा, लोत्से र मकालु हिमाल आरोहण गरेका थिए । तस्बिर: स्टक इमेज

म्याग्दीमा जन्मेका निर्मल केही समय पोखरामा बसे। कक्षा दुईसम्म पोखराको मनकामना स्कूलको अध्ययन गरेका निर्मलको परिवार त्यसपछि चितवनको रामनगर सर्‍यो। उनले त्यहिँको स्मल हेभन स्कुलबाट एसएलसी दिए।

त्यसपछिको अध्ययन पनि केही समय त्यतै गरे। उनलाई हुर्किँदै गर्दा बेलायती लाहुरे हुने ठूलो सपना जाग्यो। बुवा भारतीय सेनामा थिए। दुई दाजु बेलायती सेनामा। निर्मल पनि गोर्खा सैनिक बन्ने ध्याउन्नमा होस्टेलमा रहेका बेला बिहानै ३ बजे उठेर दौडिन थाले। दिनको झण्डै १५ किलोमिटर दौडिन्थे।

मेहनतले रंग ल्यायो। उनी बेलायती सेनामा भर्ती भए सन् २००२ डिसेम्बरमा। सपना पूरा भयो। सपनाको आकार पनि फैलिँदै गयो। उनी बेलायती सेनाको स्पेसल फोर्समा पर्न चाहन्थे। सात वर्षपछि त्यो पनि सम्भव बन्यो। सपनाको बिस्तार सुतेर मात्र गरेका थिएनन् उनले। त्यही अनुपातमा मेहनत पनि गरिरहे।

सन् २०१२ मा अर्को सपनाले प्रवेश पायो नजानिँदो गरेर। त्यो वर्ष निर्मल पहिलो पटक सगरमाथाको आधार शिविरमा पुगेका थिए। यात्राको छाप मनमा बसिरह्यो। उनी पेशामा रमाइरहेका थिए।

तर बिस्तारै हिमालले तान्न थाल्यो। सगरमाथा चढ्ने अभिलाशा जाग्यो। सन् २०१६ मा उनी बिदामा घर आउँदा हिमाल चढ्नका लागि चाहिने पैसाको जोहो गरे। तर यो कुरा घरमा कसैलाई भनेनन्। भनिहाल्न पनि चाहन्नथे। र यो द्विविधाकै बिचमा जीवनसंगिनी सूची पूर्जालाई भने। सूचीले साथ दिइन्। निर्मलले सगरमाथाको चुचुरोबाट माथि आकाश नियाल्न सफल भए त्यसै वर्ष।

म्याग्दीको चिसो हावा चल्ने पहाड बच्चैमा छोडेर चितवनको समथर र प्रायः गर्मीमा हुर्केका उनले शेर्पाहरुको घर मानिने हिमालसँग औपचारिक रुपमा नाता गाँसे। त्यसपछि उनको हिमाल सपनाले बिस्तारित रुप लिँदै गयो।

निर्मलले त्यसपछिका वर्षमा पनि हिमाल चढे। ८ हजार मिटरमाथिका १४ मध्ये आधा त नेपालमै छन्। उनलाई यीसँगै नेपाल बाहिरका अरु सात हिमाल पनि चढ्ने मन भयो। केही समय मनमै रहेको योजना उनले ‘प्रोजेक्ट पोसिबल’ का रुपमा सार्वजनिक गरे।

यो योजना चुनौतीपूर्ण थियो। सबैले विश्वास र समर्थन गरिहाल्ने खालको पनि थिएन। तर उनलाई आफ्नो शरीरको ‘फिजिओलोजी’ र प्रतिबद्धतामा विश्वास थियो। आफ्नो अर्जुन दृष्टिमा भर थियो।

त्यसैले चुनौतीका रुपमा तेर्सिन सक्ने जागिर नै छोडे। त्यत्रो मेहनत र रहरले जोडिएको बेलायती सेनाको जागिर, महिनाको नेपाली ६ लाख रुपैयाँ भन्दा बढीको तलब र पेन्सन माया मारेर उनले हिमालतिरको कठिन यात्रा रोजे। बेलायतमा जोडेको घर पनि बेचे। अहिले उनीको सन्तुष्टिको पृष्ठभूमि हो यो।

बाँचेर पूरा गरेको यात्रा


असजिलो बाटोमा हिँडेका निर्मललाई रोक्न सक्ने धेरै अवरोधहरुको कमी थिएन। अवरोध परिवारको, अवरोध मोहको अनि अवरोध स्नेहको। तर उनले ती सबै भन्दा आफ्नो सपनालाई पहिलो प्राथमिकतामा राखे।

आमा रोगी छन्, हप्ताको दुई पटक डायलासिस गर्नु पर्छ, उनी काठमाडौँमा भाडाको कोठामा बस्छिन्। बुवा चितवन घरमा छन्। दुई दाइ बेलायती सेनामा, एक दाइ सेवानिवृत्त शिक्षक। निर्मलकी श्रीमती सूची बेलायतमा छिन्।

निर्मललाई सूचीसँग मिलेर आफ्नो संसार अलि फराकिलो पार्ने मन नभएको होइन। थियो। तर भययुक्त यात्राको सोचमा रहेकाले उनले तत्कालका लागि सन्तानको रहर थाँती राखे। त्यसमा सूची पनि राजी भइन्।

