- लुम्बिनी प्रदेशले धार्मिक, सांस्कृतिक र खेल पर्यटनलाई प्राथमिकतामा राख्दै प्रदेश विकासका योजना अघि बढाइरहेको छ।
- देविकोट क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकारले विशेष ध्यान दिँदै, मन्दिरको जीर्णोद्धारलाई प्राथमिकतामा राख्ने उल्लेख गरियो।
- राप्ती गाउँपालिकाको दौड प्रतियोगितामा पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम स्थानमा रहे।
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन धार्मिक, सांस्कृतिक तथा खेल पर्यटनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले योजना निर्माण गरिरहेको बताएका छन्।
राप्ती गाउँपालिकाको नवौँ स्थापना दिवसका अवसरमा शुक्रबार देविकोटमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक, सांस्कृतिक तथा खेल पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकतामा राखिएको स्पष्ट पारे।

उहाँले देविकोट क्षेत्रको धार्मिक तथा ऐतिहासिक महत्व उल्लेख गर्दै यहाँ पर्यटकहरूको आवागमन बढाउन आवश्यक पूर्वाधार विकासमा प्रदेश सरकारले ध्यान दिने बताए।‘यो ठाउँको महिमा धेरै छ। स्वस्थानी व्रतकथामा आधारित यो स्थान पवित्र भूमि हो। यहाँ पर्यटकहरूको आवागमन बढाउन सकिन्छ,’उनले भने–‘प्रदेश सरकारले यहाँसम्म आउने सडकलाई सधैं सञ्चालनयोग्य बनाउन बहुवर्षीय योजनामा राखेर काम गर्छ। साथै मन्दिरको जीर्णोद्धार र संरक्षणमा पनि विशेष ध्यान दिइनेछ।’
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले कार्यशैली परिवर्तन गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने बताए। उनले कार्यसम्पादनका आधारमा राप्ती गाउँपालिका देश तथा जिल्लामै उत्कृष्ट रहेको उल्लेख गर्दै उक्त उपलब्धिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले खेललाई पर्यटनसँग जोडेर प्रदेश सरकारले कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले युवाहरूको चाहनाअनुसार खेल पूर्वाधार निर्माण, खेल सामग्री व्यवस्थापन तथा दक्ष खेलाडी उत्पादनका लागि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिइएको जानकारी दिए।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारुले प्रदेश सरकार गठनपछि दुर्गम बस्तीहरूमा आधारभूत विकासका पूर्वाधार विस्तार भएको बताए। जिल्ला समन्वय समितिका प्रमुख नित्यनन्द शर्मा, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीलगायतले पनि कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख विश्वास विश्वकर्माले गरेका थिए।
देविकोट दर्शन दौड: पुरुषतर्फ अर्जुन बुढा र महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम
राप्ती गाउँपालिका स्थापना दिवसका अवसरमा आयोजित प्रथम खुला पुरुष तथा महिला क्रस कन्ट्री दौड प्रतियोगितामा पुरुषतर्फ डोल्पाका अर्जुन बुढा र महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन्।
प्रतियोगितामा अर्जुन बुढाले २५ मिनेट ४४ दशमलव ७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरे। जुम्लाका चन्द्र रावत ३४ मिनेट ४१ दशमलव ६ सेकेन्डका साथ दोस्रो तथा जुम्लाकै युवराज बुढा ३६ मिनेट ५१ दशमलव ९ सेकेन्डमा तेस्रो स्थानमा रहे। त्यस्तै तुलसीपुरका विशाल कुमार महत ४० मिनेट ०४ दशमलव २ सेकेन्डमा चौथो, गोरखाका सञ्जय श्रेष्ठ ४१ मिनेट १७ दशमलव ३ सेकेन्डमा पाँचौँ र दार्चुलाका अक्कल पाल ४१ मिनेट १७ दशमलव ५ सेकेन्डमा छैटौँ स्थानमा रहेका थिए।
महिलातर्फ कर्णालीकी पूर्णलक्ष्मी न्यौपानेले ४८ मिनेट ०३ दशमलव ०१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरिन। कर्णालीकी कल्पना बुढा ५० मिनेट ३९ दशमलव ०३ सेकेन्डमा दोस्रो तथा जुम्लाकी सन्देवा बुढा ५२ मिनेट २४ दशमलव २ सेकेन्डका साथ तेस्रो स्थानमा रहे।
यसैगरी जुम्लाकी सुन्तली पाण्डे ५८ मिनेट १८ दशमलव १ सेकेन्डमा चौथो, सुदूरपश्चिमकी सरस्वती भट्टराई ५८ मिनेट ०६ दशमलव ४ सेकेन्डमा पाँचौँ र जुम्लाकी अन्तिमा बुढा ५९ मिनेट २१ दशमलव ६ सेकेन्डमा छैटौँ स्थानमा रहे।
प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीय हुनेलाई ३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका थिए।