- मुख्यमन्त्री चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेश सरकारको प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली सोमबार हस्तान्तरण गरिएको हो।
- प्रणालीमा १ हजार १ सय ९६ तथ्यांक चरहरू समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ।
- प्रणालीले तीन तहका सरकारको पारदर्शिता अभिवृद्धि, सुशासन प्रवद्र्धन, सेवा प्रवाह र जवाफदेहितालाई बल पुर्याउनेछ।
दाङ – लुम्बिनी प्रदेश सरकारलाई प्रदेश तथ्यांक व्यवस्थापन सूचना प्रणाली हस्तान्तरण गरिएको छ। प्रदेश योजना आयोगको तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यलाई उक्त प्रणाली हस्तान्तरण गरिएको हो। साथै मुख्यमन्त्री आचार्यले सो सूचना प्रणालीको सोमवार शुभारम्भ गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रमाणमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन तथ्यांक व्यवस्थापन सूचना प्रणालीले महत्वपूर्ण योगदान पु¥याउने बताए। तीन तहका सरकारले सम्पादन गरेका कामबारे नागरिक सुसूचित हुन पाउनुपर्ने मान्यताका आधारमा प्रदेश सरकारले पारदर्शिता अभिवृद्धि गर्न विभिन्न उपाय अपनाइरहेको उनले उल्लेख गरे।

प्रदेशका लागि तथ्यांक व्यवस्थापन प्रणाली महत्वपूर्ण पूँजी भएको भन्दै उनले तीनै तहका सूचना तथा विवरण यस प्रणालीमा समेटिने र प्रदेशका १०९ पालिकालाई यसमा जोडिने जानकारी दिए।
मुख्यमन्त्री आचार्यले प्रणालीको नियमित अद्यावधिक र सञ्चालनका लागि प्रदेश सूचना प्रविधि प्रतिष्ठानलाई जिम्मेवारी दिइएको बताए। उद्घाटनमै सीमित नराखी यसको प्रभावकारी कार्यान्वयनमा प्रतिष्ठानले अगुवाइ गर्नुपर्नेमा उनले जोड दिए।
प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्यालको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अर्यालले सुशासन प्रवद्र्धन, सेवा प्रवाह र जवाफदेहितालाई केन्द्रमा राखेर प्रणाली निर्माण गरिएको बताए। तथ्यमा आधारित योजना निर्माण, आवधिक योजनाको कार्यान्वयन तथा नियमित अनुगमनलाई यस प्रणालीमार्फत सुदृढ बनाइने उनले उल्लेख गरे। प्रदेश स्थापना भएदेखि हालसम्मका कार्यसम्पादन र उपलब्धिहरूको तथ्यांकगत विश्लेषण समेत यसमा समेटिएको छ।
प्रणालीमा कुल १ हजार १ सय ९६ तथ्यांक चरहरू समेटेर ३४ वटा क्षेत्र विकास गरिएको छ। यसका अतिरिक्त ४२ चरहरू समावेश गरिएको छुट्टै राष्ट्रिय स्तरको तथ्यांक सेट पनि तयार गरिएको छ। ड्यासबोर्डमार्फत सहज र स्पष्ट रूपमा जानकारी प्रस्तुत गर्न १ सय ६४ सूचकहरू विकास गरिएको छ।
बेलायतको अन्तर्राष्ट्रिय विकास सहयोग, द एसिया फाउन्डेसन र सेवा प्रतिष्ठान नेपालको सहकार्यमा प्रदेश योजना आयोगले उक्त प्रणाली तयार पारेको हो। कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्रीले स्मार्ट गभर्नेसको अवधारणाअनुसार प्रणाली विकास गरिएको बताए।
कार्यक्रममा द एसिया फाउन्डेसनका प्रभाव निर्देशक क्वारोलिन ओ डोनेलले मन्तव्य व्यक्त गरिन भने डाइरेक्टर प्रणय स्थापितले प्रणालीसम्बन्धी प्रस्तुतीकरण गरे। नागरिक केन्द्रित तथ्यांक, सार्वजनिक तथ्यांकमा सहज पहुँच र तथ्यांकलाई मानव जीवनसँग जोड्ने उद्देश्यले प्रणाली विकास गरिएको हो।

यसमा प्रदेश स्थापना यता भएका कार्यसम्पादन, विषयगत विवरण, दोस्रो आवधिक योजनाका लक्ष्य, तथ्यांक भण्डारण तथा मूल्यांकनका पक्षहरू समेटिएका छन्। कार्यक्रमको सहजीकरण प्रदेश योजना आयोगका सचिव खिबहादुर कुँवरले गरेका थिए।
