काठमाडौँ– निर्वाचनको समयमा एउटा निरन्तरको रोग हो, पार्टी अदलबदल गर्ने। यसअघिका निर्वाचनको समयमा आफ्नो पार्टीप्रति असन्तुष्ट जनाउँदै अर्को पार्टीमा जाने गरेको जस्तै अहिले पनि त्यो रोग सबै पार्टीमा देखा पर्यो।
२०७९ मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पनि त्यो रोगले छाडेन। यसपटक त रास्वपामा अझै बढी पार्टी छाड्नेको लहर देखियो। केन्द्रीय नेतृत्वदेखि प्रदेश र जिल्लाका सभापतिहरूले नै पार्टी छाडेर अन्य पार्टी रोजे।
यसमध्ये एक हुन्, रास्वपाको केन्द्रीय गुनासो व्यवस्थापन विभागको कार्यवाहक प्रमुख भइसकेका प्रणय शमशेर राणा। उनी हाल कांग्रेस प्रवेश गरेका छन्। ०७९ को निर्वाचनमा उनी रास्वपाबाट काठमाडौँ ५ मा उम्मेदवार रहेर कांग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए। अहिले पनि उनी उम्मेदवारको आकांक्षी थिए।
तर रास्वपाले उनलाई टिकट दिएन। त्यसपछि उनी रास्वपा छाड्दै कांग्रेसमा पुगेका छन्।
उनै राणासँग हामीले रास्वपा किन छाडेको? के साँच्चिकै रास्वपाभित्र बेथिति छ? केकस्ता बेथिति देख्नुभयोजस्ता प्रश्न सोधेका छौँ।
प्रस्तुत उनै राणासँग देशसञ्चारले गरेको कुराकानीको सम्पादित अंश:
भनिन्छ रास्वपातिर अहिले लहर छ। रास्वपाले बहुत ल्याउने पनि रास्वपाका नेताहरूले दाबी गरिरहेको अवस्था छ। यस्तो अवस्थामा पनि किन रास्वपा छाड्न मन लागेको हो तपाईंलाई?
छोड्न मन भन्दा पनि बाध्यता भयो। किनभने रास्वपाको केन्द्रले दुई-चार वटा कुरा जुन पार्टीको विचार सिद्धान्त विपरीत गर्यो। नम्बर एक, अलिकति हाम्रो आन्तरिक सुशासन र आन्तरिक लोकतन्त्रलाई चाहिँ नि अब त्यसलाई आगो लगाइयो। हाम्रो उम्मेदवार चयन प्राइमरीको प्रक्रियाबाट हुने भनेको आन्तरिक चुनावबाट आफ्ना उम्मेदवारहरू चयन गर्ने हाम्रो विधानमा थियो। समानुपातिक तर्फ गरेको जस्तो गरियो, ५० प्रतिशतको नम्बर देखाइयो तर अन्य ५० प्रतिशतको नम्बर नै नदेखाइकन पहिलो लिस्ट पछि त्यहाँ डामाडोल भयो र अन्तिम बन्द सूचीमा त के कसरी मान्छे प्रवेश गरे थाहै छैन।
विधिको लागि भनेर समानुपातिक उम्मेदवारसँग ५०-५० हजार रुपैयाँ उठाइयो, तर उनीहरूले आफ्नो परीक्षाको नम्बर नै हेर्न पाएनन्। विशेष गरी प्रवासी नेपालीहरूलाई आकर्षित गर्न न्यूनतम १० प्रतिशत कोटा भनेर कार्यविधि बनाएर प्रचार गरियो, सयौँले आवेदन शुल्क पठाए, तर अन्तिममा बन्द सूचीमा एक जना पनि परेनन्। मैले यो पैसा फिर्ता गर्नुपर्छ भनेर आवाज उठाएको थिएँ।
त्यस्तै, प्रत्यक्ष तर्फ २५ हजार रुपैयाँ उठाइयो। पछि ‘प्राइमरी इलेक्सन गर्न सक्दैनौँ, अर्कै विधि हुन्छ’ भनियो। त्यो विधि के हो थाहा भएन, अन्तिममा खल्तीबाट मन परेका र खल्तीबाट बाहिरबाट भर्खर आएका मान्छेलाई टिकट दिइयो। मैले यसलाई ठगी भनेँ, किनभने प्रक्रियाको लागि उठाएको पैसा फिर्ता गरिएन। यसको कुनै जवाफ नपाएपछि म त्यहाँ रहनै सकिन।
तपाईँ त आफै केन्द्रीय गुनासो व्यवस्थापन विभागको कार्यवाहक प्रमुख पनि हुनुहुन्थ्यो त्यहाँ बस्दा के थाहा पाउनुभयो?
