इरानको राजधानी तेहरानमा शीर्ष नेता इस्माइल हनियाको हत्या भएको हमासले जनाएको छ। बुधबार हमासले एक विज्ञप्ति जारी गर्दै तेहरानस्थित हनियाको घरमा इजरायलले आक्रमण गरेको र यस हमलामा हानियाको मृत्यु भएको बताएको छ।
यस विषयमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
हमासका अनुसार हनिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको उद्घाटन समारोहमा सहभागी हुन तेहरान आएका थिए। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) का अनुसार हानियासँगै उनका एक सुरक्षाकर्मी पनि मारिएका छन्।
आइआरजिसीले ‘घटना’ को कारण तुरुन्तै थाहा नभएको तर अनुसन्धान भइरहेको बताएको छ। इरानको सरकारी मिडियाले पनि हनियाको मृत्यु भएको पुष्टि गरेको छ ।
अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेकाे थियाे। यस आक्रमणमा इजरायलका करिब १२ सय मानिस मारिएका थिए। जवाफमा इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो। यस कारबाहीमा अहिलेसम्म ३८ हजारभन्दा बढी मानिस मारिएका छन्।
काे थिए हनिया?
इस्माइल हनिया हमासको राजनीतिक ब्यूरो प्रमुख थिए। हानियाको थर अबु-अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो।
इजरायलले सन् १९८९ मा हनियालाई तीन वर्ष जेलमा राखेको थियो। यसपछि उनी हमासका धेरै नेताहरूसँग मार्ज अल-जुहुरमा निर्वासित भए। यो इजरायल र लेबनान बीचको नो-म्यान भूमि हो। उनी त्यहाँ एक वर्ष बसे ।
आफ्नो निर्वासन सकिएपछि हनिया गाजा फर्किए। सन् १९९७ मा उनी हमास आन्दोलनका आध्यात्मिक नेता शेख अहमद यासिनको कार्यालयको प्रमुख नियुक्त भए। यसले उनको हैसियत बढाएको थियाे।
हमासले उनलाई २००६ मा प्यालेस्टिनी प्राधिकरणको प्रधानमन्त्री नियुक्त गरेपनि प्यालेस्टिनी राष्ट्रिय प्राधिकरणका प्रमुख महमूद अब्बासले उनलाई आफ्नो पदबाट बर्खास्त गरेका थिए।
हनिया मे ६, २०१७ मा हमासको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित भएका थिए। अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा हानियालाई आतंकवादी घोषणा गरेको थियो।