नेपथ्य युरोप यात्राः थोरै नेपाली भएका माल्टामा हलभरि दर्शक

नेपथ्य युरोप यात्राः थोरै नेपाली भएका माल्टामा हलभरि दर्शक
+
-

माल्टा – अफ्रिका र युरोप बीचको भूमध्य सागरमा थोप्लाजस्तो अनकन्टार टापु। सिङ्गो देशको जनसङ्ख्या पाँच लाखभन्दा केही बढी। नेपालीको सङ्ख्या अनुमानित करिब १० हजार।

‘कन्सर्टको घोषणा गरिसक्दा पनि यहाँका मानिसले नेपथ्य आउला भनेर पत्याइरहेका थिएनन्,’ आयोजक टोलीका आकाश गुरुङ भन्छन्, ‘बुधबार २५ सयभन्दा बढी दर्शक हलभरि नाचिरहेको क्षण मलाई लाग्यो- असम्भव भन्ने केही हुँदैन रहेछ।’

अघिल्लो दिनकै एउटा घटनाले यहाँ नेपथ्य समाचारको विषय बनिसकेको थियो। छ शताब्दी पुरानो सङ्ग्रहालय, ऐतिहासिक अनि कलात्मक भवनहरूले भरिभराउ सांस्कृतिक केन्द्र भ्यालेटा घुम्दै गर्दा ब्यान्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ एक ठाउँमा आफ्नै गीत कसैले गाइरहेको सुनेर चकित पर्छन्।

बाटामै बसेर ‘चरी मर्‍यो सिसैको गोलीले’ गाइरहेका मानिस हुन्छन्– त्यस मुलुककै सडक गायक बेन्नी ग्रिमा। अमृत सुरुमा नाच्न खोज्छन् र त्यसपछि रमाउँदै बाँकी गीत सुन्छन्।

त्यसै दृश्यलाई बयान गर्दै ‘माल्टा डेली’ अखबारले समाचार प्रकाशन गर्छ– ‘भ्यालेटामा गाइँदै गरेको आफ्नै गीत सुनेर नेपाली गायक चकित।’ अखबारमा मात्र होइन, टिकटकदेखि फेसबुक र एक्स लगायत सम्मका सामाजिक सञ्जालमा संसारभरि हजारौँ सेयर भएको यो छोटो भिडियो लाखौँ दर्शकले हेरिसकेका छन्।

नेपाली माझ कमै चिनिएको यो सानो मुलुकमा पहिलोपटक पाइला राखेको नेपथ्यले उपस्थित हुनासाथ आर्जन गरेको चर्चालाई उसको भव्य प्रस्तुतिले अझ बुलन्द बनाएको छ।

कन्सर्टका लागि डेढ घण्टाअगावै अर्थात् बेलुकीको ठीक साढे ६ बजे ‘माल्टा फेयर एन्ड कन्भेन्सन सेन्टर’ का ढोका खुला गरिएका थिए। लगत्तै हलको एकातिर घडीका अङ्कहरू दगुर्दै गरेको देखिन्थ्यो भने अर्कातिर लगातार भरिँदै गरेका दर्शकको चहलपहल।

हलभित्र भरिएका दर्शक र उनीहरू बीचको ऊर्जाले पहिलो गीत ‘कोशीको पानी’ देखि नै जताततै नृत्यरत शरीर देखिन सुरु भएको थियो जुन कार्यक्रमसँगै झन् बढ्दै गयो।

सानो भए पनि रणनीतिक महत्त्वको यस मुलुकमा दोस्रो विश्वयुद्धताका बेलायती साम्राज्य अन्तर्गतको गोर्खाली सेना आएको अभिलेख पाइन्छ।

‘अवसरको बाध्यताले हाम्रा पुर्खाले उतिबेलै यहाँसम्म आएर आफ्नो रगत र पसिना बगाएका थिए,’ गायनकै क्रममा अमृतले भने, ‘आउनुस्, उनीहरूकै सम्झनामा एउटा गीत गाऔँ।’

त्यसपछि लाहुरे परम्पराबाटै विकास भएको गीत ‘नैनाताल’ सुनाउँदै गर्दा दर्शक भावुक बनेका थिए। ‘अवसरको खोजीमा भौतारिने नेपाली परम्पराले आज तपाईंहरूलाई यहाँसम्म ल्याएको छ,’ अमृतले थपे, ‘इमानदारीसाथ काम गर्नुस् र यहाँको संस्कृतिको पनि सम्मान गर्नुस्। तपाईंले सम्मान गरे उसले पनि तपाईंको सम्मान गर्छ।’

