काठमाडाैं- उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा नागरिकको चाहना पूरा गर्नेगरी काम गर्न निर्देशन दिएका छन्।
बुधबार स्थानीय पूर्वाधार विभाग ललितपुरमा विभागकातर्फबाट हाल भइरहेका काम र आगामी योजनाको ब्रिफिङपछि उपप्रधानमन्त्री सिंहले यस्तो निर्देशन दिएका हुन्।
हाल विभागले झोलुंगे पुल, ग्रामीण सडक, ग्रामीण सडक पुल, पालिकाहरूको प्रशासकीय भवन निर्माण, साना सिँचाइ कार्यक्रम सञ्चालन गरिरहेको छ।
जनताको पूर्वाधार निर्माणको चाहना पूरा गर्न विभागको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उपप्रधानमन्त्री सिंहले नागरिकले अनुभूति गर्ने गरि काम गर्न निर्देशन दिँदै त्यसमा केही समस्या परे मन्त्रालयले आवश्यक समन्वय गर्ने बताए।
‘सहरी विकास मन्त्रालयअन्तर्गत रहेको यो स्थानीय पूर्वाधार विभागको पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका छ,’ उनले भने, ‘ झोलुंगे पुल, ग्रामीण सडक, प्रशासकीय भवन निर्माणजस्ता पूर्वाधार विकासको जिम्मेवारी तपाईंहरूको काँधमा छ। प्रभावकारी रूपमा काम सुचारु गर्नुपर्छ।’
हालसम्म विभागले ३ सय ६४ वटा पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिसकेको छ भने १ सय ४९ वटा भवन निर्माणाधीन अवस्थामा छ। आर्थिक वर्ष २०८१/८२ मा विभागले ६८ स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने योजना राखेको छ भने ३ सय झोलुंगे पुल, ४० वटा सडक पुल र १ सय किलोमिटर पक्की सडक निर्माण सम्पन्न र ७० किलोमिटर सडक निर्माण कार्य सुरु गर्ने लक्ष्य राखेको छ।