‘हिमाल जति रहरको गन्तव्य हो, त्यति नै अन्त्यको मार्ग पनि। त्यसैले म यस्तो यात्राको सुरुवात कसैका लागि बन्धन छोडेर गर्न चाहन्नथेँ’, निर्मलले यस्तो भन्दै गर्दा उनका आँखाले माथि हेरिरहेका थिए एकनास। लगत्तै मोहको सञ्चार भयो क्यारे, ‘अब त फर्केर आइयो।’ उनी मुस्कुराए।

उनले पूरा गरेको यात्राको विश्वभर प्रशंसा भइरहेको छ। किनकी यसअघि यही यात्राका लागि झण्डै ८ वर्षको समय लगाएका थिए आरोहीहरुले। निर्मलको सफलता अपत्यारिलो नै हो। तर आलोचना गर्नेहरु पनि छन्। केही आरोहीले उनले अक्सिजनको बोटल प्रयोग गरेको, मार्ग पहिले नै तयार पार्न लगाएको जस्ता आरोप लगाएका छन्।

निर्मल यी आलोचनाहरुलाई खासै वास्ता गर्दैनन्। ‘हामी मानव जातिको बानी नै भइसक्यो खोट निकाल्ने, आलोचना गर्ने,’ निर्मलले भने, ‘तर मैले सुन्ने मेरो शरीरको आवश्यकतालाई हो, म माथि चढेर फेरि ओर्लनु पर्ने थियो, त्यसका लागि जीवित रहनु पर्छ। मैले जीवित रहेर पूरा गरेको हो यो यात्रा, बाँच्नका लागि चाहिने उपायहरु त अपनाउनै पर्‍यो। बोले जस्तो सजिलो त कहाँ हुन्छ र? आलोचनाहरु हुनु पर्छ। यसले मेरो बाटो छेक्दैन।’

अबको बाटो

गएको मे मा सगरमाथामा आरोहीहरुको लाइन लागेको यो तस्बिर निर्मलले खिचेका हुन् ।

सपनाहरु परिवर्तन भइरहन्छन् । सन् २०१४ मा उनले पहिलोपटक टेकेको ८ हजार मिटर माथिको हिमाल धौलागिरी अहिले पनि प्रिय हिमाल छ उनका लागि। किनकी त्यहाँ आरोहणका क्रममा पाएको दुःख र त्यसपछिको पहिलो सन्तुष्टिको स्मृति ताजा छ अझै पनि।

स्मृति र अनुभवहरुको कुरा गर्दै गरेका निर्मललाई हामीले अबको जीवन यात्राको योजना सोध्यौँ। उनले भने, ‘गर्नु धेरै छ, सपनाहरु छन्। ती सबै हिमालसँग जोडिएका छन्।’

उनलाई हिमालका साथी, शेर्पा समुदायको कथा भन्नु छ। हिमालका कथाहरु सबैलाई सुनाउनु छ। अनि हिमालसँग जोडिएका विषयवस्तुमै अबको यात्रा तय गर्नु रहेछ।

हिमालको कुरा गरेका उनले बिचमै जलवायु परिवर्तनले हिमालमा परेको असर बारे सुनाए। सन् २०१४ मा धौलागिरी जाँदा देखिएको हिउँ यो पटक जाँदा देखिएन। हिउँ सकिँदै गएको रहेछ।

जलवायु परिवर्तन साँचो रहेछ भन्ने उनी आफैँले देखे र अब उनले हिमालसँगै जलवायु परिवर्तनका कारण हिमाल र हिमालीले भोग्नु परेका असजिलाहरु र त्यसबाट जोगिनका लागि गर्नु पर्ने उपायहरुबारे पनि जानकारी गराउने योजना सुनाए।

स्मृति, अनुभव, दुःख र त्यसपछिको आनन्द अनि भावी यात्राको कुरा गरेर निर्मल विदा हुने तरखरमा देखिए। १४ हिमाल आरोहणपछि अर्को हिमालको यात्रामा निस्कँदै थिए उनी। यसपल्टको गन्तव्य आमादब्लम। नोभेम्बर ११ मा आमादब्लमको चुचुरोबाट बेलायती सेनामा गएर सहादत प्राप्त गरेका गोर्खालीहरुको सम्झना र सम्मान गर्ने लक्ष्य छ उनको।

कीर्तिमानी निर्मललाई उनको यो पवित्र यात्राका लागि शुभकामना।

निर्मलका कीर्तिमान


निर्मल पूर्जाले हिमाल आरोहणका बेला असजिलोमा परेकाहरुको उद्धार गरेका छन्। उनले गएको मे मा सगरमाथामा आरोहीको लाम लागेको तस्बिर खिचेका थिए सो तस्बिर विश्वभर प्रयोग भयो। यस्तै उनले ४८ घण्टामा सगरमाथा, लोत्से र मकालु हिमाल ४८ घण्टा भित्रमा आरोहण गरेका छन्।

निर्मलले ६ महिना ६ दिनमा पूरा गरेको १४ हिमालको यात्रा यसअघि पोल्याण्डका जेर्जी कुकुक्जाले सन् १९८७ मा सात वर्ष ११ महिना १४ दिन तथा सन् २०१३ मा दक्षिण कोरियाली आरोही किम चाङ्ग–हो ले सात वर्ष १० महिना ६ दिनमा पूरा गरेका थिए।

भिडियो हेर्नुहोस्: