- इरानका राष्ट्रपति पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतालाई धन्यवाद दिएका छन्।
- साउदी अरब, इजिप्ट, टर्कीका विदेशमन्त्रीहरू वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका छन्।
- इरानले पाँच बुँदे प्रस्ताव पठाउँदै आक्रामकता अन्त्य र आर्थिक क्षतिपूर्ति लगायतका विषयमा जवाफ दिएको छ।
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि पाकिस्तानले गरेको मध्यस्थताको शनिबार प्रशंसा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको कुराकानीमा पेजेश्कियानले इस्लामिक गणतन्त्र विरुद्धको आक्रमण रोक्नका लागि मध्यस्थताको प्रयासका लागि पाकिस्तानलाई धन्यवाद दिएका हुन्।
साउदी अरब, इजिप्ट र टर्कीका विदेशमन्त्रीहरू मध्यपूर्वको युद्धबारे वार्ताका लागि इस्लामावादमा भेट्ने तयारी गरिरहेका बेला यो फोनवार्ता भएको र मध्यस्थताका लागि आभार व्यक्त भएको हो।
यसअघि, इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको थियो। जवाफ दिएपछि इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहने बताएको थियो।
पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा जानकारी गराइएको छैन।
अमेरिकाले प्रस्ताव गरेका १५ बुँदामा इरानले दिएको जवाफ मध्यस्थकर्तामार्फत बुधबार राति पठाइएको थियो र इरानले अर्को पक्षको प्रतिक्रियाको पर्खाइमा रहेको जानकारी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै तस्निमले जनाएको थियो।
इरानले पाँच बुँदे प्रतिप्रस्ताव पठाएर जवाफ दिएको स्रोतले जनाएको छ।
पाँच बुँदामा ‘आक्रामकता’ को अन्त्य गर्दै इजरायल र संयुक्त राज्य अमेरिका युद्धबाट फर्कने, इरानलाई आर्थिक क्षतिपूर्ति दिने र इजरायलले लेबनानमा हेजबुल्लाह र गाजामा हमाससँगको युद्ध रोक्नेजस्ता सबै मोर्चामा शत्रुताको अन्त्य गर्ने सुनिश्चितताको लागि संयन्त्रको स्थापना गर्ने कुरा उल्लेख गरेको बताइएको छ।