म आफै कार्यवाहक प्रमुख थिएँ, गुनासो आएको आयै गर्थ्यो। कसैको जवाफको गुनासो माग्न मैले पनि केन्द्रसँग माग्नुपर्यो। तर केन्द्रसँग जवाफ माग्दा आउँदैनथ्यो।
किनभने पहिलेदेखि स्क्यामहरू बनाउने बानी होला यो। केके कार्यक्रम गर्ने पैसा उठाउने जतिजति आफूले भोग्दै गइयो। त्यतित्यति स्पष्ट हुँदै गइयो। यो ठूलो एउटा ठुलो फाइनान्सियल स्क्याम (वित्तीय घोटाला) गरेर पोलिटिकल पार्टी चलाइरहनु भएको छ। नेपाली जनतालाई मूर्ख बनाउन खोजिएको छ। संगठन पुरै स्क्याममा परिसक्यो। साथीहरू यस्तो स्क्याममा परेका छन् कि बोल्न पनि सक्दैनन्, छाड्न पनि सक्दैनन्।
तर हामी जो बोल्न सक्ने मान्छेहरू छौँ हामीले आँखा पनि खोलिदिनुपर्छ भनेर मैले चाहीँ सुरुमै आवाज उठाएर यसको खबरदारी गरेको हुँ।
कस्ता गुनासाहरू सुन्नुपर्यो तपाईँले?
सुरुमा ‘हाम्रो आन्तरिक चुनाव किन भएन? हामीले आफ्नो उम्मेदवार चयन गर्न किन नपाउने? विधानअनुसार हामीले उम्मेदवार चयन गर्ने अधिकार किन लुटियो?’ संगठनको अधिकार किन लुटियो? संगठन चाहिन्छ कि चाहिँदैन पार्टीलाई भन्ने जस्ता गुनासाहरू रहे। १६५ निर्वाचन क्षेत्रमै साथीहरू रुष्ट छन्। कतिपय साथीहरू रुष्ट भए पनि बाध्यताले चुनाव प्रचार प्रसारमा हिडिरहेका छन्।
अर्को कुरा प्रवासीहरूले पनि पैसा उठाएर प्रतिनिधित्व नभएकोमा गुनासो गरे। त्यस्तै जाँचै नदिएका मान्छेहरू कसरी बन्द सूचीमा परे? ल कुलमान र बालेन जीका कुरा छाडौँ अन्य साथीहरूले कसरी टिकट पाए जस्ता धेरै गुनासा आएका थिए। सायद मलाई लाग्छ केही व्यक्तिहरू पार्टीविरुद्ध मुद्दा लिएर अदालत पनि जाँदैछन्। यति धेरै गुनासो आउँदा पनि पार्टी नेतृत्व मौन भयो।
तपाईंहरूले पैसा फिर्ता गर्नुपर्ने माग गर्दा नेतृत्वले के भनिरहेको छ?
