एउटा ‘बबाल’ नाटक

एउटा ‘बबाल’ नाटक
+
-

‘आमाको पहिलो प्रयासपछि यो लिस्ट बनाउने काम सुरु भयो। संसारका हरेक बबाल कुराहरूको लिस्ट। हरेक कुरा जसले हामीलाई बाँच्ने आधार दिन्छ।’

नाटकको पहिलो एकालाप हो यो जसले दर्शकलाई असामान्य सोच र परिस्थितिमा धकेलिदिन्छ। जब नाटक अगाडि बढ्दै जान्छ, नाटकको पात्र ७ वर्षको हुँदा आमाले स्वघातको प्रयास गरेको रहस्य खुल्छ। त्यसपछि नाटकको पात्र आमाको मद्दतका लागि ‘बबाल’ कुराहरूको लिस्ट बनाउन थाल्छ। अब तपाईँले बुझिसक्नु भयो होला- यो नाटक स्वघातविरुद्धको अभियानमा समर्पित छ भनेर। त्यो लिस्टमा भएका बबाल कुराहरू के हुन् भन्ने कौतुहल भएन तपाईंलाई ? भयो भने सुन्नुहोस्, ‘आइसक्रिम, पानीमा भिज्नु, रोटे पिङ, स्विमिङ पुलमा कसैले थाहा नपाउने गरी सुसु गर्नु, मान्छे चिप्लेर लड्नु’ आदि।

सानासाना कुरामा खुसी हुनसक्दा थाहै नपाई जीवनप्रति अनुग्रह र स्वप्रेम हुँदो रहेछ। यसको परिणाम हामी चेतन वा अर्धचेतन अवस्थामा नै स्वघातबाट आफूलाई बचाउन सक्छौं। यही चिन्तनलाई मूलभाव बनाएर कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हरेक बबाल कुरा’ डङकन म्याक्मिलनको ‘एभ्री ब्रिलियन्ट थिङ’ को नेपाली रूपान्तरण तथा निर्देशन आकांक्षा कार्कीले गरेकी हुन्, स्टेजमा एकल पात्र सुदाम सिकेलाई देख्न सकिन्छ।

गोलाकार बनाएर राखिएको कुर्सीमा बसेका दर्शकले घेरिएको नाटकको एकल पात्र एकालापको सुरुमा आमाले आफू सानै छँदा स्वघातको प्रयास गरेको पृष्ठभूमिमा नाटक सुरु गर्छन्।

समाजको अति संवेदनशील र महत्वपूर्ण विषयलाई प्रकाश पार्ने प्रयत्न गरेकोले यो नाटक सबैको लागि हेर्न उपयुक्त सूचीमा पर्छ।

अनौपचारिक र अस्वाभाविक तर स्वस्फूर्त हिसाबले नाटकका नायकले बाँडेका कार्डहरूका नम्बर उच्चारण गर्छन् र त्यहाँ लेखिएका केही शब्द वा वाक्यांश दर्शकलाई ठूलो स्वरमा पढ्न अनुरोध गर्छन्। सुरुमा ती कार्डमा लेखिएका कुरा पढ्नेहरू नाटककै सहपात्रहरू हुन् जस्तो लाग्छ तर ती त मजस्तै दर्शक रहेछन् भन्ने कुराले रोमाञ्चित बनाउँछ। यो प्रयोगात्मक शैली नाटक हेर्नेको लागि नयाँ र सुन्दर लाग्छ। कहिले दर्शकलाई बुबाको, आफूलाई पढाउने प्रोफेसरको त कहिले जनावरको डाक्टरको अनि कहिले आफ्नी प्रेमिकाको अभिनय गराउँदै आफूसँगै नाटकमा समाहित गरेर अघि बढेको खुबै कलात्मक लाग्छ। यसरी नै दर्शकहरूलाई आफूसँग जोड्दै गाँठो पार्दै नाटक अगाडि बढ्छ।

जीवन सहज हुँदा बाँच्नको लागि कुनै कारण चाहिँदैन र कठिन परिस्थितिमा जीवन बाँच्ने कुनै कारण पाइँदैन। सानै छँदा मानसिक स्वास्थ्य समस्या भोगिरहेकी आमाको लागि नाटकको पात्रले जीवन बाँच्न लायक बनाउने हरेक बबाल कुराहरूको लिस्ट बनाउन थाल्छ। केही शब्दबाट बन्न सुरु गरेको बबाल कुराहरूको लिस्ट सय, हजार हुँदै दश लाखसम्म पुग्छन्। समय, उमेर, परिस्थिति, भावना, स्मृति र विस्मृतिसँग सम्बन्धित अनेकौँ अध्यायहरू पल्टन्छन्। जीवनका अनुभव र दृष्टिकोण बदलिँदै जाँदा बबाल कुराहरूको लिस्ट पनि बदलिँदै जान्छन्। पुरानो किताबको गन्ध, नराम्रो गाउनेले अरूको वास्ता नगरी मस्त गाउनु, उडिरहेको सपना देख्नु, माया, सेक्स आदि।

