सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर

सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
+
-
देशसञ्चार AI सारांश
  • गोरखाको छेकम्पारमा चीन सरकारले खोलेको मुलाढाज्यान नाका खुल्नासाथ बासिन्दाले तिब्बतबाट सामान किन्ने अवसर पाए।
  • दोर्जे लामाले तिब्बतीबाट विद्युतीय स्कुटर ल्याउन धेरै मेहनत गरे, उनी हिमाली गाउँमा स्कुटर चलाउने पहिलो व्यक्ति भए।
  • पूर्वाधार सुधारमा ट्र्याक्टरको प्रयोगले छेकम्पारमा विकास परियोजनाहरूमा सुविधा पुर्‍याएको छ, तर अझै लाभ सीमित छ।

गोरखा – केही दिनका लागि चीन सरकारले छेकम्पारमा पर्ने मुलाढाज्यान नाका खुला गर्‍यो। एक वर्षदेखि बन्द रहेको नाका खुला हुनासाथ छेकम्पारका बासिन्दा सरसामान किन्न तिब्बती बजार स्याक पुगे। त्यही टोलीमा थिए छेकम गाउँका दोर्जे लामा।

त्यहाँ उनले तिब्बती गाउँबस्तीका बासिन्दाको दिनचर्या नियाले । सबैजना यातायातका साधन प्रयोग गरेको देखेर उनी प्रभावित भए। ‘तिब्बत जाँदा त्यहाँ मान्छेहरु घाँस काट्न जान परे पनि, गोठमा जाँदा पनि, बाहिर फेर जताततै हिँड्दा पनि बाइक वा स्कुटर चलाएर हिँडेको देखेँ। उताको जमिन र हाम्रो छेकम्पारको जमिन उस्तै त हो, डाँडाकाँडा, भीर पखेरा। यता पनि कसो नचल्ला त भनेर विचार गरेँ’, दोर्जे भन्छन्, ‘पसलमा गएर भाउ सोधेको एक लाखमा बिजुलीबाट चार्ज गर्न मिल्ने स्कुटर आउँदो रहेछ। अनि जसो होला होला, विचार गर्नुपर्‍यो भनेर एउटा किनेर ल्याएको हुँ।”

स्याकसम्म सडक भए पनि छेकम्पारसम्म स्कुटर ल्याउन सडक थिएन। न त उनलाई स्कुटर चलाउने सीप नै थियो। मान्छे, खच्चड, याक, चौँरी मात्र जसोतसो हिँड्न मिल्ने बाटोमा स्कुटर ल्याउन पनि उनले धेरै नै मेहनत गर्नुपर्‍यो। ‘उता (तिब्बत)बाट आउँदा उकालोमा हामी चार–पाँच जनाले बोक्यौँ, सजिलो बाटोमा कतै डोहोर्‍याउँदै, कतै एकजना चढ्ने, अरुले समात्ने गर्दै ल्याइपुर्‍यायौँ’, उनले भने, ‘ल्याउँदा ल्याउँदै बाटोमै स्कुटर चलाउन जान्ने भइयो।’
हिमालपारि छेकम्पारमा यसरी स्कुटर चलाउने लामा पहिलो व्यक्ति भएका छन्। अचेल उनी स्कुटर हाकेर गाउँघर डुल्ने गर्छन्। सडक सञ्जालले नछोएको र अझै दशौँ वर्ष सडक पुग्ने कल्पना नगरिएको चुमनुब्री–७ छेकम्पारको साँघुरो गल्लीमा दोर्जे चीनबाट ल्याएको स्कुटर हाँकेर हिँड्ने गर्छन्।

घोडा चढेर गाउँघर, वनजङ्गल आवतजावत गर्ने छेकम्पारबासीकाबीच दोर्जे विद्युतीय स्कुटरमा सवार भएको देख्दा स्थानीवासी पनि प्रभावित छन्। ‘अहिले त मेरो मात्रै छ। सबैजनाले हामी पनि चढ्छौँ नि भनेर मागेर हैरान पार्छन्। चलाउन जान्दैनन्। बिर्गादिन्छन् झैँ लाग्छ’, दोर्जे भन्छन् “अब आउँदो साल त अरुले पनि स्कुटर किन्ने भनेका छन्। अब गाउँमा सिँडी नबनाउने बरु स्कुटर चढ्ने सडक बनाउने निर्णय भइसक्यो।”

छेकम्पारकै लामा गाउँका पासाङ फुन्जो लामाले भने विगत एक दशकअघि गाउँमा ट्र्याक्टर भित्र्याउनु भएको थियो। लामा चुमनुब्री–७ का निवर्तमान वडाअध्यक्ष पनि छन्। सडकले नछोएको छेकम्पारमा लामाले भूकम्पपछि २०७२ सालमा रु १८ लाख पर्ने ट्र्याक्टर रु ३४ लाख भाडा तिरेर हेलिकाप्टरमार्फत गाउँमा ल्याएका थिए। ट्र्याक्टरका लागि आवश्यक पर्ने इन्धन भने उनले आरुघाटको आर्खेतबाट खच्चडमार्फत ल्याउने गर्छन्।

पासाङको ट्र्याक्टरमा निर्माण सामग्री ढुवानी गरी लामा गाउँमा गुम्बा र विद्यालय निर्माण भएका छन्। ट्र्याक्टर भने स्थानीय साम्डु लामाले चलाउने गरेका छन्। ट्र्याक्टर छेकम्पारको उकालोओरालोमा सजिलै आवतजावत गर्ने गरेको पासाङको भनाइ छ। उनी भन्छन्, “यसबाट खासै आम्दानी त हुँदैन तर यहाँ पूर्वाधार निर्माणका काममा निकै सजिलो भएको छ।” छेकम्पारसम्म सडक आउला र नजिकका गाउँबस्तीमा पनि सजिलै ट्र्याक्टरमा सामान ढुवानी गर्न पाउँला भन्ने अपेक्षा पासाङफुन्जोलगायत सम्पूर्ण छेकम्पारवासीको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?