- लमही नगरपालिकाले जेनजी युवाको भावना अनुसार सेवा प्रवाहलाई चुस्त पार्दै पारदर्शिता र डिजिटल सेवा प्रणाली लागू गरेको छ।
- राजस्व संकलनमा उल्लेखनीय सुधार गर्दै चालु आर्थिक वर्षमा करिब ४ करोड ८८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
- नगरपालिकाले ‘भोलीको काम आज, आजको काम अहिले’ अभियान गर्नाका साथै घरदैलोमा सेवा पुर्याउने उपायहरू अपनाएको छ।
दाङ – लमही नगरपालिकाले जेनजी युवाको भावना अनुसार सेवा प्रवाहलाई चुस्त पारिएको जनाएको छ। सोमवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक सुनुवाई गर्नु अघि जेनजी युवाले राखेका माग र सार्वजनिक सुनुवाइमा उठेका जनगुनासो र युवा पुस्ताका प्रश्नहरूलाई आधार बनाएर लमही नगरपालिका ले सेवा प्रवाह, राजस्व व्यवस्थापन र विकास गतिविधिमा उल्लेखनीय सुधार गरेको जनाएको हो।
नगर प्रमुख जोगराज चौधरी ले नगरबासीको आवश्यकता अनुसार काम अघि बढाइएको बताए। सीमित स्रोतसाधनका बाबजुद पनि नगरपालिकाले अधिकतम परिणाम दिन प्रयास गरिरहेको उनको भनाइ थियो। उपप्रमुख लक्ष्मी योगी ले न्याय सम्पादन प्रक्रियामा पनि उल्लेखनीय प्रगति भएको बताइन। प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी ले राजस्व संकलन र परिचालनमा सुधार आएको उल्लेख गर्दै योजनाहरू कार्यान्वयनतर्फ अघि बढिरहेको जानकारी दिए।

सार्वजनिक सुनुवाइमा विशेषगरी पारदर्शिता, डिजिटल सेवा, कर्मचारी व्यवस्थापन र युवामैत्री कार्यक्रमको माग उठेको थियो। सोही आधारमा नगरपालिकाले कार्यपालिकाका निर्णयहरू आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गर्न थालेको छ। ‘भोलीको काम आज, आजको काम अहिले’ अभियानमार्फत सेवा प्रवाहलाई छिटो, सरल र प्रभावकारी बनाउने प्रयास गरिएको छ। क्यूआर कोडमार्फत राजश्व संकलन सेवा उपलब्ध गराउने अभ्यास सुरु गरिएको छ भने कर्मचारी उपस्थितिका लागि समय व्यवस्थापन प्रणाली लागू गरिएको छ।
टोल विकास संस्थासँगको सहकार्यलाई सुदृढ गर्दै नवीकरण प्रक्रिया अघि बढाइएको छ। साथै, जन्मदर्ता र मृत्युदर्ता प्रमाणपत्र घरदैलोमै पुगेर वितरण गर्ने अभियान सुरु गरिएको छ, जसले सेवा प्रवाहलाई थप सहज बनाएको नगरपालिकाको दाबी छ।

राजस्व व्यवस्थापनतर्फ नगरपालिकाले उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को चैत ९ गतेसम्म ४ करोड ८८ लाखभन्दा बढी राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ करोड ८९ लाख रुपैयाँले बढी हो। घुम्ती शिविर सञ्चालन गरी मात्रै ३८ लाखभन्दा बढी राजस्व संकलन गरिएको छ। कर दरबारे नागरिकबाट आएका गुनासोलाई सम्बोधन गर्न पुनरावलोकन समिति गठन गरी दर समायोजन प्रक्रिया पनि अघि बढाइएको जनाइएको हो।