- अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ७५ देशको आप्रवासन भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ।
- भिसा धारकलाई अमेरिका प्रवेशका लागि निश्चित विमानस्थलबाट मात्र अनुमति दिने नयाँ नियम लागू हुने छ।
- व्यवसाय र भ्रमण भिसामा धरौटी रकम तिर्नुपर्ने व्यवस्था माघ ७ गतेदेखि लागू गरिनेछ।
अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकलाई प्रदान गरिँदै आएको आप्रवासन भिसा प्रक्रियामा अस्थायी रोक लगाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सार्वजनिक भार बन्न सक्ने आशंका गरिएका आवेदकहरूमाथि कडाइ गर्ने उद्देश्यले यस्तो कदम चालिएको हो।
फक्स न्युजका अनुसार विदेश मन्त्रालयले जाँचबुझ तथा प्रमाणीकरण प्रक्रियाको पुनरावलोकन भइरहेकाले कन्सुलर अधिकारीहरूलाई विद्यमान कानुनअनुसार भिसा अस्वीकार गर्न निर्देशन दिएको छ।
यो सूचीमा नेपालसँगै सोमालिया, रूस, अफगानिस्तान, ब्राजिल, इरान, इराक, इजिप्ट, नाइजेरिया, थाइल्याण्ड, यमनलगायतका देश परेका छन्। उक्त स्थगन माघ ७ गते (जनवरी २१) देखि लागू हुने जनाइएको छ। भिसा प्रक्रियाको पुनरावलोकन सम्पन्न नहुन्जेलसम्म आप्रवासन भिसा अनिश्चितकालका लागि रोक लगाइने विदेश मन्त्रालयले जनाएको छ।
आप्रवासन भिसा भनेको के हो?
आप्रवासन भिसा अमेरिकामा स्थायी बसोबास गर्ने उद्देश्यका लागि दिइने दीर्घकालीन भिसा हो। यो छोटो अवधिका लागि दिइने विद्यार्थी, व्यवसाय (बिजनेस) वा भ्रमण (भिजिट) भिसाभन्दा फरक प्रकारको भिसा हो।
विशेषगरी अमेरिकी नागरिक वा ग्रीन कार्डधारीहरूले आफ्ना पति/पत्नी, सन्तान, बाबुआमा तथा दाजुभाइ–दिदीबहिनीलाई अमेरिका बोलाउन यो प्रक्रिया अपनाउने गर्छन्। यस प्रकारको भिसाले आप्रवासीलाई ग्रीन कार्ड तथा भविष्यमा नागरिकता प्राप्त गर्न सहज बनाउँछ।
यसअघि गत हप्ता अमेरिकाले नेपाली नागरिकका लागि बिजनेस (B1) र भिजिट (B2) भिसामा धरौटी रकम राख्नुपर्ने नयाँ व्यवस्था लागू गर्ने घोषणा गरेको थियो। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो नियम माघ ७ गतेदेखि लागू हुनेछ। सो व्यवस्था अनुसार यी भिसामा अमेरिका जाने व्यक्तिले अधिकतम ६ महिनासम्म मात्र बस्न पाउनेछन्।
भिसा अन्तर्वार्ताका क्रममा दूतावासका अधिकारीहरूले ५ हजार अमेरिकी डलर (७ लाख २२ हजार रुपैयाँ), १० हजार डलर (१४ लाख ४४ हजार रुपैयाँ) वा १५ हजार डलर (२१ लाख ६६ हजार रुपैयाँ) मध्ये कुनै एक रकम धरौटीका रूपमा माग्न सक्नेछन्। उक्त रकम अमेरिकी अध्यागमन तथा भन्सार कार्यालय (ICE) को फाराम भरेर बुझाउनुपर्नेछ। धरौटी रकम स्वयं भिसा आवेदकले नै तिर्नुपर्नेछ र तेस्रो पक्षको वेबसाइटमार्फत भुक्तानी गर्न पाइने छैन।
यदि कुनै व्यक्ति भिसामा तोकिएको समयभन्दा बढी अमेरिका बसेको खण्डमा धरौटी रकमबाट कटौती गरिनेछ। साथै, अमेरिकाले यी भिसामा जाने नेपाली नागरिकलाई निश्चित विमानस्थलबाट मात्र प्रवेश र प्रस्थान गर्नुपर्ने व्यवस्था समेत गरेको छ।
निर्धारित तीन अन्तर्राष्ट्रिय विमानस्थलमा बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, न्यूयोर्कको जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल तथा वासिङ्टन डी.सी.स्थित डुलिस अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। यी बाहेक अन्य विमानस्थल प्रयोग गरेमा यात्रुलाई नियन्त्रणमा लिन सकिने चेतावनी दिइएको छ। तोकिएको समयभन्दा बढी अमेरिका बस्ने व्यक्तिको धरौटी रकम जफत गरिने समेत जनाइएको छ।