- बाँदरले खाद्यबालीमा क्षति पुर्याउन थालेपछि, बैतडीका महिलाहरूले बाँझो जमिनमा बेसारखेतीलाई व्यावसायिक रूपमा अघि बढाएका छन्।
- ‘सारथी नेपाल’ परियोजनाले महिलाहरूलाई बीउ र प्राविधिक सहयोग गर्दै बेसार, लसुन र अदुवाखेतीमा जुटाएको छ।
- बैठकमा महिलाहरूले ३५० क्विन्टल बेसार उत्पादनको अपेक्षा राख्दै नियमित रूपमा प्राविधिक समस्याको समाधान गर्दैछन्।
दशरथचन्द (बैतडी) – बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन्। बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका हुन्।
खाद्यबाली जङ्गली जनावरले क्षति पुर्याउन थालेपछि बेसारखेती गरिरहेको पाटन नगरपालिका–६ की कलसा लुहारले बताइन्। “बाँदरले अन्य बालीमा क्षति पुर्याउन थाल्यो। बाँझो जमिनको सदुपयोग गर्दै व्यावसाहिक रूपमा अघि बढ्न बेसारखेती गरिरहेका छौँ”, उनले भनिन्।
जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आवद्ध ४४ महिलाले बेसारखेती गरिरहेका छन्। घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकामा अहिले व्यावसायिक रूपमा खेती गर्न थालेका सुर्नया गाउँपालिका–६ की पवित्रा शाहले बताए।
‘सारथी नेपाल’ले ‘दिगो आम्दानीमार्फत महिला उद्यमीको सशक्तीकरण’ परियोजनाअन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसारसँगै लसुनखेती समेत गरिरहेको उनले जानकारी दिइन्।
सारथी नेपालले पाटन नगरपालिका–६, ८ र ९, सिगास गाउँपालिका–१ र २ तथा सुर्नया गाउँपालिका–६ उक्त परियोजना सञ्चालन गरेको छ। परियोजनामार्फत महिला उद्यमी समूहमा आवद्ध महिला किसानलाई बीउ र प्राविधिक सहयोग गर्र्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले बताए। बाँझो जमिनको सदुपयोग गरी महिलालाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउबिजन तथा अन्य सहयोग गर्दै आएको छ।
परियोजनाअन्तर्गत महिलाले बेसारसँगै अदुवा, लसुन र टनेलभित्र गोलभेँडाखेती समेत गरिरहेका कार्यक्रम संयोजक भुपाल बोहराले बताए।
महिलाले राम्रै मेहनत गरिरहेका छन्। साढे तीन सय क्विन्टल बेसार उत्पादन हुने अपेक्षा गरेका छाँै”, उनले भने, “बेलाबेला प्राविधिकसहित बारीमा पुगेर समस्याबारे छलफल गर्छांै र समाधान पनि खोज्छौँ।”