कुनै समय बबाल लागेका कुराहरू समयको बदलावसँगै बबाल नलाग्दा पनि रहेछन्। यस्तै कुराहरू र घटनाहरू उद्घाटित हुँदै जाँदा नाटकले नयाँ मोड लिन्छ। तेस्रो पटकको स्वघात प्रयासपछि आमा रहनु हुन्न। नाटक सुरु हुँदाको ७ वर्षे बालक जवान हुन्छ। उसले विवाह पनि गर्छ। नाटक क्लाइमेक्समा पुग्छ। प्रेमिकासँग विवाह गरेपछि उसको सम्बन्धमा चिसोपन सुरु हुन्छ र एकदिन त्यो सम्बन्ध अन्तको सङ्घारमा पुग्छ। नाटकको पात्रलाई जे कुराको डर थियो अन्त्य त त्यही हुन्छ। डिप्रेस्ड आमाका सन्तानहरू पनि डिप्रेस्ड नै हुन्छन् भन्ने। एकदिन उसको श्रीमतीले तिमीलाई डाक्टरको आवश्यकता छ भनेपछि ऊ छाँगाबाट खसेझैँ हुन्छ। त्यति बेलासम्ममा उसको बबाल कुराहरूको लिस्ट पनि टुङ्गिसकेको हुन्छ। बस अब शून्यता बाँकी रहन्छ।

फलिङ एक्सन हुँदै नाटक रिजोलुसनतिर पुग्दा केही एकालापहरू उत्कृष्ट लाग्छन्। ‘तपाईँले यदि एउटा लामै जिन्दगी बाँच्नु भयो र एकपटक पनि विरक्त लाग्ने गरी डिप्रेस्ड हुनु भएको छैन भने तपाईँले के बाँच्नु भयो?’ अर्थात् डिप्रेसन हाम्रो जीवनको अभिन्न पाटो नै हो। यो जटिल समस्या हो तर यसका निवारणका उपायहरू पनि छन्। अनि फेरि पात्रले १० लाख पुग्न लागेको लिस्टमा बबाल कुराहरू थप्न थाल्छ। नाटक सकिन्छ तर धेरै प्रश्नहरू छाडेर। के प्रश्न र ती प्रश्नका जवाफ के हुन् भनेर थाहा पाउन चाहिँ नाटक हेर्नै पर्छ।

नाटक राम्रो बनेको छ। डङ्कन म्याकमिलनको ‘एभ्री ब्रिलियन्ट थिङ’ को भावलाई हरेक बबाल कुरामा रूपान्तरण गर्ने कोसिस अब्बल नै लाग्छ। मूल भाव प्रस्तुत गर्न सफल भए पनि म्याकमिलनका कुटिल रूपमा प्रस्तुत हुने स्वप्रेमका भावहरू कता कता अनुपस्थित भए जस्तो लाग्छ। म्याकमिलनले स्वघातलाई जित्न स्वप्रेमको भावलाई महत्व दिएका छन्। जबसम्म हामी आफूलाई खुलेर गहिरोसँग प्रेम गर्न सक्दैनौं, तबसम्म अरूलाई प्रेम गर्न र खुसी बनाउन सक्दैनौं भन्ने यथार्थ स्थापित गर्न सकेको भए नाटक झन् बबाल हुने थियो। नाटकको अर्काे मनन गर्नु पर्ने पक्ष यसको अनुवादित शीर्षक हो। अंग्रेजीको ‘ब्रिलियन्ट’ शब्दलाई ‘बबाल’ भनेर अनुवाद गरिएको छ। शब्दको सही अनुवाद भयो या भएन भन्ने कुरामा नजाँदा राम्रो। झट्ट हेर्दा र सुन्दा ‘हरेक बबाल कुरा’ को बबाल शब्द छनोटले युवाहरूलाई आकर्षित गर्छ र नाटक हेर्न जाँदा पनि त्यस्तै देखिन्छ। बबाल शब्द अधिकांश युवाहरूले दैनिकजसो सयौँ पटक प्रयोग गर्ने शब्द हो। नयाँ पुस्तालाई नाटक घरसम्म तानेर ल्याउन सफल शीर्षक प्रमाणित भए पनि म जस्ता नाटकका पुराना दर्शकलाई यो शब्दले ढिलो प्रभावित गर्‍यो।

म्याक्मिलनले यस नाटकका विषयमा लेखे बोलेका आधारमा स्वघातका केही चरणहरू हुन्छन्। स्वघातको मानसिक बीजारोपण (आइडिया कन्सिभ हुने प्रक्रिया) योजना (प्लानिङ) र कार्यान्वयन (एक्जुकेसन)। यी चरणहरू स्थापित गर्ने प्रशस्त स्थानहरू नाटकमा छन्। यदि यस्ता साना तर मनोवैज्ञानिक पक्षहरूको सूक्ष्म प्रयोग गर्ने हो भने नाटकलाई अति बबाल बनाउन सकिने थियो।

नेपाली रूपान्तरणको उत्कृष्ट प्रयोग ध्वनिमा गरिएको छ। परिस्थितिअनुसारका नेपाली र हिन्दी गीतहरूले मूल भावलाई थप मजबुत बनाएको छ। प्रकाश संयोजनलाई खासै खोट लगाउने ठाउँ छैन। प्रप्सहरूको प्रयोग सीमित छ तर आवश्यकताअनुसार बन्दोबस्त मिलाइएको छ। सुदाम सिकेको अभिनय लोभलाग्दो छ। नाटकमा देखाउनु पर्ने खुसी र गम्भीर भावहरूमा उनले न्याय गरेका छन्। अनुवाद र निर्देशनमा आकांक्षा कार्कीको प्रयोग र प्रयास उम्दा छ। समाजको अति संवेदनशील र महत्वपूर्ण विषयलाई प्रकाश पार्ने प्रयत्न गरेकोले यो नाटक सबैको लागि हेर्न उपयुक्त सूचीमा पर्छ।

यो पनि पढ्नुहोस्

कौशी थिएटरमा पुन: मञ्चन हुँदै ‘हरेक बबाल कुरा’

कौशी थिएटरमा पुन: मञ्चन हुँदै ‘हरेक बबाल कुरा’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?