म बोलेपछि केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारीजीले हामीले कसैसँग पनि पैसा उठाएका छैनौँ भनेर एकदमै झुट बोल्नुभयो। हामीसँग पैसा उठाएको रसिदै हुन्छ। अनलाइनमा पैसा नतिरेसम्म उम्मेदवारका लागि आवदेन नै दर्ता हुँदैन।
यत्रो प्रमाण हुँदा पनि केन्द्रीय कोषाध्यज्यूले नै झुटो बोल्नुभयो। के भन्नु। उहाँबाट गैरजिम्मेवार अभिव्यक्ति आयो।
एउटा व्यक्तिलाई देवत्वकरण गर्नु हुँदैन भन्ने पार्टी एउटा व्यक्तिलाई देवत्वकरण गर्नमै अल्झियो। हस्ताक्षर अभियानमा निस्किएको छ। त्यहाँ पनि पैसा उठाएको छ।
यत्ति कारण हो तपाईंले पार्टी छाड्नुको?
यत्ति भनेको यो गम्भिर कारण होइन र! किन भने हामीले आम नागरिकलाई आन्तरिक लोकतन्त्र, सुशासनको ठूला गफ दिने गरेका छौँ। तर पार्टी भित्र संगठन नचाहिने, पैसा पनि ठगी गरीगरी उठाउने, जवाफदेहीता छैन। प्रकृयाहरू पूरै किल्चिदिने, संगठनलाई बाध्यात्मक परिस्थितिमा राख्ने, बाहिरबाट ‘भाइरल सेलिब्रेटी’ जसलाई राष्ट्रिय सुरक्षा वा परराष्ट्र नीतिकोबारेमा थाहै छैन, त्यसलाई पार्टीमा ल्याउने जस्ता कार्य भए। यसले आन्तरिक लोकतन्त्र, सुशासन र आर्थिक पारदर्शितालाई मारेपछि मैले पार्टी छाडेको हो।
अहिले रास्वपाले उम्मेदवार बनाएकोमध्ये राष्ट्रिय सुरक्षाको विज्ञ को हो? बाटोबाटोबाट मान्छे टिपेका छन्। बालेन समूहबाट आएका मान्छेहरूमाथि पनि आर्थिक पारदर्शितालगायत विषयमा प्रश्न आइरहेको छ। मलाई के लाग्छ भने न्यूनतम एक दर्जन मान्छेहरू चुनावपछि अयोग्य ठहरिनेछन्।
रास्वपाले त तपाईँहरूलाई अवसरवादी भनेको छ?
ठगहरूले भन्ने नै अवसरवादी हो। उहाँहरू माथि त फौजदारी अभियोग, भ्रष्टाचार, सहकारी ठगी, बैकिङ सिस्टमलाई बिगारेको, भिजिट भिसादेखि हरेक कुरा जस्ता दागहरूकाहरूले नलागेकोलाई भन्ने भनेकै अवसरवादी हो।
एउटा व्यक्तिलाई देवत्वकरण गर्नु हुँदैन भन्ने पार्टी एउटा व्यक्तिलाई देवत्वकरण गर्नमै अल्झियो। हस्ताक्षर अभियानमा निस्किएको छ। त्यहाँ पनि पैसा उठाएको छ। हस्ताक्षर संकलन गर्न गएको कि ४८-५० करोड उठाउन गएको यस्ता थुप्रै विषय छन्। जे मा पनि पैसा उठाएको छ। नेपाली नागरिक पनि फेरि त्यस्तो इमोसनल छन्। जहाँ पनि गएर पैसा दिएको छ।
पार्टीको विधि विधानअनुसार उम्मेदवार उठाइन भन्ने गुनासो तपाईंहरुको देखियो। तर रास्वापाका अन्य नेताहरुले अहिलेको राजनीतिक संक्रमणको सयमा त यस्तो भइहाल्छ नि भन्ने गरिएको छ। यसलाई कसरी लिनुहुन्छ?
