- गण्डकी प्रदेशका ११ जिल्लामा आगामी निर्वाचनको लागि सात हजार १४० प्रहरी परिचालन गरिनेछ।
- प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने र १८ लाख ७० हजार ६५ मतदाता रहेको जनाइएको छ।
- कुल एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्रहरू प्रदेशभर कायम गरिएका छन्।
गण्डकी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सात हजार १४० प्रहरी परिचालन हुने भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा एक हजार तीन, मनाङमा १६३, लमजुङमा ६०६ र कास्कीमा ९५७ प्रहरी परिचालन हुनेछन् ।
यसैगरी, तनहुँमा ८३८, स्याङ्जामा ९४०, नवलपुरमा ८१८, मुस्ताङमा २०२, म्याग्दीमा ४११, बागलुङमा ६५८ र पर्वतमा ४३९ जना प्रहरी परिचालन हुनेछन् ।
प्रदेशभर १४ हजार १२ जना निर्वाचन प्रहरी खटाइने जनाइएको छ । अठार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी कास्कीमा तीन लाख आठ हजार ५७२ मतदाता छन् भने मनाङमा सबैभन्दा कम सात हजार छन् ।
स्याङ्जामा दुई लाख ४८ हजार ८१६, तनहुँमा दुई लाख ५४ हजार ३९७, नवलपुरमा दुई लाख ६८ हजार ५२६, गोखरामा दुई लाख २९ हजार ५८ र बागलुङमा एक लाख ९३ हजार १८१ मतदाता छन् ।
यसैगरी, लमजुङमा एक लाख ३७ हजार १२४, पर्वतमा एक लाख २५ हजार ४६६, म्याग्दीमा ८६ हजार ३९७ र मुस्ताङमा ११ हजार ४३८ मतदाता रहेका छन् ।
प्रदेशका ११ वटै जिल्लामा एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र कायम गरिएको छ ।