काठमाडाैँ – आइसिसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। यो सँगै नेपाल समूहचरणमा सबै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो।
१ सय ४० रनको उच्च लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रनमा समेटियो। नेपालका लागि पुजा महतोले १८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक कुनैपनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्। अस्ट्रेलियाका लागि हसरत गिल, जुलिएट मोर्टन र लिया बासिङथ्वाघाटले समान २–२ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो। १४ रन जोड्दा ३ विकेट गुमाएको अस्ट्रेलियाको मध्यक्रम समालिएर मैदानमा उत्रिंदा नेपालले उच्च रनको लक्षय पाएको थियो। नेपालका लागि पुजा महतोले ३ विकेट लिंदा सिमाना केसीले २ र रिया शर्माले १ विकेट लिएकी थिइन्।
अस्ट्रेलियाका लागि काओमही ब्रायले ४५ रन बनाउँदा एलनोर लारोसाले ३१ तथा हसरत गिलले ३० रन बनाएर अविजित रहिन्। त्यस्तै चालोही एन्सओर्थले १६ रन बनाएकी थिइन्। यससँगै नेपाल रहेको समूहबाट अस्ट्रेलिया विजेता बन्दा बंगलादेश र स्कटल्यान्डले सुपर सिक्समा स्थान बनाए।