- लमही-घोराही सडकखण्डमा साँघुरा भागहरूलाई फराकिलो बनाउन सडक डिभिजन कार्यालय दाङले काम तीव्र पारेको छ।
- माटो कटिङ र रिटेनिङ वाल निर्माणसँगै जोखिमपूर्ण मोडहरू सुधार गरी आवागमन सहज बनाइँदैछ।
- सडकलाई दीर्घकालीन रूपमा चार लेन क्षमताका रूपमा विकास गर्ने लक्ष्य रहेको छ।
दाङ- पहाडी भूभागमा रहेको लमही-घोराही सडकखण्डमा ठाउँ-ठाउँमा साँघुरा घुम्ती र वर्षायाममा पहिरोको उच्च जोखिम देखिएपछि अहिले सडक फराकिलो बनाउने काम तीव्र पारिएको छ।
घोराही-लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका- ३ कुइरेपानीदेखि लमही नगरपालिका- ६ अर्जुनखोलासम्म करिब १७ किलोमिटर सडकको साँघुरा भागहरू फराकिलो बनाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय, दाङले जनाएको छ।
सडक सुधार कार्यक्रमअन्तर्गत जोखिमपूर्ण मोडहरू सुधार गर्ने, साँघुरा स्थानमा कटिङ गर्ने तथा आवश्यक ठाउँमा रिटेनिङ वाल निर्माण गर्ने काम भइरहेको छ। यसका लागि लमहीको अर्जुनखोलादेखि घोराहीको चौपट्टा मन्दिरसम्मको खण्डमा २० करोड १३ लाख ५९ हजार रुपैयाँ बराबरका तीनवटा ठेक्का सम्झौता गरी काम अघि बढाइएको सडक डिभिजन कार्यालय, दाङका प्रमुख दिपेन्द्र विष्टले जानकारी दिए।
उनका अनुसार कुइरेपानीदेखि मसोटखोलासम्मको सडकखण्ड मुनाल- केवी-सुनिल एण्ड विजय जेभी, दाङसँग १३ करोड ४६ लाख ६१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ भने मसोटखोलादेखि अर्जुनखोलासम्मको खण्ड इजी-अलकापुरी जेभीसँग ६ करोड ८० लाख ९० हजार रुपैयाँमा विस्तारको काम भइरहेको छ। चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
प्रमुख विष्टका अनुसार जोखिमपूर्ण मोडहरू काटेर सडक फराकिलो बनाइँदा सवारीसाधन सञ्चालन गर्दा दुवैतर्फको दृश्य स्पष्ट देखिने बनाइँदैछ। साँघुरा स्थानमा चौडाइ बढाउने, बढ्दो सवारी चाप व्यवस्थापन गर्ने र आवागमन सहज बनाउने उद्देश्यले माटो कटिङसँगै आवश्यक स्थानमा वाल निर्माण गरिँदैछ।
हाल मोड तथा साँघुरा स्थानहरू खुला बनाउने काम भइरहे पनि यस सडकलाई दीर्घकालीन रूपमा चार लेन क्षमताको मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।



