काठमाडौँ — कर्णाली प्रदेश सुर्खेतकी सीता वादी मन्त्री बनेकी छन्।
बालेन्द्र शाह नेतृत्वको सरकारको मन्त्रिमण्डलमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सीता वादीलाई दिइएको हो।
सिङ्गो दलित समुदायको प्रतिनिधित्व गर्दै मन्त्री बनेकी सीताले वादी समुदायको भने पहिलो मन्त्रीको इतिहास रचेकी छन्।
दलित महिला क्लस्टरतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक प्रणालीमार्फत संसद् पुगेकी उनले अब मन्त्रालय हाँक्ने अवसर थुप्रै संघर्ष गरेकी छन्।
सुर्खेत वीरेन्द्रनगर-११ झुप्राखोलामा जन्मेकी सीता २०५२ सालमा जन्मेकी थिइन्। जन्मजातै समाजले भन्दै आएको कथित अछुत परिवारकी सीताले बाल्यकालदेखि नै छुवाछुत भोगिन्। साथै पारिवारिक स्थिति गरिबीले ग्रस्त थियो।
भेरी नदी किनारमा बालुवा बोक्दै जीविकोपार्जन गर्ने परिवारमा हुर्किएकी उनले कहिले किताब किन्न पैसा पाइनन्, कहिले बस्ने ठाउँको अभाव झेलिन्, त कहिले पेट र पढाइबीच एक रोज्नुपर्ने बाध्यता बनाइयो। तर, यी कठिनाइले उनलाई रोकेन, बरु अझ बलियो बनाउँदै ल्यायो।
१३ वर्षको उमेरमा एउटा संस्थाले उनलाई शिक्षाको अवसर दियो, जसले उनको जीवनमा नयाँ मोड ल्याइदियो। शिक्षाकै भरमा उनले आत्मसम्मानसहित बाँच्ने आधार पाइन्। पढ्दै जाँदा उनीजस्तै पीडित बालबालिका र महिलाका लागि केही गर्ने भावना जाग्यो। परिवारबाट टाढा बसेर, अनेक सङ्घर्षबीच उनले समाज सेवामा स्नातक (बीएसडब्लू)को अध्ययन पूरा गरिन्।
बाल्यकालदेखि नै कठिन जीवन बिताउँदै उनले शिक्षा र आत्मसम्मानलाई आफ्नो शक्ति बनाउँदै आएकी थिइन्। समाजसेवा अध्ययन पूरा गर्दै उनले वञ्चित समुदाय, विशेषगरी वादी समुदायका महिला र बालबालिकाका लागि दशकौँसम्म काम गरेकी अभियन्ता तथा महिला अधिकारकर्मी हुन् सीता।
क्रमश: राजनीतिशास्त्रमा स्नाकोत्तर गरेकी सीताले लामो समयदेखि सामाजिक कार्यमा सक्रिय भइन्। विभेदका विरुद्ध आवाज उठाइन्। दलित महिलामाथि हुने सम्पूर्ण विभेदका विरुद्ध खबरदारी गरिन्। चुनावी नतिजा आउनुअगाडिसम्म उनी दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा र महिला दिदीबहिनीलाई व्यावसायिक तालिम दिइरहेकी थिइन्। आत्मनिर्भर हुनुपर्छ भन्ने अठोटका साथ उनले हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसाय गरिन्। यस उद्यमले उनलाई आर्थिक रूपमा सक्षम बनाउनुका साथै अन्य महिलाका लागि पनि रोजगारी सिर्जना गर्ने अवसर प्रदान गर्यो।
हाल काठमाडौँ बुढानिलकण्ठ बस्दै आएकी सीताले वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियतिजस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइएका विरुद्ध लडिन्।
सामाजिक क्षेत्रमा सक्रिय रहँदै उनले ‘सुन्दर सहज नेपाल’ जस्ता संस्थामार्फत शिक्षा, महिला सशक्तीकरण र अधिकारका क्षेत्रमा योगदान दिँदै आएकी थिइन्। पछि उनले दिगो परिवर्तनका लागि नीति निर्माणमै पुग्न आवश्यक रहेको भन्दै राजनीतिको बाटो रोजेकी थिइन्। धेरै अपमान र अविश्वासबीच पनि उनी नरोकिकन लागिन्। अन्ततः संसद्मा पुगिन् र वादी समुदायकी पहिलो मन्त्री बनिन्। परिवर्तन सम्भव छ, यदि संघर्ष र विश्वास बलियो छ भन्ने उदाहारण हुन् सीता।
त्यसैगरी, ‘वादी सस्टेन कम्पनी’ स्थापना गरेर उनले आर्थिक रूपमा पछाडि पारिएका समुदायका लागि दिगो जीविकोपार्जनको बाटो खोल्ने प्रयास गरिन्। यसले उनको दृष्टिकोण व्यवहारमा पनि केन्द्रित रहेको देखाउँछ।
उनले दलित तथा महिला अधिकारको बुलन्द आवाज उठाइन्। बाल संरक्षण र लैङ्गिक हिंसाका संवेदनशील मुद्दामा सक्रिय भूमिका खेलेर उनले आफूलाई एक सक्षम समुदाय नेतृका रूपमा स्थापित गरिन्।
अब उनी केवल वादी समुदाय मात्र होइन, सबै वञ्चित र आवाजविहीन महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अभिभावक बनेकी छन्।
विद्यमान सामाजिक विसंगति र भौगोलिक चुनौतीहरूलाई चिर्दै नीति निर्माणको सर्वोच्च तहमा पुग्न सफल सितलाई बधाईको ओइरो लागिरहेको छ।
यही सिलसिलामा ४ कक्षादेखि ९ कक्षासम्म पढाएका प्रधानाध्यापक गणेशप्रसाद दाहालले आफू अत्यधिक खुसी भएको बताएका छन्।
उनले सञ्जालमा लेखेका छन्, ‘स्याबास चेली, तिमी मेरो गौरव हौ। म प्रधानाध्यापक हुँदा ४ कक्षादेखि ९ कक्षासम्म हात समाएर पढाएका विद्यार्थीहरू सफलताको शिखरमा पुग्दा सबैभन्दा खुसी भएको छु।’
सीताले सुर्खेतको इत्राम स्कुलमा माध्यमिक तहसम्म पढेकी थिइन्। त्यसबेला दाहाल प्रधानाध्यापक थिए। सीताको जन्म सुर्खेत जिल्लाको झुप्रा खोलामा बालुवा चालेर जीविकोपार्जन गर्ने वादी समुदायमा भएको थियो। उनको जन्म २०५२ सालमा वीरेन्द्रनगर–११ को अस्थायी बस्तीमा भएको थियो।
मन्त्री यात्रा उनको व्यक्तिगत जित मात्र होइन, सिङ्गो वादी समुदायको पहिचान र उपस्थितिको पनि हो। सामाजिक न्याय, समावेशिता र समान अवसर हो। दलित अधिकार, महिला सशक्तीकरण, बाल संरक्षण, शिक्षा र सुशासन उनका प्रमुख एजेन्डामाथि उनले पक्कै काम गर्ने छिन्।