काठमाडौँ – पेरिस ओलम्पिकमा लागातार खराब प्रदर्शनको सिकार भएको नेपालको पुरुषतर्फ एक सय मिटर फ्रिस्टायलको सम्भावना सकिएको छ। नेपालका पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) ले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड बनाए पनि हिट चरणबाटै बाहिरिए।
७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्स ५९ औँ स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिए। हिट्स तीनमा रहेका उनले ५१.९१ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै राष्ट्रिय रेकर्डमा सुधार गरे। यसअघि एक सय मिटर फ्री स्टाइलमा उनकै नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो। उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वल्ड एक्वेटिक्स च्याम्पियनसिपमा उक्त रेकर्ड बनाएका थिए।
कुल दश वटा हिट्सको प्रतिस्पर्धापश्चात १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा स्थान बनाएका छन्। जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय कीर्तिमान हो। लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेन्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए। जहाँ उनले ५३ दशमलव ४१ सेकेन्डमा दूरी तय गर्दै ५९ औँ स्थान प्राप्त गरे।
खेलपछि एलेक्सले ठूलो इभेन्टमा कीर्तिमान सुधार गर्न पाउँदा खुसी लागेको बताए। उनले यो उपलब्धिका लागि सबैजनालाई धन्यवाद दिए। उनले अमेरिकामा नियमित प्रशिक्षणका कारण रेकर्डमा सुधार भएको बताए।
उनले दुवै पटक युनिभर्सालिटी कोटाबाट ओलम्पिकमा सहभागिता जनाएका थिए। तीन पटक वल्ड च्याम्पियनसिप र एक पटक एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन्। यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन्। एलेक्जेन्डर बाहिरिसँगै नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन्।
टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिन्टनका प्रीन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिसकेका छन्। प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ। अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ। उनले म्याराथनमा प्रतिस्पर्धा गर्ने छिन्।