- केपी शर्मा ओली र बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले झापा क्षेत्र नम्बर ५ मा चुनावी चर्चा शिखरमा पुर्याएको छ।
- स्थानीयहरूले जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा पनि चुनावी चर्चा भने सर्वत्र व्याप्त रहेको छ।
- विश्लेषकहरूका अनुसार मतदाताहरूको खुला समर्थनले परम्परागत दलहरूलाई चुनौती दिने संकेत देखिएको छ।
झापा- झापा क्षेत्र नम्बर ५ मा चुनावी ‘कम्पन’ सुरु भएको छ। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका दाबेदारका रूपमा उभिएका बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले गर्दा यस क्षेत्रको चर्चा शिखरमा पुगेको हो ।
बिर्तामोडदेखि दमक र केर्खादेखि दक्षिणका ग्रामीण बस्तीसम्म अहिले चुनावी रौनकले छपक्कै छोपेको छ ।
पूर्वाधारको अवस्था र जनगुनासो हुलाकी राजमार्ग अन्तर्गत कन्काई नदीमा विगत १४ वर्षदेखि अलपत्र अवस्थामा रहेको पुलले विकासको गतिलाई नै ब्रेक लगाइदिएको भान हुन्छ ।
स्थानीयहरू बाँसको भाटे पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । यद्यपि, खेतीपातीमा व्यस्त किसानहरू र चियापसलमा झुम्मिने सर्वसाधारणमा चुनावी चर्चा उत्तिकै छ ।
‘जसले जिते पनि आफ्नो दुःख आफैंसँग हुने’ निराशावादी सोचका बीच पनि यसपटक मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा पहिले नै स्पष्ट देखिन्छन् ।
कार्यकर्ताको संशय र मतदाताको उत्साह विगतका चुनावमा एमाले र कांग्रेसको जुन खालको दबदबा देखिन्थ्यो, यसपटक त्यसमा केही संशय र कमजोरी देखिएको छ ।
पुराना दलका कार्यकर्ताहरू बदलिएको परिस्थिति र जनताको माहोल देखेर केही सशंकित छन् । उनीहरू राष्ट्रियता र इतिहासको चर्चा गर्दै मतदाता फकाउन व्यस्त छन्, तर चुनावी नतिजाप्रति ढुक्क हुन सकेका छैनन् ।
यसको विपरीत, सर्वसाधारण र युवा मतदाताहरू भने विगतमा जस्तो अन्तिम समयमा निर्णय गर्ने पक्षमा छैनन् । उनीहरू हाकाहाकी आफूले चाहेको उम्मेदवारको पक्षमा उभिएका छन् ।
विरासतलाई चुनौती दिने संकेत लामो समयदेखि राजनीति नियालिरहेका केही विश्लेषकहरूका अनुसार, मतदाताहरू यसरी खुलेर समर्थनमा उत्रनुले परम्परागत दलहरूलाई ‘ब्याक फुट’ मा धकेल्न सक्ने र विरासतको राजनीतिलाई धक्का दिन सक्ने संकेत गर्छ ।
मानिसहरूको यो रुझान यदि भोटमा परिणत भयो भने नतिजा अप्रत्याशित हुनसक्ने देखिन्छ । यद्यपि, चुनावी मिति आउन अझै समय बाँकी रहेको र चुनावी हावा जुनसुकै बेला परिवर्तन हुनसक्ने आँकलन गरिएको छ।