- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीय भुवानी युवा परिवारले बिना सरकारी सहयोग दृष्यावलोकन केन्द्र निर्माण गरेका छन्।
- करिब रु दुई लाखको सहयोग संकलन गरी पदमार्ग, रेलिङ, विश्रामस्थल र सूचनापाटी निर्माण गरिएको छ।
- देउरालीबाट निलगिरि, अन्नपूर्ण हिमशृङ्खला, ग्रामीण बस्ती र कालीगण्डकी नदी अवलोकन गर्न सकिने शान्त पर्यटकीयस्थल बनेको छ।
म्याग्दी – अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन्। भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत भएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन्।
श्रमदानबाहेक करिब रु दुई लाख सहयोग जुटाएर देउरालीडाँडा पुग्ने पदमार्ग, रेलिङ, विश्रामस्थल निर्माण र सूचनापाटी स्थापना गरेको परिवारका अगुवा श्यामप्रसाद खड्काले बताए।
“देउरालीलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नका लागि संस्थाका संस्थापक बरुवालको स्मृतिमा पूर्वाधार निर्माण गरेका हौँ”, उनले भने “पहाडको टुप्पोमा रहेको देउरालीमा पदमार्ग र रेलिङ तथा आराम गरेर दृष्यावलोकन गर्ने व्यवस्था मिलाएपछि पर्यटकलाई सहजका साथै सुरक्षित भएको छ।” भवानी युवा परिवारले रु एक लाख २० हजारसहित रु एक लाख ८५ हजार ५०० सहयोग जुटेको थियो।
पाँच जनाले श्रमदानमा सहभागीलाई करिब रु १३ हजार बराबरको खाजा खुवाएका थिए। पैतीस जनाले सरदर दुई दिनका दरले श्रमदान गरेका थिए। सबैभन्दा बढी नौ दिन श्रमदान गरेका खड्काले थप रु तीन हजार बराबरको गिट्टी र बालुवा सहयोग गरेका छन्।
समुद्री सतहदेखि एक हजार ७८४ मिटर उचाइमा रहेको देउरालीबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्ती, नागबेली परेर बगेको कालीगण्डकी नदीको दृष्यावलोकन गर्न सकिन्छ। घार, शिख, पाउद्वार, भुरुङ–तातोपानी, दाना, नारच्याङ गाउँ अवलोकन गर्न सकिने देउराली शान्त र एकान्त छ। पोखरेबगर–चित्रे–घोडेपानीको भुवानेदेखि १० मिटर पैदलयात्रा गरेपछि देउराली पुगिन्छ।
त्यहाँ पुग्ने कच्ची सडक पनि छ। पोखरेबगर–चित्रे सडक विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको प्रमुख पर्यटकीयस्थल घोडेपानी जोडिन्छ। घोडेपानी घुम्न आउने पर्यटकको बसाइ लम्बाउन र स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन देउरालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन पहल गरिएको अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताए।