दाङ– लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक वर्ष २०८२्/८३ मा विनियोजन भएको बजेटबाट बर्दियाको गेरुवा गाउँपालिकामा गेरुवा बहुमुखी क्याम्पसको २६ कोठे प्रशासनिक, शैक्षिक भवन र सभाहल निर्माण कार्य सुरु गरिएको छ।
उक्त भवनको शिलान्यास लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक समारोहका बीच गरेका छन्। ५ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यो क्याम्पस गेरुवा गाउँपालिकाको पहिलो बहुमुखी क्याम्पस हुनेछ।
शिलान्यास कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष आलोक थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री तिमिल्सिना प्रमुख अतिथि, गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसी, उपाध्यक्ष लक्ष्मी चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो।

गेरुवा गाउँपालिका–३ बालुवाटारमा आयोजित शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
स्थानीय तहमा उच्च शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस निर्माण कार्यले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ।
