नौ महिनामा १० लाख ले गरे शाश्वतधामको अवलोकन

नौ महिनामा १० लाख ले गरे शाश्वतधामको अवलोकन
+
-

नवलपरासी- नवलपरासीको दुम्कौलीमा रहेको शाश्वतधाम नौ महिनाको अवधिमा १० लाख भक्तजनले अवलोकन गरेका छन्।

पुस १ गते शनिबार बिहान ११ बजे मन्दिर प्रवेश गरेका सिरहाका १४ वर्षीय मनिष सामल मगर शाश्वतधाममा आउने १० लाख औं दर्शनार्थी बनेका छन्।

सिराहाको गोलबजार नगरपालिकास्थित एक विद्यालयबाट ११ जनाको समूहसहित शैक्षिक भ्रमणमा आएका मगरलाई मूल प्रवेशद्वारमा रहेको स्वचालित मेसिनले धाममा प्रवेश गर्ने १० लाख औं व्यक्तिका रुपमा गणना गरेको हो। मगरसहितका ११ जनालाई शाश्वतधाममा शनिबार पञ्जेबाजा र फूलमालाले विशेष सम्मान गर्नुका साथै उपहार पनि प्रदान गरियो। शाश्वतधाम व्यवस्थापनका अधिकारीहरुले उनीहरुलाई सम्मान गरेका थिए।

पूर्वपश्चिम राजमार्गस्थित चौधरी उद्योग ग्रामसँगै रहेको यस धामको निर्माण उद्योगपति एवं अर्बपति विनोद चौधरीले झण्डै डेढ दशक लगाएर गरेका हुन्। ‘शाश्वतधाममा भक्तजनको आकर्षण देख्दा खुसी लागेको छ’, धामका फाउण्डर ट्रस्टी विनोद चौधरीले भने, ‘यस धामलाई थप आकर्षक बनाउने हाम्रो प्रयास जारी रहनेछ।’

पिता लुनकरणदास चौधरीले वि.सं. २०५९ फागुन महिनामा शिलान्यास गरेको शाश्वत धाम निर्माणको अभिभारा विनोद चौधरीले वि.सं. २०७३ फागुनमा पूरा गरेका थिए। विभिन्न धर्मगुरुहरु, विभिन्न क्षेत्रका व्यक्तित्व र सर्वसाधारणमाझ आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरले २०७३ साल फागुन २४ गते एकम्वरेश्वर शिव मन्दिरको प्राणप्रतिष्ठा गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही दिन शाश्वत धामको विधिवत् उद्घाटन गरेसँगै सर्वसाधारणका लागि खुला गरिएको थियो। सुरुवातीकै दिनदेखि उल्लेख्य मात्रामा मानिसहरु मन्दिर भ्रमणका लागि आउने गरेका छन्। नेपाली नववर्ष अर्थात् गत वैशाख १ गते एकै दिन तीस हजार छ सय ४१ जनाले शाश्वतधामको भ्रमण गरेका थिए।

पवित्र देवघाट र लुम्बिनी क्षेत्रको सामिप्यमा रहेको यस धामभित्र रहेको मनमोहक र वैभवयुक्त एकम्वरेश्वर शिव मन्दिर यहाँको प्रमुख आकर्षण हो। चारैतिर हरियाली र पानीको फोहोरा रहेकाले रातिको समयमा पानीको फोहोरा चलाउँदा यो मन्दिर पानीमा अडिएको भान हुन्छ। एकम्बरेश्वर मन्दिरभित्र एउटा ठूलो शिवलिंग छ।

पार्वती, गणेश, हनुमान, सूर्य नारायण, नवग्रह, सतिदेवी लगायतका थुप्रै हिन्दु देवी देवताका प्रतिमाहरु एकम्बरेश्वर मन्दिरसँगै छन्। मन्दिर अगाडि शिवप्रति भक्तिभावको मुद्रासहितको लुनकरणदास चौधरीको शालिक समेत निर्माण गरिएको छ। धामभित्र रहेका अखण्ड अग्निकुण्ड, यज्ञकुण्ड, शक्तिघाट, गौशाला, धर्मशाला, डिजिटल धार्मिक संग्रहालय आदिको अवलोकनबाट यहाँ पुग्ने जोकोही रोमाञ्चक अनुभूति गर्न सक्छन्।

यहाँ रहेका अर्गानिक फार्म, अर्गानिक भोजनालय, आवासीय सुविधासहितको योग तथा ध्यान केन्द्र आदिको भरपूर उपयोग गर्न पाइने हुनाले यस मनमोहक स्थानमा पुग्ने जो कोहीले थकान र तनावबाट मुक्ति पाई आत्मिक शान्तिको महसुस गर्न पाउँछन्। आधुनिक भौतिकवादी युगमा लोप हुँदै गएको सनातन धर्मको महत्व जोगाउन र मन्दिरमा दैनिक पूजाआजा तथा वैदिक कर्मकाण्ड अभ्यास गर्न शंकराचार्यकै सुझाव बमोजिम यहाँ स्थापना गरिएको गुरुकुल अहिले वैदिक कर्मकाण्ड अध्ययनको थलो बनेको छ। यसका साथै काञ्ची कामाकोटी पीठ, कामक्षदेवी मन्दिर, पशुपतिनाथ मन्दिर, आर्ट अफ लिभिङ लगायतका धार्मिक संघ संस्थासँग समन्वय गरी नेपालमा सनातन धर्म संस्कृतिको जगेर्ना, संरक्षण र जागरणका लागि शाश्वत धामले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?