- लमही नगरपालिकाले राजस्व संकलनका लागि सञ्चालन गरेको शिविरसँगै ९९ लाख १ हजार ७८९ रुपैयाँ राजस्व संकलन भएको छ।
- चालु आर्थिक वर्षको माघ मसान्तसम्म नगरपालिकाले ३ करोड ४३ लाख ४५ हजार ३१८ रुपैयाँको राजस्व संकलन गरेको छ।
- नगर निर्माण महाअभियानले सरसफाइ अभियानलाई तीव्र बनाउँदै अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको संरक्षणलाई प्राथमिकता दिएको छ।
दाङ- लमही नगरपालिकाले राजस्व संकलनका लागि शिविर सञ्चालन गरेपछि राजस्व संकलनमा उल्लेख्य प्रगति देखिएको छ।
चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिए पनि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेपछि लमही नगर निर्माण महाअभियान सञ्चालन गर्दै राजस्व संकलनका लागि शिविर सञ्चालन गरिएको हो।
टोल विकास संस्था, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, होटल व्यवसायी समिति लगायतका निकायसँग सहकार्य गर्दै राजस्व संकलन थालिएको हो। व्यवसाय दर्ता तथा नवीकरणका लागि छुटको व्यवस्था गरिएपछि हाल धमाधम व्यवसाय दर्ता र नवीकरणको काम भइरहेको छ।
लमही नगर निर्माण महाअभियानअन्तर्गत यस अवधिमा ९९ लाख १ हजार ७ सय ८९ रुपैयाँ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए।
“सबै पक्षलाई एकसाथ अघि बढाएकै कारण यसलाई नगर निर्माण महाअभियान भनिएको हो। यसअन्तर्गत अहिले राजस्व संकलनका लागि शिविर नै सञ्चालन गरेका छौं,” उनले भने, “नगरवासीको साथ र समर्थन बढ्दै गएको छ। उपलब्धि देखिन थालेको हो।”
चालु आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्तसम्म ३ करोड ४३ लाख ४५ हजार ३ सय १८ रुपैयाँ राजस्व संकलन भएको नगरपालिकाले जनाएको छ।
नगर निर्माण महाअभियानअन्तर्गत टोल विकास संस्थाहरू परिचालन गरी सरसफाइ अभियानलाई तीव्र बनाइएको छ भने नगरभित्रका स्रोत–साधनहरूको सरसफाइ अभियान पनि सञ्चालन भइरहेको छ। साथै, अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको संरक्षण तथा नेपाल क्रिकेट संघ (क्यान) लाई हस्तान्तरण गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।