काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे महाराजगञ्जस्थित टिचिङ अस्पतालले अपडेट गरेको छ।
मुटुको धड्कनमा समस्या देखिएपछि ओलीलाई चैत १४ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्जमा भर्ना गरिएको अस्पताले जानकारी दिएको छ।
अस्पताल प्रशासनले जारी गरेको स्वास्थ्य विज्ञप्ति अनुसार, मिर्गौला प्रत्यारोपण पछिको अवस्थामा रहेका ओलीमा ‘हाइड्रोनेफ्रोसिस’, मधुमेह, उच्च रक्तचाप, थाइराइड र मुटुको धड्कन अनियन्त्रित हुने ‘एट्रियल फिब्रिलेसन’ जस्ता पाँच स्वास्थ्य समस्या छन्।
उनको पित्तथैलीमा पत्थरी (Cholelithiasis) समेत रहेको विज्ञप्तिमा उल्लेख छ।
हाल उनलाई अस्पतालको एनेक्स-१ को बेड नम्बर ५०१ मा राखेर चिकित्सकहरूको विशेष निगरानीमा उपचार भइरहेको छ।
सरकारले शनिबार बिहान पक्राउ गरेका उनले टिचिङ अस्पतालबाटै काठमान्डु जिल्ला अदालतमा बयान दिएका छन्।