‘भोट हाल्न जाने भाडा छैन’

मध्यबानेश्‍वर भेनस अस्पताल नजिकै सडकपेटीमा जुत्ता सिलाउँदै सर्लाही घर भएका सोगारत राम। तस्बिर: विन्दु शर्मा
Copy to clipboard
Copied!

वरिपरि पुराना जुत्ता, जुत्ताका तुना, सोल र विभिन्‍न रङका पोलिस छरपस्ट छन् । बीचमा बसेका सोगारत राम जुत्ता सिलाइरहेका छन् । तर, जतिबेलै उनी व्यस्त हुँदैनन् । ‘ग्राहक नआए टोलाएर बस्‍ने हो । कहिलेकाहिँ त ग्राहक नै आउँदैनन्, ‘मध्यबानेश्‍वर भेनस अस्पताल नजिकै सडकपेटीमा मंगलबार भेटिएका सोगारतले भने । देश चुनावमय भइरहेका बेला त्यसको कत्ति पनि रौनक उनमा देखिँदैन ।

‘बिहान-बेलुका छाक टार्ने सवाल छ,’ सर्लाही घर भएका सोगारत भन्छन् । उनले काठमाडौंका सडकपेटीमा बसेर अनेक आन्दोलन देखेका छन् । नेताका भाषण सुनेका छन्। पछिल्लो समय उनकै सामु चुनावी लहर बगिरहन्छ । तर, मन छुने कुनै एजेन्डा सुनेका छैनन् । ‘हामीलाई कसले वास्ता गर्छ ?’ उनको गुनासो छ । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सोगारतको जिल्लामा पनि हुँदै छ । तर उनले निर्णय गरिसकेका छन्, उनी भोट हाल्न जाने छैनन् ।

सोगारत राजनीति मन नपराउने मान्छे भने होइनन् । उनी पञ्चायतकालमा वडा सदस्य भए । तर, उनलाई राजनीतिभन्दा आफ्नै काम प्यारो लाग्यो । उनी भन्छन्, ‘घर जानुपर्‍यो भने मात्र एक जनालाई १५ सय गाडीभाडा लाग्छ, गएपछि म मात्रजाने होइन, श्रीमतीलाई पनि लैजानु पर्‍यो । २ जनालाई जानआउनमात्र ७ हजार जति लाग्छ, यति पैसा खर्च गरेर जाने हो भने फेरि खर्च भएको पैसा कमाउनै महिनौं कुर्नुपर्छ ।’

२०४० सालदेखि काठमाडौंका विभिन्न गल्ली र चोकमा जुत्ता सिलाइरहेका सोगारत राजनीतिले आफ्नो जीवनमा कुनै परिवर्तन नल्याएको गुनासो गर्छन् ।‘आफैँले जानेर यसअघि धेरै पटक सर्लाही पुगेर भोट हालेँ तर कोही नेताले न देशका लागि केही गरे, न हामीजस्तो सीप भएकालाई सहयोग गरे, त्यसैले भोट हालेर केही पनि फाइदा छैन, हाम्रो पीडा र व्यथा उही हो र हाम्रो जिउने जीवनशैली पनि उस्तै हो’, सोगारत भन्छन् ।

 

उनको जस्तै पिडा छ, इटहरीका महेन्द्र रामको पनि । बानेश्वरमा २५ वर्षदेखि जुत्ता सिलाइरहेका रामलाई पनि देशभरको चुनावी रौनकले छोएको छैन । तर, महेन्द्र मन नहुँदानहुँदै पनि भोट हाल्न जाने तयारीमा छन् । उनलाई डर छ, भोट नहाले समाजबाट बहिष्कृत भइन्छ । इटहरीबाट जसरी पनि भोट हाल्न आउनुपर्छ भनेर उनलाई खबर आएको आयै छ ।

‘घर जानु पर्‍यो भने एक जनालाई १५ सय रुपैयाँ गाडी भाडा लाग्छ, श्रीमतीलाई पनि लैजानु पर्‍यो, जानआउन मात्र ७ हजार जति लाग्छ, फेरि खर्च भएको पैसा कमाउनै महिनौं कुर्नुपर्छ।’

‘भोट हाल्न त खासै जान मन होइन तर के गर्नु समाजमा बसेपछि समाजका मान्छेले भनेको मान्नैपर्यो, जसरी पनि आउनु भनेको छन्, नगएपछि त भोलि समाजबाट बहिस्कृत हुन्छु कि भन्ने डर छ, त्यसैले नगई नहुने बाध्यता छ मेरो’, उनले भने, ‘अब भोट हाल्नत जाने भइयो, तर दुई बुढाबुढीको इटहरी जानआउन लाग्ने ८ हजार भन्दा बढीे खर्च कसले दिन्छ ? हामीजस्तो वर्गलाई राज्यले हेरिदिनुपर्छ ।’ महेन्द्रलाई न भोट हाल्न बोलाउनेले के फाइदा लिन्छ भन्ने थाहा छ, न भोट हालेपछि आफूलाई के फाइदा हुन्छ भन्ने नै ।

सर्लाहीका दिपेन्द्र महरा बिजुलीबजारस्थित काठमाडौँ क्षेत्र नम्बर १ कांग्रेस प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहको सम्पर्क कार्यालय नजिकै जुत्ता सिलाएर बस्न थालेको वर्षौ बितिसकेको छ । उनलाई आफ्नो काममा सन्तुष्ट छन् । तर, उनलाई आफ्नो शिक्षित भई बेरोजगार भएर बस्नु परेकोमा गुनासो छ । ‘भोट माग्ने बेला नेताले के के गरिदिन्छु भन्छन् । तर कोही कसैले केही पनि गरेनन् । मेरो भाइ पढेर पनि बेरोजगार भएर घरमै थन्किएको छ’, उनको आक्रोश छ । दिपेन्द्र पनि राजधानीका थुप्रै आन्दोलनका साक्षी हुन् । माइतीघर–बानेश्वर भएर जाने जुलुसले कहिलेकाहिँ उनको आफ्नो नियमित कामसमेत अप्ठेरोमा पर्ने गरेको छ ।

सोगरात, महेन्द्र र दिपेन्द्रजस्तै काठमाडौं लगायत देशका विभिन्न शहरका गल्ली र चोकमा च्यातिएको जुत्ता सिलाउनेको तथ्यांक न सरकारसँगै छ, न कुनै संघ संस्थासंग छ । उनीहरु बर्षौँदेखि यसरी आफ्नो बिहानबेलुकीको छाक टार्दै आएका छन् । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ३५ प्रतिशत मत खसेन । ३५ प्रतिशत मत नखसेमध्ये केही मतको हिस्सा उनीहरूले पनि ओगटेका छन् ।

मंसिर १४, २०७४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्