- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न हुम्लाबाट सात नयाँ उम्मेदवार खडा भएका छन्।
- यस निर्वाचनमा सहभागी सबै राजनीतिक दलले नयाँ अनुहारलाई प्राथमिकता दिने र प्रतिस्पर्धी बनाएको छ।
- उम्मेदवारहरु २६ देखि ५१ वर्ष उमेर समूहका छन्, र उनीहरु सबै नयाँ अनुहार हुन्।
हुम्ला – हिमाली जिल्ला हुम्लाबाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जना उम्मेदवार खडा भएका छन्। उक्त निर्वाचनमा प्रतिस्पर्धी सात वटै राजनीतिक दलले पुराना भन्दा पनि नयाँ अनुहारलाई प्राथमिकता दिएको कारण नयाँ उम्मेदवार निर्वाचनमा प्रतिस्पर्धी भएका हुन्।
निर्वाचनमा भाग लिएका जिल्लाका सम्पूर्ण राजनीतिक दलले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आआफ्नो पार्टीका तर्फबाट प्रतिस्पर्धी बनाइएका सात जना उम्मेदवारबिच चुनावी प्रतिस्पर्धा हुने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए।
जिल्लाबाट पार्टीहरुले सिफारिस गरिएका नामहरु मध्यबाटै केन्द्रबाट उम्मेदवार छनौट भएर आएपछि चुनावी मैदानमा उत्रिएका हुन। जिल्लाबाट नयाँ र पुराना उम्मेदवार सिफारिस भएपनि केन्द्रले भने सवै नयाँ अनुहारलाई अवसर दिएको हो। संयोग पनि कस्तो मिलेको बताउदै निर्वाचनमा भाग लिएका सात वटै राजनीतिक दलले नयाँ अनुहारलाई अवसर प्रदान गरेको काग्रेस हुम्लाका उपसभापति बसन्त रोकायाले बताए। दलहरुले पनि नवयुवाहरुको भावनाको कदर गरेको देखिएको छ।
फागुन २१ गतेको प्रतिनिधि सभाको सदस्यका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउने दलका उम्मेदवारहरुमा नेपाली काँग्रेसबाट जयपति रोकाया, नेपाल कम्युनिष्ट पार्टी (एमाले ) का तर्फबाट दलबहादुर फडेरा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा रहेका छन्।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) को तर्फबाट डाक्टर दिपेन्द्र रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टासी लाङ्जोम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रीक पार्टीका जटिल कार्की रहेका छन। प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेको हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सवै नयाँ अनुहार हुन्।
उनीहरु सवै पहिलो पटक सङ्घीय संसदको सदस्य पदमा प्रतिश्प्रर्धा गर्दै छन। उनीहरु सातै जना २६ देखि ५१ वर्ष उमेर समुहका रहेका छन्। माघ ६ गते उम्मेदवारी दर्ताको दिन आठ जना भए पनि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन मितेरी पार्टी नेपालका जयबहादुर शाहीले फिर्ता लिएका थिए ।