काठमाडौँ – विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा नचलाउने निर्णयको फाइल मगाउने आदेश दिएको छ।
विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले नेपालविरुद्धको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट २०६९ मंसिर २५ गते भएको उक्त निर्णयसहितको फाइल झिकाउन आदेश दिएको हो।
यस्तै, अदालतले साक्षीहरूलाई भौतिक वा श्रव्यदृष्य माध्यममार्फत उपस्थित गराएर बकपत्र गराउन पनि आदेश दिएको छ।
‘वादीको साक्षी विशेष सरकारी वकील, कार्यालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट र प्रतिवादीहरूको साक्षी निज प्रतिवादीहरुमार्फत झिकाई भौतिक रूपमा वा श्रव्यदृष्य माध्यम (Video conferencing) मार्फत उपस्थित गराई बकपत्रको निमित्त इजलास समक्ष पेस गर्नू,’ अदालतले भनेको छ,’प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०६९।०८।२५ मा भएको निर्णय सहितको फाइल झिकाउनू।’
