- दाङको लमही नगरपालिकाले घर बहाल कर संकलन अभियान टोल विकास संस्थासँग सम्बन्धित सम्झौतामा आधारित भएर सुरु गरेको छ।
- नगरपालिकाले टोल विकास संस्थालाई प्रोत्साहन गर्न उत्कृष्ट कार्य गर्ने संस्थालाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार दिनेछ।
- यस अभियानले स्थानीयस्तरमा कर तिर्ने संस्कृतिको विकास र नगरपालिकाको राजस्व वृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
दाङ– दाङको लमही नगरपालिकामा घर बहाल कर संकलन गर्ने अभियान सुरु गरिएको छ। लमही नगर निर्माण महाअभियान अन्तर्गत टोल विकास संस्थासँग भएको सम्झौताअनुसार अभियान सुरु भएको हो।
अभियानको सुरुवात लमही नगरपालिका ५ गोरक्षनगर टोल विकास संस्थाका अध्यक्ष लील बहादुर रोकाले घरको बहाल कर तिरेपछि भएको छ। घर भाडामा दिएबापत लाग्ने कर बुझाउँदै अभियानलाई व्यवहारिक रूपमा सुरु गरेको प्रतिक्रिया दिएका छन्।
लमही नगरपालिकाले टोल विकास संस्थाहरूलाई सक्रिय बनाउँदै घर बहाल कर संकलनलाई प्रभावकारी बनाउने उद्देश्यले प्रोत्साहन स्वरूप पुरस्कार व्यवस्था समेत गरेको छ। नगरपालिकाको निर्णयअनुसार उत्कृष्ट कार्य गर्ने टोल विकास संस्थालाई नगद पुरस्कार प्रदान गरिनेछ।
नगरपालिकाका अनुसार पहिलो हुने टोल संस्थालाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३५ हजार रुपैयाँ र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
यस अभियानले नगरपालिकाको राजस्व वृद्धि गर्नुका साथै स्थानीयस्तरमा कर तिर्ने संस्कृतिको विकास गराउन मद्दत पुग्ने अपेक्षा गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए।
साथै टोल विकास संस्थाहरूको सक्रियताले नगर विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।