संक्रमणकालीन भनेर बहानाबाजी धेरै भएको छ। राजनीतिमा कहिल्यै पनि सामान्य परिस्थिति हुँदैन। सबै विशेष परिस्थितिहरूलाई आँकलन गरेर विधि विधान बनाउने हो। यस्तै संक्रमणको अवस्था आउन सक्छ भनेर विधानमै २० प्रतिशत पार्टी नेतृत्वले निर्णय गर्ने अरु प्राइमरी गर्ने भन्ने व्यवस्था त छ त।
१६० को २० प्रतिशतबाट बालेनजीको समूहलाई मिलाएको भए पनि ८० प्रतिशतको प्राइमरी गर्नुपर्ने होइन। तर त्यसो भएन। १०० प्रतिशत नै खल्तीबाट उम्मेदवार बनाउनु त एकदमै ठूलो ठगी, एकदमै नैतिक आचार पतन भएको कुरा हो यो।
किनभने उहाँहरूलाई खबरदारी गर्ने, पार्टी राम्रो बनाउने, संगठन बलियो बनाउनेहरू चाहिएको छैन। उहाँहरूलाई भजनमण्डली भएर जे भन्यो त्यही मान्ने र केही प्रश्न नउठाउनेहरू चाहिएको छ। त्यो हामी हुन सकेनौँ।
तपाईंले त पहिले कांग्रेस छाडेको हो। अनि फेरि कांग्रेसमा नै फर्किनुपर्ने के आइलाग्यो?
कांग्रेसमा पहिले कुनै एक व्यक्तिले म चुनावको आकांक्षि हुँदा विधानविरीत कारबाही गर्नुभएको थियो। अहिलेको नयाँ नेतृत्वले पुराना कुरा विर्सिएर आउन आग्रह गरेपछि म फर्किएको छु। म राजनीतिक व्यक्ति एक्लै अभियान्ता भएर पनि बस्न सक्ने कुरा भएन। मलाई पोलिटिकल सिस्टम बिल्डिङमा काम गर्ने इच्छा छ।
कांग्रेस प्रवेश गर्दैगर्दा म बाहिर केही सिक्न गएको थिएँ। केही सिकेर आए भन्नुभएको थियो। रास्वपा त तपाईंका लागि बेतिथि सिकाउने पार्टीकारुपमा रह्यो। के त्यही हो सिकेको?
सिक्ने भन्दाखेरी मैले रास्वपामा बस्दा संगठन कसरी निर्माण गर्ने, यति भइरहेका कांग्रेस, एमाले, माओवादीकोबीचमा संगन निर्माण गर्ने अभ्यास गरें। मैले सिके र सिकाए पन। रास्वपाको अधिवेशन अभ्यास गर्न भाएँ। अधिवेशनको विधान पनि मेरो नेतृत्वमा बनाएको हो।
धेरै राजनीतिक अभ्यास गर्दैगर्दा अझै राम्रो कसरी गर्ने, जस्तो कांग्रेसको विधानभन्दा अझ राम्रो कसरी बनाउने भन्ने रास्वपामा प्रयास गरें। त्यसबाट मैले केही त सिक्न पाएँ नि। तिनै कुरालाई अब नेपाली कांग्रेसमा पनि काम गर्नेछु।
तपाईंको छाडेको पार्टी रास्वपाले अबको निर्वाचनबाट बहुमत ल्याउने कुरा गरिरहेको छ। अन्य पार्टीहरूको कुरा पनि त्यस्तै सुनिन्छ। तपाईंलाई के लाग्छ कुनै पार्टीको बहुमत आउन सम्भव छ?
बहुमत त सबैले भन्छन्, तर नेपाली नागरिक त्यति मुर्ख पनि छैनन् होला। सोसल मिडियाबाट केही प्रभाव पर्ला तर त्यही सोसल मिडियाबाट खबरहरू पनि बाहिर आउँछन्। मलाई लाग्छ सोसल मिडियाबाट नागरिकहरू पनि थप सचेत भइसकेका छन्। त्यसले गर्दा नागरिकले विवेकपूर्ण मतदान गर्छन् भन्ने मलाई लाग्छ।