अमृतले सदाझैँ यहाँको मञ्चबाट पनि संसारभरि फैलिएका नेपालीले आफ्नो भाषा, संस्कृतिको संरक्षण अनि स्वदेशप्रतिको दायित्व निर्वाह गर्न झकझक्याइरहे। नेपालका आफन्तसँग नजिकिन अनुरोध गरिरहे।

पहिलो पटक कन्सर्ट भइरहे पनि यहाँका दर्शक नेपथ्यका सिर्जनाबाट उत्तिकै परिचित देखिन्थे। उदाहरणका लागि बीचमा एकपटक गितारवादक नीरज गुरुङले धुन निकालेकै भरमा हलभरिका दर्शकले गाउन थालेका थिए– ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना।’

‘कन्सर्टमा मन बाँध्ने र रमाइलो पारिरहने यति धेरै विषय थिए कि दुई घण्टा बितेको पत्तै भएन,’ नौ वर्षदेखि यहाँ बस्दै आएका सचिन श्रेष्ठ भनिरहेका थिए, ‘प्रस्तुतिदेखि व्यवस्थापनसम्मको स्तरीयता हेर्दा माल्टामा नेपाली साङ्गीतिक प्रस्तुतिको मानक नै यस कन्सर्टले खडा गरिदिएको छ।’

माल्टाको सडकमा ‘उडायो रेलैले’ गाउने गायक बेनी ग्रिमा पनि कार्यक्रममा सहभागी देखिए। ‘उडायो रेलैले’ प्रस्तुत हुँदा उनी पनि उठेरसँगै गाउँदै थिए।

‘यो गीत यति स्तरीय ब्यान्डको होला भनेर सोचेको थिएन। मलाई यो कन्सर्ट  कुनै पनि अन्तराष्ट्रिय प्रस्तुतीकरणको हाराहारीमा भएको अनुभव भयो। कार्यक्रममा सुनेको ‘रेशम’ गीत मलाई रमाइलो लाग्यो। अब त्यो गीत पनि सिकेर गाउने विचार छ,’ उनले कार्यक्रमबारे प्रतिक्रिया दिए।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

माल्टाको सडकमा ‘उडायो रेलैले’ गाउने गायक बेनी ग्रिमा पनि कार्यक्रममा सहभागी देखिए। ‘उडायो रेलैले’ प्रस्तुत हुँदा उनी पनि उठेरसँगै गाउँदै थिए।

‘यो गीत यति स्तरीय ब्यान्डको होला भनेर सोचेको थिएन। मलाई यो कन्सर्ट  कुनै पनि अन्तराष्ट्रिय प्रस्तुतीकरणको हाराहारीमा भएको अनुभव भयो। कार्यक्रममा सुनेको ‘रेशम’ गीत मलाई रमाइलो लाग्यो। अब त्यो गीत पनि सिकेर गाउने विचार छ,’ उनले कार्यक्रमबारे प्रतिक्रिया दिए।

अत्यधिक नेपाली दर्शक अटाएका सहरका कन्सर्टजस्तै माल्टाको शोमा पनि कार्यक्रम चलुन्जेल मात्र नभई हलबाट बाहिरिँदासम्म पनि दर्शकको भिड, उत्साह र ऊर्जा उस्तै देखिन्थ्यो।

‘नेपालीभाषीको कुल जनसङ्ख्या नै अनुमानित १० हजार भएको ठाउँमा २५ सयभन्दा बढी उपस्थित देखिनु उत्साहजनक हो,’ नेपथ्यलाई व्यवस्थापन गर्दै आएका नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ माल्टाको अनुभवबारे भन्छन्, ‘जनसङ्ख्याकै २५ प्रतिशत दर्शक जुट्नु भनेको अनुपातका हिसाबले सम्भवतः आजसम्मै सर्वाधिक भीड जुटेको नेपथ्यको कन्सर्ट यो नै बन्न पुगेको छ।’

माल्टाको सफलतासँगै १४ सदस्यीय कलाकार, प्राविधिक र व्यवस्थापनको टोली अब अर्को मुलुक पोर्चुगल पुगेको छ। अगस्त ३१ आइतबार राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा कार्यक्रम प्रस्तुत गरिनेछ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ। त्यहाँस्थित ‘स्टुडियो सेभेन- एईडी स्टुडियोज’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ।

फोटोहरु: दिपित राज/नेपालय

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?