काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित भएको छ। न्यूनतम १४ जना सांसद उपस्थित हुनुपर्नेमा १२ जना मात्रै बैठकमा उपस्थित भएपछि बैठक स्थगित गरिएको हो।
सभापति ऋषिकेश पोखरेलले बैठक सुरु गर्न खोज्दा सांसदहरूको संख्या अपुग भएपछि बैठक अघि नबढाई स्थगित गरिएको थियो। बैठकमा अमन लाल मोदी, प्रेम बहादुर आले, मनिष झा, राजेन्द्र कुमार के.सी., राजेन्द्र प्रसाद लिङ्देन, रामकृष्ण यादव, विक्रम पाण्डे, सराज अहमद फारुकी, असिम शाह, अच्युत मैनाली, र देव प्रसाद तिमल्सिना मात्र उपस्थित थिए।
आजको बैठकमा नेपाल ट्रक यातायात व्यवसायी महासंघले उठाउँदै आएको समस्या—भारतबाट आयात गरिने मालबाहक सवारी साधनमा भार वहन क्षमताको आधारमा ट्राफिक जरिवाना हुने विषयमा छलफल हुने तयारी थियो।
महासंघको पत्र अनुसार, भारतबाट आउने नयाँ ट्रकहरूमा भारत सरकारको मापदण्डअनुसार लेखिएको भार वहन क्षमता नेपाली ट्राफिक प्रहरीको प्रणालीसँग नमिल्दा चालक तथा व्यवसायीहरू अनाहकमा जरिवाना भोगिरहेका छन्।
पत्रमा स्पष्ट रूपमा भनिएको छ कि भारत सरकारको क्यारिङ क्यापसिटी अनुसार निर्माण गरिएको सवारीसाधन नेपाल प्रवेश गर्दा ओभरवेट भनेर जरिवाना गरिनु अन्यायपूर्ण भएको व्यवसायीहरूको गुनासो छ।
महासंघले यस विषयमा सरोकारवाला निकायहरूलाई जानकारी गराउँदै पटक-पटक ध्यानाकर्षण गराएको भए पनि समाधान हुन नसकेको र आजको समितिको बैठकमा छलफल हुने अपेक्षा गरिएको थियो। तर, बैठक स्थगित भएपछि उक्त समस्या फेरि ओझेलमा परेको छ।
ट्रक व्यवसायीहरूले सार्वजनिक लेखा समितिको बैठक चाँडै बसाएर समस्या समाधानतर्फ अघि बढ्न माग गरेका छन्।
