नयन मिडिया फाउन्डेसनले सुनसरीका ३०० सञ्चारकर्मीलाई रु दुई लाखसम्मको निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने भएको छ।-
समाचार सङ्कलनको क्रममा घाइते भएको खण्डमा रु एक लाख र मृत्युमा रु दुई लाख प्रदान गरिनेछ।
-
बिमा सुविधा लिन कार्यरत सञ्चार संस्थाको परिचयपत्र, प्रेस पास र सिफारिसपत्र पेस गर्नुपर्नेछ।
धरान (सुनसरी) – नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील तीन सय जना सञ्चारकर्मीका लागि निःशुल्क दुर्घटना बिमा उपलब्ध गराउने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहको अवसर पारेर उक्त बिमा कार्यक्रम लागू गर्न लागिएको फाउन्डेसनले जनाएको छ।
आज एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका कोशी प्रदेश प्रमुख खड्ग श्रेष्ठ र नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीबीच विराटनगरस्थित इन्स्योरेन्स कम्पनीको कार्यालयमा तीन सय सञ्चारकर्मीकारु रु दुई लाख बराबरको निःशुल्क बिमा गर्नेसम्बन्धी सम्झौता भएको फाउन्डेसनका अध्यक्ष अधिकारीले जानकारी दिए। उनका अनुसार सुनसरीमा क्रियाशील प्रत्येक सञ्चारकर्मीको रु दुई लाख बराबरको दुर्घटना बिमा गरिने छ।
बिमा योजनाअन्तर्गत समाचार सङ्कलन (रिपोर्टिङ)को सिलसिलामा दुर्घटनामा परी घाइते भएमा रु एक लाखसम्म उपचार खर्च उपलब्ध गराइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा रु दुई लाख प्रदान गरिने व्यवस्था गरिएको छ।
बिमा सुविधा लिन सम्बन्धित सञ्चारकर्मीले आफू कार्यरत सञ्चारसंस्थाको परिचयपत्र, प्रेस पास तथा सञ्चारगृहको सिफारिसपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको फाउन्डेसनले जनाएको छ।
गत वर्ष नयन मिडिया एडभरटाइजिङ प्रालिद्वारा आयोजना गरिएको ‘कोशी एक्सिलेन्स अवार्ड’ कार्यक्रममा सुनसरीका तीन सय १४ जना सञ्चारकर्मीलाई रु एक लाख बराबरको दुर्घटना बिमा गरिएको थियो। यस वर्ष बिमा रकमलाई दोब्बर बनाइएको फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए।
आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुने ‘कोशी एक्सिलेन्स अवार्ड’ समारोहमा इन्स्योरेन्स कम्पनी र फाउन्डेसनबीच बिमा सम्झौता औपचारिक रूपमा हस्ताक्षर गरिने उनले बताए।